कोभिड नेपालः कर्णाली प्रदेशका सबै जिल्लामा कोभिड बिरामीको उपचार गर्न 'विशेषज्ञ चिकित्सक परिचालित'

- Author, कृष्णमाया उपाध्याय
- Role, जुम्ला
कोभिड-१९ का बिरामीहरूको उपचारको लागि कर्णालीका १० वटै जिल्लामा विशेषज्ञ चिकित्सकहरू खटाइएको अधिकारीहरूले बताएका छन्।
जिल्लामा र पालिका स्तरमा त्यस्ता चिकित्सकहरू खटाइएको उनीहरूको भनाइ छ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र प्रदेश अस्पताल सुर्खेतमार्फत् सबै जिल्ला समेट्ने गरेर चिकित्सक खटाइएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ।
हुम्ला, डोल्पा, मुगु, कालीकोट, जुम्ला र पश्चिम रुकुमका लागि एक जिल्लामा कोभिड-१९ सम्बन्धी एक विशेषज्ञ चिकित्सक र एक मेडिकल अधिकृत तहका स्वास्थ्यकर्मी खटाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले जानकारी दिए।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको बेला जान्नै पर्ने पाँच कुरा

प्रभाव कस्तो पर्छ
गम्भीर खालका बिरामीलाई मात्र सदरमुकाम पठाउने गरिएको र अन्य बिरामीका लागि स्थानीय तहमा बनाइएका आइसोलेशनमा अक्सिजनको सुविधा भएको आइसीयूको पनि व्यवस्था गरिएको हुनाले सहज भइरहेको उनले जानकारी दिए।
सुर्खेत, दैलेख, सल्यान र जाजरकोट जिल्लामा रहेको कोभिड अस्पतालमा खटाइएको टोली सोमवार त्यसतर्फ प्रस्थान गरेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ।
यसअघि जिल्लामा कोभिड-१९ का बिरामीहरूको लागि आवश्यक पूर्वाधार भए पनि विशेषज्ञ चिकित्सकको अभावका कारण सुर्खेत र जुम्लामा रिफर हुँदै आएका थिए।
आफ्नै जिल्लामा चिकित्सकहरू भेटिने भएपछि सहज हुने अपेक्षा गरेको कालीकोट कोभिड अस्पतालको आइसोलेशनमा रहेकी वसुन्धरा पाण्डेले बताइन्।
उनले भनिन्, "म मात्रै नभएर मजस्ता धेरै बिरामीलाई सहज हुने भएको छ।"

तस्बिर स्रोत, RSS
सङ्क्रमणको अवस्था के छ
कोभिड-१९ को जोखिमलाई कम गर्ने उद्देश्यले डोल्पा, हुम्ला र मुगुमा ५० शय्याको अस्पताल निर्माण गर्ने र अन्य छ जिल्लामा २०० शय्याको अस्पताल निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो।
सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक बजेट पठाइसकेको हुनाले त्यही अनुसारको काम सुरु भइसकेको स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले जानकारी दिए।
कर्णालीमा सोमवारसम्म ६,००० जना मा कोभिड-१९ पुष्टि भएको सरकारी तथ्याङ्कले देखाउँछ।
कर्णालीका विभिन्न जिल्लामा अहिलेसम्म २१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।









