कोभिड नेपालः नेपाललाई कुन देशले के-के सहयोग गरेका छन्?

सहयोग हस्तान्तरण

तस्बिर स्रोत, RSS

नेपाललाई कोरोनाभाइरसको पछिल्लो घातक लहरसँग जुझ्न विभिन्न देशहरूले स्वास्थ्य सामग्री सहयोग गरे पनि त्यसमा खोप नसमेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार नेपालले भारत र चीनबाट मात्र अनुदानमा खोप पाएको छ।

अर्यालले भने, “हामीलाई आवश्यक रहेको स्वास्थ्य सामग्री सूचीमा खोप प्राथमिकतामै छ। तर सहायताको रूपमा अहिलेसम्म कसैले खोप दिन चाहेका छैनन्।”

सहायता आउने सम्भावना नदेखिएकै कारण सरकारको जोड यतिखेर सहायताभन्दा खोप खरिदमा रहेको बताइएको छ।

भारतले अनुदानमा कोभिशील्ड खोप नेपाली सेनालाई एक लाख छुट्टै समेत गरी ११ लाख मात्रा र चीनले आठ लाख मात्र भेरोसेल उपलब्ध गराएको थियो।

नेपालले किनेको १० लाख मात्रा खोप भारतमा ल्याएको थियो भने थप तीन लाख ८० हजार अन्तर्राष्ट्रिय कोभ्याक्स कार्यक्रममार्फत आएको थियो।

खोप 'खरिदमा जोड'

स्वास्थ्य सचिव अर्यालले भारतबाट कोभिशील्ड र कोभ्याक्सिन, चीनको भेरोसेल, रुसी स्पुत्निक भी, अमेरिकाको जोन्सन एन्ड जोन्सन र यूकेको एस्ट्राजेनेका खोप किन्न उत्पादक कम्पनीहरूलाई अनुरोध गरेको बताए।

उनले थपे, "अहिलेसम्म कतैबाट जवाफ आएको छैन। हामीले किन्न पाउँदा किन्ने र अनुदान पाउँदा त्यसलाई स्विकार्ने दुवै पक्षमा छौँ।"

सहयोग लिएर आएको विमान

तस्बिर स्रोत, RSS

यतिखेर विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देश भारतले खोपको निर्यात रोकेको छ।

भारतकै कारण कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालका लागि छुट्टाइएको १९ लाख २० हजार मात्र खोपको बाँकी आपूर्ति समेत अनिश्चित बनेको बताइएको छ।

कुन देशले के सहयोग गरे?

चीन: ३,५०० अक्सिजन सिलिन्डर, १० भेन्टिलेटर, ४० पोर्टेबल भेन्टिलेटर, २० स्वचालित एनलाइजर, १० डीआर मेसिन, २० पोर्टेबल अल्ट्रासाउन्ड र ३० वटा एनेस्थेसिया मेसिन।

चीनकै सिचुआन प्रान्त सरकारले चाटर्ड उडानमार्फत ३,००,००० मास्क, १,६२,८८० एन-९५ मास्क, १०,००० पीपीई, ५५० विभिन्न खाले थर्मामिटर उपलब्ध गराइएको छ।

तिब्बत स्वायत्त क्षेत्र सरकारको सहयोगमा ३०,००० लिटर लिक्विड अक्सिजन उपलब्ध गराएको छ। तिब्बत सरकारले २०० आईसीयू शय्या, पाँच भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर, ८०० अक्सिजन भरिएका ग्यास सिलिन्डर र १५,००० एन्टिजन परीक्षण किट उपलब्ध गराउने घोषणा गरेको छ।

चीनको रेडक्रस सोसाइटीले ९० अक्सिजन कन्सन्ट्रेटर, २,००० कभरलर र ७००,००० सर्जिकल मास्क उपलब्ध गराउने भएको छ।

अमेरिका: सर्जिकल मास्क, फेसशील्ड र पन्जाहरू बोकेको पहिलो चाटर्ड फ्लाइट शनिवार नेपाल आइपुगेको छ। तत्काल थप तीन चाटर्ड फ्लाइटमा स्वास्थ्य सामग्री आइपुग्ने बताइएको छ।

यसै महिनामात्र नेपालमा परीक्षण, सङ्क्रमित पहिचान, उपचार र निदानका सरकारी क्षमता वृद्धिका लागि एक करोड ५० लाख अमेरिकी डलर सहायता गराइएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

स्विट्जरल्यान्ड: ४० अक्सिजन भेन्टिलेटर, ११,००,००० एन्टिजन परीक्षण किट, १० अक्सिजन कन्सन्ट्रेटर, १,००० नसल कनल्ज, मास्क, पन्जा र सुरक्षित रहने लुगाहरू सहितका ३० टन स्वास्थ्य सामग्री।

यूके: नेपाल प्रहरी अस्पतालमा दैनिक १६० अक्सिजन सिलिन्डर उत्पादन क्षमताको प्लान्ट निर्माणमा सहयोग।

सिङ्गापुर: गैरनाफामूलक संस्था तेमासेक फाउन्डेसन इन्टर्न्याश्नलले अन्य केही संस्थाको समन्वयमा पीसीआर किट, पल्स अक्सिमिटर, आरएनए एक्स्ट्र्याक्सन मेसिन र किटहरू, ३० टेलिभेन्टिलेटर र छ भेन्टिलेटर।

युरोपेली सङ्घको समन्वयमा (आइपुगेका र आउन बाँकी सहित)

फिनल्याण्ड: २२,००,००० सर्जिकल फेस मास्क, ३,५०,००० एफएफपीटू मास्क, ५२,५०० जोर पन्जा र ३०,००० आइसोलेशन गाउन।

स्पेन: १,२४,८०० एन्टिजन किट, १० अक्सिजन कन्सन्ट्रेटर, १,४४,००० एफएफपीटू मास्क, ५० अक्सिजन सिलिन्डर र १५ भेन्टिलेटर।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

फ्रान्स: १४ भेन्टिलेटर र अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने थप उपकरण, २० हजार एन्टिजट टेस्ट किट र ५०,००० केएन९५ मास्क।

जर्मनी: ६२ भेन्टिलेटर, २७,५०० एफएफपीटू मास्क, ३०,००० सर्जिकल मास्क, २०० बडी ब्याग, ५०० आइसोलेशन सेन्टर बनाउने टेन्ट, ४०० बुट।

बेल्जियम: १०,००,००० सर्जिकल मास्क र २,००० नसल कनल्ज।

परीक्षण सामग्री उपयोगी

स्वास्थ्य मन्त्रालयले आइरहेका स्वास्थ्य सामग्रीमा सङ्क्रमण जाँच्ने किटहरू सरकारका लागि निकै उपयोगी भएको बताएका छन्।

"अस्पतालजन्य सामग्रीहरू सिधै देशभरका अस्पतालहरूमा पठाइएको छ भने अन्य स्वास्थ्य सामग्रीहरू प्रदेशहरूका आपूर्ति केन्द्रहरूमा पठाइने गरेको छ," स्वास्थ्य सचिव अर्यालले भने।

यसबीचमा धेरैजसो देशहरूले कतै उनीहरूकै चाटर्ड विमानमा त कतै नेपालकै विमानलाई बोलाएर स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएका छन्।

क्यानडा र अस्ट्रेलियाले सरकारलाई आर्थिक सहायता दिएको उनीहरूका दूतावासले आफ्ना ट्वीटमार्फत जनाएका छन्।

दोस्रो लहरसँगै देखिएको सङ्कटका लागि भनेर क्यानडा सरकारले मानवीय सहायता अन्तर्गत १०,००,००० अमेरिकी डलर सहयोग जनाएको छ भने अस्ट्रेलियाले ५४,००,००० अमेरिकी डलरको घोषणा गरेको छ।