यति छ संसारमा चराको सङ्ख्या, भँगेरा सबैभन्दा धेरै

तस्बिर स्रोत, Getty Images
विश्वमा कम्तीमा ५० अर्ब चराचुरुङ्गी रहेको र तिनको सङ्ख्या ४३० अर्बसम्म रहेको हुनसक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ।
प्रोसिडिङ्ग्स अफ न्याश्नल एकेडेमी अफ साइन्सेसमा प्रकाशित शोधले पहिलो पटक त्यसरी चराको गणना गर्न खोजेको थियो।
त्यसमा चराविद्हरूले सँगालेका विवरणहरू समेटिएको छ।
सबैभन्दा धेरै भँगेरा
विश्वमा सबैभन्दा धेरै सङ्ख्यामा भँगेरा रहेको र तिनको सङ्ख्या एक अर्ब ६० करोड रहेको बताइएको छ।
तीन वटा अन्य प्रजातिका चराहरू - युरोपियन स्टारलिङ्स, बार्न स्वालोज र रिङ्-बिल्ड गल्स - पनि प्रत्येकको कूल सङ्ख्या एक अर्बभन्दा धेरै रहेको पाइएको छ।
तर धेरै चराका प्रजाति भने दुर्लभ रहेका छन्।
प्रत्येक दशमध्ये एक प्रजातिका चराको सङ्ख्या भने पाँच हजारभन्दा कम रहेको जनाइएको छ।
संसारभरिका चराको सङ्ख्याको यो अध्ययनले संरक्षणको काममा सघाउ पुग्ने अनि तिनलाई लोप हुनबाट जोगाउने अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथ वेल्सका टोलीले बताएका छन्।
"हामीले धेरै समय आफ्नै जातिको सङ्ख्या गन्न लगाउँछौँ। तर हामीले हाम्रो ग्रहको जैविक विविधताको पनि लेखाजोखा गर्नु जरुरी छ," एक अध्ययनकर्ता डा. कोरे क्यालाहनले बीबीसी न्यूजलाई बताइन्।

तस्बिर स्रोत, Getty Images
कसरी गरिन्छ चरा गणना?
चराको गणना कार्य निकै जटिल हुन्छ। र यसले दिने परिणाम पनि यकिनभन्दा अनुमान हुन्छ।
विगतमा गरिएका अनुमानहरूमा १० देखि १३ हजार प्रजातिका चराको कूल जनसङ्ख्या २०० देखि ४०० अर्बसम्म रहेको हुनसक्ने देखिएका थिए।
अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले यसपालि ९,७०० प्रजातिका चराहरूको सङ्ख्यालाई चराविद्हरूले गत एक दशकमा इबर्ड नामक अनलाइन डेटाबेसमा उल्लेख गरेका डेटा प्रयोग गरेर मूल्याङ्कन गरेका थिए।
तिनमा घरपालुवा चरा जोडिएको छैन।
डेटाको वैज्ञानिक मोडलिङ अनि विज्ञहरूले पठाएका जानकारीहरू मिलाएर अनुमान गरिएको बताइएको छ।
धेरै चराहरू उत्तरी गोलार्द्धमा पाइने देखिएको छ: युरोप, उत्तरी एसिया, उत्तरी अफ्रिका, अरेबियन प्रायद्वीपका क्षेत्र तथा उत्तरी अमेरिकामा।
"भविष्यमा जैविक विविधता मापन गर्न नागरिक तहका विज्ञान डेटाले आधारभूत भूमिका खेल्ने देखिन्छ," डा क्यालाहनले बताइन्।










