कोरोना भाइरस नेपालः काठमाण्डू उपत्यकामा झन्डै दुई हजारसहित देशभरि ४५ सय जनामा कोभिड पुष्टि

तस्बिर स्रोत, Reuters
विगत २४ घण्टामा नेपालमा थप ४,५४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ।
सो सङ्क्रमण १४,६७२ जनाको पीसीआर र १,००९ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो।
नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले थप १८ जनाको मृत्यु भएको मन्त्रालयले मङ्गलवार जनाएको छ।
विगत २४ घण्टामा ५५५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ।
नेपालमा गत वर्ष कार्तिक ५ गते सर्वाधिक सङ्ख्यामा ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
उपत्यकामा सर्वाधिक
मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डूका १,६०२ जना, ललितपुरका २४० जना र भक्तपुरका १२४ जना गरी उपत्यकामा कुल १,९६६ जना छन्।

बाँकेमा ५१५ जना सङ्क्रमित थपिएका हुन्।
थपिएका सङ्क्रमितमध्ये १६० जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्।
मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये १०२ जना नौ वर्षसम्मका, २८२ जना १० देखि १९ वर्षका २,२४१ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
१० जिल्लामा ५०० भन्दा धेरै
नेपालमा अहिले कुल २६,२२५ जनाको सक्रिय सङ्क्रमण रहेको छ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १० वटा रहेका छन्: मोरङ, पर्सा, काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रूपन्देही।
थप नौ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन्।
सक्रिय सङ्क्रमितमध्ये २,८७३ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३१५ जना सघन उपचार कक्षमा र ८४ जना भेन्टिलेटरमा उपचाररत छन्।









