नेपाल क्रिकेटः कुशल भुर्तेलको कीर्तिमान तर नेदरल्यान्ड्स तीन विकेटले विजयी

कुशल भुर्तेलले विश्व कीर्तिमान कायम गरेको टी-२० क्रिकेट खेलमा नेपाललाई नेदरल्यान्ड्सले तीन विकेटले हराएको छ।
भुर्तेलले ६२ बनाएर आफ्नो पहिलो तीन अन्तर्राष्ट्रिय खेलमा तीन अर्धशतक बनाउने पहिलो खेलाडी भएका छन्।
दीपेन्द्रसिंह ऐरीले ६० रन बनाएको खेलमा नेपालले २० ओभरमा छ विकेट गुमाएर २०६ रन बनाएको थियो।
कोभिड-१९ को त्रासका कारण बिनादर्शक खेलाइएको मङ्गलवारको खेलमा नेदरल्यान्ड्सले १९.३ ओभरमा सात विकेट गुमाएर २०९ रन बनाएको थियो।
डे लीडको प्रदर्शनले जित
ठूलो लक्ष्य पाएको नेदरल्यान्ड्सले राम्रो थालनी गरेको थियो।
मलेशियाविरुद्ध शतक बनाएका म्याक्स ओडाउड नौ रनमै बाहिरिए पनि बेन कुपर र टोबियास भिसीले लगातार चौका प्रहार गर्दै पाँच ओभरमा एक विकेटमा ६१ रन र १० ओभरमा दुई विकेटमा ९८ रन बनाएका थिए।
कुपर र बास डे लीडले नेदरल्यान्ड्सलाई विजयतर्फ डोर्याउन थालेपछि लामिछाने फेरि बलिङ गर्न आए र तेस्रो विकेटका रूपमा कुपरको विकेट लिए।
आउट हुनुअघि उनले कुपरले ५५ रन बनाए। पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा डे लीडले नटआउट रहँदै ८१ रन बनाए।
अन्तिम तीन ओभरमा ४५ रन चाहिएको अवस्थामा लामिछानेलाई लगातार तीन छक्का प्रहार गर्दै पिटर सीलारले जित देखाए। उनी ३१ रनमा आउट भए।
नेपालका लागि लामिछानेले ४८ रन खर्चेर चार विकेट लिए भने करण केसी, कुशल मल्ल र अविनाश बोहराले एक-एक विकेट लिए।
नेपालको प्रभावशाली ब्याटिङ
लगातार तेस्रो खेलमा टस जितेका ज्ञानेन्द्र मल्लले मङ्गलवार ब्याटिङ रोजे।
अघिल्ला दुई खेलमा राम्रो खेलेका ओपनर जोडीमध्ये आसिफ शेख शून्यमै आउट भए।
तर भुर्तेलले भने आफ्नो फर्म कायम राख्दै अर्को अर्धशतक बनाउँदा पहिलो तीन खेलमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी बने।
उनले ४६ बलमा आठ चौका र एक छक्काका साथ ६२ रन बनाए।
उपकप्तान ऐरीले आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा ३० बलमा ६० रन बनाए। उनले तीन चौका र पाँच छक्का प्रहार गरेका थिए।
कुशल मल्लले तीन छक्काका मद्दतले १८ रन, मल्लले २० र अन्तिमसम्म नटआउट रहेका सोमपाल कामीले २१ रन बनाए।
नेदरल्यान्ड्सका भिभियन किङ्मा र पिटर सीलरले दुई-दुई विकेट लिए।
अबको खेल
प्रतियोगिताका चार खेल सकिँदा नेपाल र नेदरल्यान्ड्स दुवै तीन खेलमा दुई जितका साथ शीर्ष स्थानमा छन्।
बुधवार नेदरल्यान्ड्सले मलेशियासँग खेल्नेछ।
नेदरल्यान्ड्सले सो खेल जितेमा नेदरल्यान्ड्स र नेपाल फाइनलमा पुग्नेछन्।
नेपाल र मलेशियाबीच बिहीवार खेल हुनेछ।








