पद गुमाएकै दिन रामबहादुर थापा गृहमन्त्रीमा पुन: नियुक्त, राष्ट्रियसभा सदस्यको रिक्त पदमा चुनाव गर्न आयोग तयार

बादल

तस्बिर स्रोत, RSS

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य बनेका रामबहादुर थापाले पार्टी परिवर्तन गरेर एमाले प्रवेश गरेसँगै अब कानुनी व्यवस्था अनुसार रिक्त पदमा ३५ दिनभित्र चुनाव गर्नुपर्ने छ।

राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि छ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख छ।

त्यस्तो व्यवस्था अनुसार अब रिक्त पदमा उपनिर्वाचन गराउनका लागि आफूहरू तयार अवस्थामा रहेको र त्यसबारे सरकारले निर्णय गरे अनुसार चुनाव हुने निर्वाचन आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपालियाले भने, "राष्ट्रियसभाको उपनिर्वाचनका लागि सरकारले मिति तोकेपछि हामी समयभित्रै चुनाव गराउन तयार छौँ। आयोगको काम नै निर्वाचन गर्नु रहेकोले आफूहरू सबै तहका चुनाव गराउन सधैँ तयारी अवस्थामै रहन्छौँ।"

संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा र स्थानीय तहको उपनिर्वाचनका लागि आयोगको परामर्शमा सरकारले मिति तय गर्नुपर्छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार संसद् सचिवालयले हालसम्म थापाको पद रिक्त भइसकेकोबारे आयोगलाई जानकारी गराइसकेको छैन।

माओवादी केन्द्रबाट एमालेमा

सर्वोच्च अदालतले दल विवादसम्बन्धी एउटा मुद्दामा फैसला गर्दै एमाले र माओवादी केन्द्रको पूर्ववत् अवस्था कायम गरेपछि माओवादी केन्द्रका कतिपय नेताहरू एमालेमा प्रवेश गरेका छन्।

यसरी प्रवेश गर्नेमा थापा माओवादी केन्द्रका सबैभन्दा शीर्ष नेता हुन्।

अन्य नेताहरूमा प्रतिनिधिसभाबाट सांसद पद गुमाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशङ्कर चौधरी र प्रभु साह छन्।

उनीहरू सबै जनालाई यसअघि नै मन्त्री बनाइसकिएको छ।

उनीहरूको पद रिक्त भएकोबारे भने आफूहरूलाई जानकारी आइसकेको आयोगका प्रवक्ता श्रेष्ठले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पहिलो साता प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रकै असन्तुष्ट खेमाका नेताहरूको चर्को आलोचना गर्नेमा थापा पनि पर्छन्।

सर्वोच्चको फैसलापछि एमालेमा प्रवेश गरेकाहरूलाई उनीहरूको पद रिक्त गरिदिन यसअघि माओवादी केन्द्रले संसद् सचिवालयलाई पत्र पठाएको थियो।

संविधानको धारा ९९ को खण्ड ङ बमोजिम पद रिक्त भएको सूचना आइतवार राष्ट्रियसभाले जारी गरेको हो।

निर्वाचन आयोग

पद गुमाएकै दिन पुन: नियुक्त

सांसद पद नरहेसँगै थापाको गृहमन्त्रीको पद पनि स्वतः गुमेको थियो।

तर सांसद पद नरहे पनि छ महिना मन्त्री पदमा प्रधानमन्त्रीले नियुक्ति दिन सक्ने संवैधानिक व्यवस्था अनुसार आइतवारै उनलाई प्रधानमन्त्री ओलीले गृहमन्त्रीकै पदमा नियुक्त गरेका हुन्।

छ महिनाभित्र निर्वाचित भएर नआए थापाको पद स्वतः गुम्ने छ।

थापाको आज साँझ पाँच बजे शपथ कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले बताए।

बागमती प्रदेशबाट निर्वाचित भएका थापाको कार्यकाल छ वर्ष थियो। तर पार्टी छोडेको भनेर माओवादी केन्द्रले कारबाही गरेपछि उनको कार्यकाल तीन वर्षमै सकिएको छ।