बिस्केट जात्रा भक्तपुरः कोभिड महामारीका कारण पोहोर रोकिएको प्राचीन जात्रा यसपालि मनाउन पाउँदा स्थानीयवासी दङ्ग

बिस्केट जात्रा

तस्बिर स्रोत, RSS

    • Author, मतिना त्वनाबासु
    • Role, बीबीसी न्यूज नेपालीका लागि

भक्तपुरमा शनिवारदेखि बिस्केट जात्रा पनि भनिने प्राचीन बिस्का जात्रा सुरु भएको छ।

कोभिड-१९ को दोस्रो लहरको त्रासबीच जनस्वास्थ्यका मापदण्डहरू अपनाई जात्रा मनाउन लागिएको भनिए पनि भिडमा दूरी कायम हुन असम्भवप्रायः देखिन्छ। धेरै सहभागीले मास्क पनि लगाएको दैखिँदैन।

तर गत वर्ष कोभिड-१९ कै कारण अवरुद्ध जात्रा यसपालि मनाउन पाउँदा भक्तपुरवासी हर्षित देखिएका छन्।

छिमेकी देश भारतमा कोभिड-१९ को दोस्रो लहर तीव्र गतिमा फैलिरहेको र त्यसले नेपालमा समेत गम्भीर रूपमा प्रभाव पार्ने अनुमान गर्दै सरकारले भिडभाड हुने मेला‚ भेला‚ गोष्ठी र जात्रापर्वमा रोक लगाउने निर्णय गरेको थियो।

दबाव

सोही निर्णयानुसार भक्तपुरको जात्रा पनि रोक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई बताउँछन्।

निर्णय सार्वजनिक भएसँगै त्यसको विरोधमा उर्लेको जनलहर र जात्रा गर्नैपर्छ भन्ने दबावपछि निर्णयमा परिवर्तन गरिएको उनी बताउँछन्।

भक्तपुर

तस्बिर स्रोत, RSS

"राजनीतिक सभा सम्मेलन, मेला केही नरोक्ने तर कोभिड १९ देखाएर जात्रा मात्रै रोक्ने निर्णय फिर्ता लिनुपर्छ भनेर जिल्ला प्रशासन र नगरपालिकामा धर्ना दियौँ। जात्रा रोक्न पाइँदैन भनेर दबाव दिएपछि बल्ल जात्रा सञ्चालनको निर्णय भएको हो," स्थानीय बासिन्दा सृजना सुवाल भन्छिन्।

सर्वोच्च अदालतले भक्तपुरको जात्रा रोक्ने निर्णयविरुद्ध बुधवार अन्तरिम आदेश दिएको थियो।

खुसी

गत वर्ष लकडाउनमा भैरवनाथको रथ बनेन। वर्षको अन्तिम दिन उभ्याउने र नयाँ वर्षको पहिलो दिन ढाल्ने लिङ्गो पनि ल्याइएन।

तर यो वर्ष भैरव र भद्रकालीको रथ बनेको तथा लिङ्गो पनि ल्याइसकिएको अवस्थामा जात्रा नमनाउने खबर आएपछि स्थानीय बासिन्दा निराश भएका थिए।

सत्तरी वर्षीय कान्छा सिंख्वाल भन्छन्, "मनाउन पाइँदैन भने पहिलाजस्तो रथ नै बनाउन नदिएको भए हुन्थ्यो। लिङ्गो पनि ल्याउन नदिएको भए हुन्थ्यो। अब अहिले सबै तयार भइसकेपछि पाइँदैन भनेपछि सबैलाई रिस उठ्छ। सबै मिलेर प्रशासनमा घेरा हालेपछि अब मनाउने पाउने भयौँ।"

भैरवनाथको रथ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शनिवार भैरवनाथको रथ तानियो

स्थानीय युवा विजेश हाडा जात्रा मनाउन पाउँदा ज्यादै उत्साहित देखिन्छन्।

उनी भन्छन्ः "बिस्का जात्रा भनेको भक्तपुरको पहिचान हो। पोहोर साल मनाउन नपाएर पनि हो यसपालि मनाउन पाउने भयौँ भन्ने बेग्लै हर्ष छाएको छ। भद्रकालीको रथमा बिहानैदेखि बच्चाहरू 'हस्से हैँसे' गरिरहेका छन्। टौमढीमा रथ हेर्न आउनेको लहरै चलेको छ।"

चौरासी वर्षकी वृद्ध सुनकेशरी कुजो यसपालि टीभीमा रथ तानेको हेर्न पाइने भयो भनेर दङ्ग छिन्।

उनी भन्छिन्, "वर्ष दिन भइसक्यो कोठाबाट बाहिर ननिस्केको।"

व्यवस्थापन

नगरप्रमुख सुनिल प्रजापति ठाउँठाउँमा हात धुन पानी र साबुनको व्यवस्था तथा जात्रामा आउनेलाई मास्क उपलब्ध गराइएको बताउँछन्।

भैरवनाथको रथ तानिँदै

तस्बिर स्रोत, RSS

प्रजापति भन्छन्, 'भैरवनाथको रथ पहिले जहाँसम्म सकिन्थ्यो त्यहाँसम्म तानेर लगिन्थ्यो तर यसपालि टौमढी‚ जहाँ रथ बनाइएको छ यो परिसरभन्दा धेरै पर नपुर्‍याउने भनेका छौँ। लिङ्गो उभ्याउने र ढाल्ने जात्रा पनि अँध्यारो नहुँदै सम्पन्न गर्ने तालिकामै उल्लेख गरेका छौँ।"

भक्तपुरमा मनाउने जात्राहरूमध्ये बिस्का जात्रा सबैभन्दा महत्त्वपूर्ण जात्रा मानिन्छ।

नयाँ वर्षको आगमनसँगै स्वदेश र विदेशमा बस्ने लाखौँ मानिसहरूले प्रविधिको माध्यमबाट प्रत्यक्ष जात्रा हेर्ने गर्छन्।

"जात्रा गर्नुपर्छ। हाम्रो कला संस्कृति बचाउनुपर्छ। तर अहिले संसारका मै हुँ भन्नेलाई झुक्न बाध्य बनाइरहेको कोभिड-१९ लाई सामान्य रूपमा लिएर पर्याप्त सावधानी अपनाउन नसक्नु ठूलो भुल नबनोस् भन्ने चाहन्छु," राजेश दिदिया भन्छन्।

नजिर

"यसपालि जात्रा रोक्ने र विरोध गर्ने अनि अदालतसम्म जाने अवस्था निम्तिनु भनेको नजिर बस्नु हो। अन्य कुनै ठाउँमा पनि यस्तो घटना भयो भने यस्तो गरिनुपर्छ भनी हाम्रो पदचाप पछ्याउने भए। त्यसैले जे भयो राम्रो भएन," रोक्ने र फेरि गर्ने निर्णयबारे आफ्नो असन्तुष्टि पोख्छन् संस्कृतिविद् ओम धौभडेल।

पहिला स्वास्थ्य त्यसपछि संस्कार र संस्कृति भन्दै आफ्नो स्वास्थ्यको पूर्ण सुरक्षाको जिम्मेवारी आफूमै निहित हुने हुँदा जात्रा पर्वको नाममा लापरबाही गर्न कसैलाई छुट नहुने बताउँछन् उनको धारणा छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा

भक्तपुरको लिच्छविकालीन यो जात्रा विशेषतः नेवार समुदायले बिस्का जात्रा भनेर आठ रात र नौ दिनसम्म मनाउने गरे पनि यसलाई नेवार समुदायको मात्र भनेर सङ्कुचन गर्न नहुने उनी बताउँछन्।

सांस्कृतिक, धार्मिक, सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताइने यो जात्रा शनिवार भैरवनाथको रथ तानेर सुरु भयो। यो जात्रा अवधिभरि अनेक देवदेवीको जात्राहरू पनि हुने भएकाले यसलाई जात्राभित्रको जात्रा पनि भन्ने गरिन्छ।

चैत्र मसान्तको ४ दिन अगाडिदेखि वैशाख ५ गतेसम्म भक्तपुरमा बिस्केट जात्रा मनाइन्छ।

भक्तपुर जात्रा

तस्बिर स्रोत, Reuters

किंवदन्तीहरूका अनुसार एक जोडी सर्पको प्रतीकका रूपमा विश्वकै लामो ध्वजासहितको ५५ हाते लिङ्गो उभ्याउने र वैशाख सङ्क्रान्तिको दिन ढाल्ने जात्रालाई स्थानीय भाषामा "योसीं थनेगु योसीं क्वथेगु जात्रा" भनिन्छ।

वि स्यात खात, विश्वकेतु, विश्वध्वजा, बिस्का हुँदै अपभ्रंश भएर बिस्केट भनिन पुगेको संस्कृतिविद्हरूको मत छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कहीँ नभएको जात्रा हाँडीगाउँमा