राजकुमार फिलिप: ड्यूक अफ एडिनबराको निधनप्रति विश्वका नेताहरूको प्रतिक्रिया

राजकुमार फिलिप र महारानी एलिजाबेथ तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुश र उनकी श्रीमती लरासँग वाशिङटनमा सन् २००७

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, राजकुमार फिलिप र महारानी एलिजाबेथ तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुश र उनकी श्रीमती लरासँग वाशिङटनमा सन् २००७ मा

बकिङ्घम दरबारले राजकुमार फिलिप, द ड्यूक अफ एडिनबराको ९९ वर्षको उमेरमा देहान्त भएको घोषणा शुक्रवार गरेपछि विश्वका नेताहरूले ब्रिटिश राजपरिवारप्रति समवेदना प्रकट गरेका छन्।

स्वीडनदेखि भारत र न्यूजील्यान्डसम्मका राजाहरू, राष्ट्रप्रमुखहरू, पूर्व र वर्तमान प्रधानमन्त्रीहरूले राजकुमारप्रति सम्मान व्यक्त गरिरहेका छन्।

ड्यूक अफ एडिनबरा महारानीका सयौँ विदेश भ्रमणमा साथ रहन्थे।

ड्यूकको पूर्व र वर्तमान युरोपेली शाही परिवारसँग रगतको नाता थियो र ती परिवारका कैयौँ सदस्यहरूले समवेदना प्रकट गरिरहेका छन्।

५४ देशको समूह कमनवेल्थ वा राष्ट्रमण्डलबाट पनि सम्मान व्यक्त भइरहेको छ। कमनवेल्थ सम्बद्ध राष्ट्रहरूमा विश्वका २.४ अर्ब मानिसहरू छन् भने ती सबैजसो राष्ट्रहरूमा विगतमा ब्रिटिश शासन चलेको थियो।

सम्मान प्रकट गर्नेहरूले ड्यूकले युवाहरूलाई फाइदा पुर्‍याउने उद्देश्यले सुरु गरेको ड्यूक अफ एडिनबरा अवार्ड भन्ने कार्यक्रम र उनले सार्वजनिक हितका लागि गरेका अनेकौँ अरू कामको स्मरण गरेका छन्।

अस्ट्रेलिया:

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, "उनी एक पुस्ताको प्रतिनिधित्व गर्थे जुन अब हामी देख्न पाउनेछैनौँ।"

अस्ट्रेलियाकी पूर्व प्रधानमन्त्री जुलिया गिलार्डले राजकुमार फिलिप 'कर्तव्यप्रति दत्तचित्त र हँसाउन सक्ने चरित्र भएका' व्यक्ति थिए भनेकी छन्।

स्वीडन

स्वीडनका राजा कार्ल गुस्ताफले आफू र रानी सिल्भिया ड्यूक अफ एडिनबराको निधनबाट गहिरो शोकमा परेको बताएका छन्। उनले भनेका छन्, "राष्ट्रका प्रति उनको सेवा हामी सबैका लागि प्रेरणा बन्नेछ।"

स्वीडनको शाही परिवारकी प्रवक्ता मार्गरेटा थोर्ग्रेनले बीबीसीलाई भनेअनुसार स्वीडनका राजा र राजकुमार फिलिपले इङ्ल्यान्डमा समुन्द्रमा सँगै बिहार गरेका थिए, "त्यहीबेलादेखि उनीहरूबीच राम्रो मित्रता कायम रह्यो।"

नेदरल्यान्ड्स

नेदरल्यान्ड्सको राजपरिवारले राजकुमार फिलिपलाई सम्मानका साथ स्मरण गरेको भन्दै भनेको छ: "उनको लामो जीवन उनले ब्रिटिश जनता र आफ्ना कैयौँ जिम्मेवारी र कर्तव्यमा समर्पित गरेका थिए। उनको जीवन्त व्यक्तित्वले अमिट छाप छोडेको छ।"

संयुक्त राज्य अमेरिका

पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले ड्यूक अफ एडिनबराको स्मरण गर्दै उनले "लामो र असाधारण जीवन" बिताएको उल्लेख गरेका छन्। राजकुमार फिलिपले आफूलाई राम्रो कामप्रति समर्पित राखेको पनि जर्ज बुशले उल्लेख गरेका छन्।

बेल्जियम

बेल्जियमका राजा फिलिपेले बेल्जियमका राजपरिवारको समवेदना रानी एलिजाबेथलाई निजी सन्देश पठाएर प्रकट गरेका छन्।

बेल्जियमका राजाले महारानी एलिजाबेथसँग मौका मिल्ने बित्तिकै टेलिफोन कुराकानी गर्ने उल्लेख गरेका छन्।

Prince Philip

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०१३ मा बेल्जियममा भएको प्रथम विश्वयुद्ध सम्बन्धी कार्यक्रममा राजकुमार फिलिप

मल्टा

मल्टाका प्रधानमन्त्री रोबर्ट अबेलाले भने "राजकुमार फिलिपको निधनबाट मर्माहत भएका छौँ। फिलिप मल्टा आइरहन्थे। यहाँका जनताले उनको सम्झना गरिरहनेछन्।"

राजकुमार फिलिप र महारानी एलिजाबेथले फिलिप नौसेनामा कार्यरत रहँदा राजा जोर्जको सन् १९५२ मा मृत्यु हुनु अघि मल्टामा दुई वर्ष बिताएका थिए।

न्यूजील्यान्ड

प्रधानमन्त्री जसिन्डा आर्डर्नले "महारानी र सम्पूर्ण राजपरिवारप्रति हार्दिक समवेदना" प्रकट गरेकी छन्।

उनले भनिन्, "हजारौँ युवाहरूले जीवन परिवर्तन गरिदिने प्रेरणा ड्यूकको पुरस्कारबाट प्राप्त गरेका छन्।"

क्यानडा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ड्यूकले "हाम्रो देशको सामाजिक संरचना र अन्य देशमा पनि ठूलो योगदान पुर्‍याएका छन्।"

उनले भने, "राजकुमार फिलिप अरूका प्रति आफ्नो कर्तव्यबाट प्रोत्साहित थिए। उनी हाम्री महारानीको जीवनका एक स्तम्भ थिए।"

इजरेल

इजरेलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले ड्यूक "कटिबद्ध सार्वजनिक हितमा काम गर्ने व्यक्ति थिए, उनको कमी इजरेल र विश्वभर खट्किनेछ भनेका छन्।"

ड्यूककी आमा ब्याटनबर्गकी राजकुमारी एलिसको निधन १९६९ मा भएको थियो। उनलाई जेरुसलेमको चर्च अफ मेरी म्याग्डलीनमा समाधिस्थ गरिएको थियो।

द ड्यूक अफ एडिनबरा आफ्नी आमा ब्याटनबर्गकी राजकुमारी एलिससँग

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, द ड्यूक अफ एडिनबरा आफ्नी आमा ब्याटनबर्गकी राजकुमारी एलिससँग

भारत

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिटिश राजपरिवार र ब्रिटिश जनताको स्मरण गरिरहेको र राजकुमार फिलिपले "सेनामा काम गरेको र कैयौँ सामुदायिक क्रियाकलापमा अग्र मोर्चामा रहेर काम गरेको" बताएका छन्।