ब्रिटेनका राजकुमार फिलिपको निधन

महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ।
राजदरबारले शुक्रवार दिउँसो जारी गरेको विज्ञप्तिमा भनिएको छ, "गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन्।"
"महामहिमको शान्तिपूर्वक आज बिहान विन्डसर क्यासलमा निधन भएको छ।"
गत महिना ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए।
"शाही परिवार उनको निधनमा शोक मनाइरहेका संसारभरका मानिसहरूको साथ छ," विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री बोरिस जोनसनले ड्यूकले 'अनगिन्ती युवाहरूको जीवनलाई प्रोत्साहित' गरेको बताएका छन्।
राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरेका थिए।
त्यो एलिजाबेथले राजगद्दी सम्हाल्नु पाँच वर्ष अगाडि थियो।
राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन्।

तस्बिर स्रोत, Reuters
उनीहरूका छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका थिए।
त्यसपछि राजकुमारी एन् सन् १९५० जन्मेकी थिइन्, ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए र अर्ल अफ वेसेक्स प्रिन्स एडवार्ड सन् १९६४ मा जन्मेका थिए।
प्रिन्स फिलिप ग्रीसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा जन्मिएका थिए। उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा थिए।
उनकी आमा, राजकुमारी एलिस, लर्ड लुइ अफ ब्याटनबर्गकी छोरी र रानी भिक्टोरियाका पनातिनी थिइन्।






