म्यान्मार सैन्य शासनः लन्डनस्थित दूतावासमा 'सैन्य सहचरीको नियन्त्रण', राजदूतलाई प्रवेश निषेध

तस्बिर स्रोत, PA Media
लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन्।
क्व जो मीनले सैनिक सहचारीले कर्मचारीहरूलाई राजदूतावासबाट निस्किन निर्देशन दिएको र आफूलाई उनले अब देशको प्रतिनिधि नरहेको जानकारी गराएको जनाएका छन्।
समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावास प्रवेश गर्न नदिइएको जानकारी दिएका हुन्।
म्यान्मारमा सेनाले माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। त्यसपछि त्यहाँ विरोधप्रदर्शनहरू भइरहेका छन्।
क्व जो मीनले सेनाले नियन्त्रणमा लिएको नेत्री आङ सान सू चीको रिहाइको माग गरेका थिए।
म्यान्मारमा प्रजातान्त्रिक नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न दबाव दिनका लागि आयोजना गरिएका प्रदर्शनहरूमा ५०० जनाभन्दा बढी सर्वसाधारणहरूको ज्यान गइसकेको छ। तीमध्ये दर्जनौँ बालबालिका पनि छन्।
दूतावासमा प्रवेश गर्न रोकिएको घटनालाई मीनले लन्डनकै बीचमा एक प्रकारको कू भएको सङ्ज्ञा दिएको रोएटर्सले जनाएको छ। ती राजदूतले प्रहरीहरूसँग कुरा गरिरहेको एउटा तस्बिरमा देख्न सकिन्छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
मेफेअरस्थित दूतावासअगाडि केही प्रदर्शनकारीहरू पनि भेला भएका थिए।

तस्बिर स्रोत, Reuters
"प्रहरी र प्रजातन्त्रवादीहरूको सानो समूहबीच उनले दुई-चार पटक भित्र प्रवेश गर्ने प्रयास गरेका छन्। तर हालसम्म सफल हुन सकेका छैनन्," दूतावास भएको क्षेत्रबाट बीबीसी संवाददाता पोल एडम्सले भने।
"सेनाले यसअघि नै उनले अनधिकृत टिप्पणी गरेका कारण फिर्ता बोलाइने जनाएको थियो।"
यूकेको विदेश मन्त्रालयका एक प्रवक्ताले "कूटनीतिक मर्यादामा आधारित रहेर लन्डनस्थित म्यान्मारका राजदूतको अवस्था बारे स्पष्टीकरण खोजिरहेको" बीबीसीलाई बताएका छन्।
म्यान्मारमा सेनाले सङ्कटकालको घोषणा गरेको छ।









