सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज'

ट्रायल सेन्टर

तस्बिर स्रोत, Facebook / Vehicle Academy and Research Centre

    • Author, नेत्र केसी
    • Role, बीबीसी न्यूज नेपाली

सवारी चालक अनुमतिपत्र लिनका लागि हुने परीक्षा प्रणालीलाई केही खुकुलो पारिएको र यसले प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुने दर बढाउने अधिकारीहरूले बताएका छन्।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित परीक्षाका लागि पाँच सयवटा प्रश्नपत्र सार्वजनिक गरिने र त्यस भित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने नयाँ प्रावधान राखिएको उनीहरूको भनाइ छ।

जेठ एक गतेदेखि लागु हुने नयाँ निर्देशिकामा हालका लागि ठूला सवारी साधनलाई नसमेटिएको जनाइएको छ।

सवारी चालक अनुमतिपत्रसम्बन्धी परीक्षाबारे विभिन्न प्रश्न उठ्दै आएका थिए।

स्मार्टकार्ड

प्रयोगात्मक परीक्षाका बेला हुने सानो गल्तीका कारण पनि अनुमतिपत्रबाट वञ्चित गर्ने गरिएको धेरैको गुनासो छ।

त्यस्तो गुनासो बढेपछि चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकालाई परिमार्जन गरिएको सरकारले जनाएको छ।

परीक्षामा के के सहज

यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसाल परीक्षाका हालका व्यवस्थालाई केही खुकुलो पारिएको बताउँछन्।

उनी भन्छन्, "लिखित परीक्षाका लागि ५ सय वटा प्रश्न सार्वजनिक गर्छौं। तिनै प्रश्नभित्रबाट २० वटा प्रश्न सोध्छौँ र ८० प्रतिशतसम्म मिलाउनेले लिखित परीक्षा पास गर्नुहुनेछ।"

"५ सय वटा प्रश्न जाने पुग्छ। प्रयोगात्मक परीक्षाका लागि हेरिने विषयको सूचक बनाएर त्यसलाई निश्चित अङ्क दिएका छौँ। १०० मा ७० ल्याउनेलाई पास गर्ने व्यवस्था गरेका छौँ। अब एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य हुनेछ।"

पहिलेको निर्देशिकामा लिखित परीक्षाका लागि प्रश्नको कुनै सङ्ख्या तोकिएको थिएन भने उत्तीर्ण अङ्क ५० राखिएको थियो।

यातायात व्यवस्था विभाग

तस्बिर स्रोत, Facebook/DoTM

त्यस्तै प्रयोगात्मक परीक्षामा सबै सूचकमा उत्तीर्ण भएर १०० अङ्क नै ल्याउनु पर्ने बाध्यात्मक व्यवस्था थियो।

लिखित परीक्षामा सोधिने सम्भावित ५ सय वटा प्रश्न सूची तयार भइसकेको र त्यसलाई केही दिनमै सार्वजनिक गरिने बताइएको छ।

के गर्दा घट्छ अङ्क

प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक सङ्केतको पालन नगरेमा १५ अङ्क घट्ने व्यवस्था गरिएको छ।

भिडभाड

तस्बिर स्रोत, Rama Parajuli / BBC

तस्बिरको क्याप्शन, यातायात कार्यालयहरूमा भिडभाड बढेको अधिकारीहरू बताउँछन्

सङ्केत चिन्ह छोएमा, खुट्टाले भुँइमा टेकेमा, मोडमा इन्डिकेटर बत्ती नबालेमा लगायतका गल्ती हुँदा फरक फरक अङ्क घट्ने व्यवस्था गरिएको छ।

पछिल्लो परिवर्तनले हुने फरकबारे निर्देशक भुसालले भने, "अहिलेको पास गर्ने दर ३५ देखि ३० प्रतिशत हो। नयाँ व्यवस्थाबाट यो ५० देखि ६० प्रतिशतसम्म पुग्नेछ। जो मान्छे सवारी साधन चलाउन सक्ने अवस्थाको छ त्यसले सवारी चालक अनुमति पत्र पाउने अवस्था बन्छ।"

यो व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान चालक अनुमति पत्रका लागि मात्रै लागु हुने बताइएको छ।

ठूला सवारी चालक अनुमति पत्र लिँदा भने हालकै व्यवस्था कायम रहने बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘राजाकी डाइभर्नी’ भनेर चिनिने रामदेवी काठमाण्डूको वृद्धाश्रममा बस्दै आएकी छन्।

पहिलो चरणको प्रभावका आधारमा क्रमशः अन्य सवारीसाधनको व्यवस्था समीक्षा गर्ने नीति रहेको अधिकारीहरू बताउँछन्।