चीन: हङ्कङका 'लोकतान्त्रिक संस्थामाथि आक्रमण' भन्दै अमेरिकाद्वारा निन्दा

तस्बिर स्रोत, Reuters
हङ्कङका "लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण जारी राखेको" भन्दै संयुक्त राज्य अमेरिकाले चीनको निन्दा गरेको छ।
बेइजिङले हङ्कङमा निर्वाचन प्रणाली बदल्ने योजनाहरू घोषणा गरेपछि अमेरिकाले पछिल्लो आलोचना गरेको हो।
चीनको न्याश्नल पिपुल्स कङ्ग्रेस एनपीसीले शुक्रवार त्यससम्बन्धी योजनाहरू सार्वजनिक गरेको थियो।
एउटा प्रस्तावअनुसार हङ्कङको एसेम्ब्लीमा उठ्ने सबै उम्मेदवारलाई बेइजिङप्रति वफादार एउटा समितिका सदस्यहरूले अनुमोदन गर्नुपर्ने हुन्छ।
चीनले हङ्कङमा गत वर्ष कडा राष्ट्रिय सुरक्षा नीति ल्याएको पृष्ठभूमिमा निर्वाचन प्रणालीसम्बन्धी नयाँ योजना सार्वजनिक गरिएको छ।
आलोचकहरूका अनुसार चीनले यूकेसँग गरेको "एक देश, दुई प्रणाली" सम्बन्धी सहमतिलाई उल्टाइरहेको र विपक्षीहरूलाई दबाउने काम गरिरहेको छ।
पहिला उपनिवेश बनाएको यूकेसँग भएको सहमतिअनुसार हङ्कङले आफ्नै कानुनी व्यवस्था जारी राख्न पाउँछ र वाक् तथा प्रेस स्वतन्त्रता सहितका अधिकारहरूको त्यहाँ उपभोग गर्न पाइन्छ।

तस्बिर स्रोत, Getty Images
त्यो व्यवस्थालाई क्रमिक रूपमा हटाउँदै लगिन्छ भन्ने हङ्कङका मानिसहरूमा रहेको डरले सन् २०१९ मा लोकतन्त्रको पक्षमा ठूल्ठूला प्रदर्शनहरू निम्त्यायो।
कतिपय प्रदर्शनहरू हिंसात्मक बन्न पुगे र बेइजिङले अन्ततः नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गर्यो।
नयाँ कानुनले "देशद्रोह"लाई लक्षित गर्ने र हङ्कङमा स्थायित्व ल्याउने बेइजिङको दाबी छ।
एनपीसीको वार्षिक बैठकका लागि हजारौँ सांसदहरू भेला भएका छन्।
अमेरिका र अरू देशको प्रतिक्रिया के छ?
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बेइजिङको कदम "हङ्कङको स्वायत्तता, हङ्कङका स्वतन्त्रताहरू र लोकतान्त्रिक प्रक्रियाहरूमाथि एउटा प्रत्यक्ष आक्रमण" भएको बताएका छन्।
"यदि तिनलाई कार्यान्वयनमा ल्याइयो भने त्यसले हङ्कङका लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउनेछ," उनले थपे।
यसअघि युरोपेली सङ्घले "निर्वाचन प्रणालीमा परिवर्तन ल्याउँदा त्यसले आधारभूत स्वतन्त्रता राजनीतिक बहुलवाद तथा लोकतान्त्रिक सिद्धान्तहरूलाई कमजोर बनाउन सक्ने कुराबाट राजनीति र अर्थतन्त्रमा पर्न प्रभावबारे सावधानीपूर्वक विचार गर्न" बेइजिङलाई आग्रह गरेको थियो।
यूकेको विदेश मन्त्रालयले "आधारभूत अधिकार तथा स्वतन्त्रता, हङ्कङमा उच्च तहको स्वायत्ततासहित हङ्कङका मानिससँग गरिएका प्रतिबद्धताहरू पूरा गरिरहन" चिनियाँ अधिकारीहरूलाई आग्रह गरेको छ।
हङ्कङका लागि के योजना छ?
एनपीसीका उपाध्यक्ष वाङ्ग चेनले "हङ्कङको समाजमा देखिएका दङ्गा र अस्थिरताले विद्यमान निर्वाचन प्रणालीमा स्पष्ट कमीकमजोरी रहेको देखाएको" सांसदहरूलाई बताए।

तस्बिर स्रोत, Getty Images
उनले "विद्यमान प्रणालीमा रहेका जोखिमहरूलाई हटाउनुपर्ने र देशभक्तहरू जिम्मेवारीमा रहेको सुनिश्चित गर्नुपर्ने" उल्लेख गरे।
चिनियाँ प्रधानमन्त्रीले हङ्कङको आन्तरिक मामिलामा हुने हस्तक्षेपबाट चीनले "सुरक्षित राख्ने तथा दृष्ढताका साथ रोक्ने" बताए।








