इबोलाको नयाँ महामारी कतिको खतरनाक छ?

इबोला

तस्बिर स्रोत, AFP

पश्चिम अफ्रिकी राष्ट्र गीनीले तीन मृत्यु र आठ सङ्क्रमणका घटना पुष्टि भएपछि इबोलाको नयाँ महामारी घोषणा गरेको छ।

पश्चिम अफ्रिकामा यसअघि इबोला महामारी अन्त्य भएको चार वर्षभन्दा बढी भइसकेको छ।

अहिलेसम्मकै सबैभन्दा घातक भनिएको इबोला महामारीले ११,००० भन्दा बढी मानिसको ज्यान लिएको थियो।

पछिल्लो महामारी दक्षिण पूर्वी गीनीको एउटा अन्त्येष्टि समारोहबाट फैलिएको बताइएको छ।

सन् २०१३ देखि २०१६ सम्म पनि त्यही क्षेत्रमा इबोला महामारी देखा परेको थियो।

इबोला कति खतरनाक छ र त्यसलाई नियन्त्रणमा लिन के गरिदैँछ?

इबोला के हो?

इबोला जङ्गली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको भनाइ छ। त्यसपछि यो मानिसबाट मानिसमा सर्ने गर्छ।

यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुने हो।

यी सुरुआतका लक्षणहरू मात्र हुन्, त्यसपछि बान्ता हुने, झाडापखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रक्तश्राव पनि हुन्छ।

यो भाइरस सङ्क्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय दुईदेखि २१ दिनसम्म हुन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन पटक पटक फैलिरहेको छ इबोला भाइरसको संक्रमण?

इबोला कसरी सर्छ?

इबोला सङ्क्रमण भएका वा इबोलाका कारण ज्यान गुमाएका व्यक्तिका रगत वा जीउबाट निस्कने तरल पदार्थ (रगत, दिसा वा बान्ता) सँग प्रत्यक्ष सम्पर्क हुँदा यो रोग सर्ने गर्छ।

इबोलाका बिरामीहरूको जीउबाट निस्कने तरल पदार्थले सङ्क्रमित भएका वस्तुहरूबाट पनि यो सर्छ।

इबोलाको सङ्क्रमण पुष्टि भएका वा आशङ्का गरिएका व्यक्तिको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीमा बारम्बार यो समस्या देखा पर्दै आएको छ।

प्रारम्भिक चरणको सङ्क्रमणका क्रममा परम्परागत सामुदायिक अन्तिम संस्कार महामारी फैलने अर्को माध्यम हो। किनभने समुदायका अधिकांश व्यक्तिले मृतकका शरीरलाई छुने, पखाल्ने र चुम्बन गर्ने गर्छन्।

इबोलाबाट ज्यान गुमाएका व्यक्तिको शव अत्यन्तै सङ्क्रामक हुन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अर्को महामारी कहाँबाट शुरू हुन्छ?

अहिलेको सङ्क्रमण कसरी देखा पर्‍यो?

अहिलेको सङ्क्रमण दक्षिण पूर्व गीनीको एउटा नगर जिहोकामा भएको अन्तिम संस्कारसँग जोडिएको छ।

त्यहाँ एउटा स्थानीय केन्द्रमा ज्यानुअरीको अन्त्यमा एक जना नर्सको ज्यान गएको थियो र उनको शव फेब्रुअरी १ मा गाडिएको थियो।

त्यसको केही दिनपछि अन्तिम संस्कारमा सहभागी भएका आठ जना व्यक्तिमा झाडापखाला, बान्ता आउने र ज्वरो देखा पर्‍यो।

तीन जनाले बिरामीले लगत्तै ज्यान गुमाए। अरूको उपचार हुँदैछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वास्तवमा कोरोनाभाइरस के हो?

सरकारको प्रतिक्रिया

सरकारले जिहोका क्षेत्रमा उपचार केन्द्र स्थापना गरेको छ र सङ्क्रमितहरूको पहिचानको व्यवस्था मिलाउन आदेश दिएको छ।

यसैबीच डब्ल्यूएचओले गीनीको लागि इबोला खोप र उपचारसहित सहयोगको समन्वय गरिरहेको बताएको छ।

लाइबेरिया र सिएरा लियोनलाई उच्च सावधानीमा राखिएको छ। त्यहाँ नयाँ सङ्क्रमण पुष्टि भने भइसकेका छैन।

लाइबेरियाका राष्ट्रपति जोर्ज वेयले देशका स्वास्थ्य अधिकारीहरूलाई गीनीसँगको सीमामा रहेका नगर तथा गाउँहरूमा तत्कालै परिचालित हुन र इबोला नियन्त्रणका कदमहरू चाल्न निर्देशन दिएका छन्।

कङ्गोमा देशको पूर्वी क्षेत्रमा इबोलाको चौथो नयाँ सङ्क्रमणको घटना देखा परेको पुष्टि त्यहाँका स्वास्थ्य अधिकारीहरूले गरेका छन्।

डब्ल्यूएचओले आफू उक्त क्षेत्रमा रहेका माली, सेनेगल र आइभोरी कोस्ट जस्ता देशसँग सम्पर्कमा रहेको र अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इतिहासले हामीलाई के भन्छ- के आगामी केही वर्षहरूमा हामी आश्चर्य चकित हुनेछौँ?

के इबोला पहिले जतिकै घातक छ?

इबोला उपचार नगरिए गम्भीर तथा ज्यान लिने खालको खतरनाक सङ्क्रमण हो।

औसतमा सङ्क्रमण देखा परेका आधा व्यक्तिले ज्यान गुमाउँछन्।

विगतको महामारीमा मृत्युदर २५ देखि ९० प्रतिशतसम्म रहेको थियो।

तर डब्ल्यूएचओले सन् २०१३ को तुलनामा महामारीसँग जुझ्न आफू बढी तयार रहेको बताएको छ।

अहिले इबोलाविरुद्ध दुई खोपको प्रयोग गरिदैँछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सन् २०२० कोरोनाभाइरस मात्रै होइन: छ घटना जसले संसार हल्लायो

भविष्यको महामारीलाई ध्यानमा राखेर झन्डै पाँच लाख खोपहरूलाई भण्डारण गरिएको खोपसम्बन्धी विश्वव्यापी गठबन्धन गाभीले ज्यानुअरी महिनामा बताएको थियो।

बीबीसीकी अफ्रिका सम्पादक मेरी हार्पर भन्छिन् डब्ल्यूएचओ र सम्बन्धित देशहरूले विगतको महामारीबाट पाठ सिकेका छन्।

"उनीहरू राम्रोसँग मानिसहरूको पहिचान गर्न सक्छन्। सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई एक्लाएर राख्न सक्छन्। त्यही भएर उनीहरू पहिलाभन्दा राम्रोसँग तयार छन्।"

तर उनले पूर्वाधार कमजोर रहेका दुर्गम क्षेत्रमा महामारी देखिने सम्भावना रहेको उल्लेख गरिन्।

"त्यो वातावरण चुनौतीपूर्ण हो," हार्पर भन्छिन्, "र अफ्रिका कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रभावित नभएपनि उसले एउटै समयमा इबोला भाइरसको नयाँ लहरसँग जुझ्नु परिरहेको छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण