इबोला: कङ्गोमा महामारी नरोकिएपछि 'विश्व स्वास्थ्य सङ्कटकाल' घोषणा

इबोला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इबोलासँग जुझ्नका लागि अन्य देशबाट प्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रवेश गर्ने मानिसहरूको स्वास्थय परीक्षण तीव्र बनाइएको छ

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी फैलिएपछी विश्व स्वास्थ्य सङ्गठनले त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै "विश्व स्वास्थ्य सङ्कटकाल" घोषणा गरेको छ।

उक्त घोषणासँगै समृद्ध राष्ट्रहरूले इबोलासँगको सङ्घर्षमा थप आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण हालसम्म १६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

यसै हप्ता १० लाखभन्दा बढी जनसङ्ख्या रहेको गोमा सहरमा इबोलासम्बन्धी घटनाहरू सार्वजनिक भएपछि थप सतर्कता अपनाइएको बताइएको छ।

सङ्कटकालको अर्थ के हो?

जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय चासो सहितको सङ्कटकाल निकै संवेदनशील खतराको सङ्केत हो।

इबोला

तस्बिर स्रोत, Getty Images

यस्तो अवस्था हालसम्म चार पटक मात्र उत्पन्न भएको जनाइएको छ।

अहिलेसम्मकै दोस्रो ठूलो प्रकोप मानिएको घटना सन् २०१८ को अगस्ट महिनाबाट सुरु भएको थियो र यसको मारमा उत्तरी किभु र इटुरी प्रान्त परेका छन्।

स्थिति कस्तो छ?

इबोला सङ्क्रमितको सङ्ख्या २५ सयभन्दा बढी रहेको बताइएको छ जसमध्ये दुईतिहाइको मृत्यु भइसकेको छ।

सुरुमा इबोला सङ्क्रमितको सङ्ख्या एक हजार पुग्न २२४ दिन लागेको थियो। उक्त सङ्ख्या दुई हजार पुग्न भने थप ७१ दिन मात्र लागेको बताइएको छ।

इबोलाबारे प्रत्येक दिन १२ वटा नयाँ घटना सार्वजनिक हुने गरेका छन्।

इबोला

तस्बिर स्रोत, Getty Images

उक्त रोगको खोप ९९ प्रतिशत प्रभावकारी भए पनि सबैले त्यस्तो खोप नलगाएकाले सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको बताइएको छ।

हाल सम्म एक लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका वा सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्बन्ध राखेका मानिसहरूलाई खोप लगाइएको छ।

अरू जोखिम कस्तो छ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोलाको प्रकोप प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट बाहिर फैलिन सक्ने प्रबल सम्भावना छ।

युगान्डा र रुवान्डा उच्च जोखिममा रहेको बताइएको छ।

इबोला खोप

तस्बिर स्रोत, AFP

युगान्डामा पनि केही बिरामी फेला परेका छन्। अहिलेसम्म त्यहाँ एक पाँच वर्षीय बालक र उनकी ५० वर्षीया हजुरआमाको मृत्यु भइसकेको छ।

रुवान्डामा पनि रोगको जोखिम भएको बताइएको छ।

रुवान्डा र कङ्गको सीमामा अवस्थित गोमा सहरमा यही हप्ता एक व्यक्तिको मृत्यु भयो।

विश्व स्वास्थ्य सङ्गठनले इबोलासँग जुध्न आफूहरूसँग पर्याप्त रकम नभएको बताएको छ।

विश्व स्वास्थ्य सङ्गठनले सो रोगको सङ्घर्षमा आफूलाई फेब्रुअरीदेखि जुलाई महिनासम्ममा नौ करोड ८० लाख डलर आवश्यक परेको तर पाँच करोड ४० लाख डलर नपुगेको जनाएको छ।

इबोला के हो?

इबोला

तस्बिर स्रोत, BSIP/GETTY IMAGES

  • इबोला एउटा भाइरसबाट लाग्ने रोग हो। यसले सुरुमा अकस्मात् ज्वरो आउँछ र शरीर एकदमै दुर्बल हुन्छ। मांसपेसीमा पीडा हुन्छ र घाँटी दुख्न थाल्छ
  • बिस्तारै बान्ता र पखाला हुनथाल्छ, आन्तरिक तथा बाह्य रक्तस्राव पनि हुन्छ
  • रोगग्रस्त मानिसको छाला, मुख, नाक, रगत, बान्ता, दिसा वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थ सोझै छुँदा इबोला भाइरस सर्छ
  • शरीरबाट पानी र नूनको मात्रा घटेर तथा धेरै अङ्गले एकैचोटि काम गर्न छोडेर बिरामीको मृत्यु हुन सक्छ