नेकपा सभामा प्रधानमन्त्रीले घोषणा गर्ने भनिएको 'गोप्य कुरा' के थियो?

तस्बिर स्रोत, RSS
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
सत्ताधारी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डूको सभामा 'गोप्य कुरा घोषणा गर्ने' शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका थिए।
तर शुक्रवारको सभामा त्यस्तो नयाँ कुरा आएन।
त्यो गोप्य कुराको प्रसङ्गमा चासो राखेर सभा परिचालन कमिटीका संयोजक रहेका मन्त्री श्रेष्ठलाई हामीले भोलिपल्टैदेखि सम्पर्कको प्रयास गर्यौँ, तर बारम्बारको प्रयास सफल भएन।
आइतबार दिउँसो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग त्यसबारे चासो राख्यौँ।
ओलीले आफ्ना 'आधारभूत प्रतिबद्धताहरू, तीन वर्षमा गरेका काम, कसरी के गर्न दिइएन र केही मान्छे गएपछि फटाफट निर्णय गर्न सकेका दृष्टान्त र भावी योजनाहरू' सम्बोधनमा व्यक्त गरेको उनको भनाइ छ।
'परिवर्तनप्रति प्रतिबद्ध प्रधानमन्त्री'
थापाले भने, "सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रतिबद्धतामै प्रश्न उठ्ने गरी यस्तो हुन्छ, उस्तो हुन्छ भनेर अनुमान गर्ने जो कोसिस भएका थिए, प्रधानमन्त्रीले चाहिँ आफ्ना स्पष्ट विश्लेषणका आधारमा बोल्ने र व्यवहार गर्ने कुरा नै राख्नु भएको छ।"
सभामा प्रधानमन्त्रीले पनि विभिन्न चर्चाहरूको प्रसङ्ग उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने दृढता व्यक्त गरेका थिए।
उनले धर्मनिरपेक्षताबारे चर्चा गरेनन्।
प्रचण्ड नेतृत्वको नेकपाकै नेता र अरू पनि केहीले ओलीले सभामा हिन्दु राष्ट्रको पक्षमा आफूलाई प्रस्तुत गर्ने अनुमान गरेका थिए।
तर प्रेस सल्लाहकार थापाका भनाइमा 'धर्म निरपेक्षताबारे संविधानको व्यवस्थाका सम्बन्धमा प्रधानमन्त्रीले पुनर्विचार गर्नुपर्ने विषय नै छैन।'
त्यसो भए मन्त्री श्रेष्ठले भनेको गोप्य कुरा के थियो? थापाले भने, "कृष्णगोपाल कमरेडले के सन्दर्भमा त्यसो भन्नु भएको थियो उहाँलाई सोध्नुपर्ला। मलाई थाहा छैन।"

तस्बिर स्रोत, RSS
के थियो गोप्य?
अन्ततः आइतबार साँझ मन्त्री श्रेष्ठसँग सम्पर्क भयो।
सुरुमा सभाको आन्तरिक मूल्याङ्कन सुनाउँदै उनले भने, "प्रधानमन्त्रीले अहिलेसम्मकै कसैलाई गाली केही नगरीकन स्पष्ट ढङ्गले आफ्नो राजनीतिक अडान प्रस्तुत गर्नुभयो, अरूले त पञ्च र्याली भन्छन् के-के भन्छन्, मुख टाल्न मिल्दैन तर कार्यक्रम सोचेभन्दा धेरै राम्रो, सभ्य र भव्य भयो।"
उनले हुने भनेको तर प्रधानमन्त्रीले नगरेको खुलासा गर्ने कुरा के थियो?
अहिले सबै आआफ्नै खालको भ्रममा रहेको बताउँदै उनले अब निर्धारित चुनावमा निश्चित भएको र त्यसको तयारीमा अघि बढ्न प्रधानमन्त्रीले स्पष्ट सन्देश दिएको बताए।

तस्बिर स्रोत, RSS
तर त्यो गोप्य कुरा त थिएन?
उनले सुनाए, "गोप्य कुरा त त्यही भयो नि, धेरै मान्छेहरू गोप्य कुरा सुन्न आए, के भन्छ भनेर उत्सुकता बढ्छ अनि मान्छे आउँछन्, त्यै त हो नि।"
त्यसैलाई आधार बनाएर 'आ-आफ्नो स्वार्थ अनुसार डम्फु बजाउनेहरूले मौका पाएको र डम्फु पनि बजाइदिएको' उनको बुझाइ छ।
पुनर्विचार नहुने संविधानका विषय
मन्त्री श्रेष्ठले भने, "मूलतः प्रधानमन्त्रीले चुनाव हुनुपर्छ कि पर्दैन भनेर सोध्नु भयो, जनताले पर्छ भने, चुनाव हुने घोषणा भयो।"
प्रेस सल्लाहकार थापाले जस्तै उनले पनि परिवर्तनका उपलब्धिप्रति ओली र ओलीले नेतृत्व गरेको दल प्रतिबद्ध रहेको बताए।
उनले भने, "तैपनि के हुन्छ भनेर मान्छेहरू सुन्न-हेर्न त आए नि।"
संविधान ढुङ्गाले लेखेको अक्षर, बाइबल र कुरा पनि नभएको टिप्पणी गर्दै उनले आफ्नो पार्टीलाई चुनावमा दुई तिहाइ बहुमत दिएमा 'संविधानका छेउ-कुना मिलाउन सकिने' बताए।
तर सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताप्रति पुनर्विचार हुन नसक्ने उनको भनाइ छ।








