नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विद्यार्थी भेलामा लगाए यस्ता आरोप

तस्बिर स्रोत, RSS
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध 'आक्रामक' आन्दोलनमा उत्रिन युवाहरूलाई आह्वान गरेका छन्।
काठमाण्डूमा आइतवार आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कदमलाई 'छुट दिन नसकिने' बताए।
उनले भने, "अब हाम्रो आन्दोलन अलि आक्रामक हुनुपर्यो। अलिकति बाघ र सिंह गर्जे जस्तो हुनुपर्यो कि प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिनपर्यो। त्यस्तो आन्दोलन चाहिएको छ कमरेडहरू।"
"हिजो गिरिजाबाबु अथवा माधव-झलनाथजीले लाठी खाए जस्तै मलाई किनकिन के चिलाएको हो, मलाई लाठी खान मन छ यो पटक।"
कार्यक्रममा उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध सिङ्गो राष्ट्र उभिएको दाबी समेत गरे।
'अस्वाभाविक'
संविधानमाथि "निर्मम तरिकाले प्रहार" गरिएको र सात दशक लामो बलिदान र त्यागबाट प्राप्त उपलब्धिको "हत्या" गरिएको प्रचण्डले आरोप लगाए।
दुःखमा रुने र खुशीमा हाँस्ने नेपाली परम्परा रहेको उल्लेख गर्दै प्रचण्डले भने, "...तर हाम्रो केपी ओलीजी मलामी जाने बेला हाँस्दै हिँड्नुभएको छ, जन्त जाने बेला रुँदै जानुभएको छ। यस्तो मान्छेलाई स्वाभाविक भन्न मिल्छ र?"
"लाजै लाग्छ मलाई। केपी ओलीजीलाई त लाज पनि छैन। देश बर्बाद भइरहेको छ, आगो लागिरहेको छ, डढेलो सल्किरहेको छ। उहाँ हाँसिराख्या छ," उनले थपे।
कार्यक्रममा नेकपाका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रव्यापी रूपमा आन्दोलनको स्थिति सिर्जना गर्न आह्वान गरे।

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री ओलीको पक्षमा रहेका नेताहरूलाई उनले "फुटेर गएका चोइटा"को सङ्ज्ञा दिए।
उनले भने, "उनीहरू फुटेर गएका चोइटा हुन्। बाँस बढ्दै गएपछि पट्याँस फ्याँक्दै जान्छ। सतिसालको यो रूखलाई कसैले पनि ढाल्न सक्दैन।"
संविधानमाथि "प्रहार गरिएको" भन्दै खनालले सर्वोच्च अदालतले संविधानको रक्षा गर्नेमा आफूहरू विश्वस्त रहेको जिकिर गरे।
"हामी केपी ओलीले जस्तै न्यायालयलाई दबाव दिँदैनौँ," उनले थपे।








