राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव प्रस्तुत: 'ट्रम्पबाट प्रजातन्त्र र संविधानको निम्ति तत्काल खतरा'

तस्बिर स्रोत, White House via Twitter
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत गरिएको छ।
डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।
डेमोक्र्याटहरूले अमेरिकी संसद्मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।
उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुनसक्छ। डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन्।
पहिलो भरोसा उपराष्ट्रपतिमाथि
ट्रम्पमाथि नोभेम्बर महिनामा भएको चुनावमा जो बाइडनको जित उल्टाउने प्रयासमा गत बुधवार संसद्मा आक्रमण गर्ने आफ्ना समर्थकलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।
तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन्।

तस्बिर स्रोत, Getty Images
उनको पार्टीले अघि सारेका दुवै योजनाको उद्देश्य ज्यानुअरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्नु हो।
त्यसको निम्ति उनीहरूले पहिलो प्रयास अमेरिकी संविधानको व्यवस्था अनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई तयार गर्ने देखिन्छ।
त्यसप्रक्रिया अनुसार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिमा आउँछ।
त्यसपछि महाभियोग
संसद्को त्यो प्रयासमा तल्लो सदनको समितिमा रिपब्लिकन सांसदको असहमतिका कारण अवरोध उत्पन्न भएको छ।
त्यसैले छलफल र सम्भवत: मतदानको निम्ति मङ्गलवारको समय निर्धारण गरिएको छ।
यदि पेन्स ट्रम्पलाई हटाउन तयार भएनन् भने कैयौँ विज्ञले महाभियोग लगाउने प्रक्रियाको निम्ति प्रस्तुत प्रस्तावमा बुधवार छलफल सुरु हुने ठानेका छन्।

तस्बिर स्रोत, Reuters
महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आफूहरूसँग आवश्यक सांसद सङ्ख्या रहेको बताएका छन्।
तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषी ठहर्याउने या नठहर्याउने भन्ने विषयमा माथिल्लो सदन सिनेटमा सुनुवाइ हुनेछ।
त्यहाँबाट पारित हुन दुई तिहाइ मत आवश्यक हुन्छ। तर त्यो प्रक्रिया तत्काल टुङ्गोमा पुग्नेमा डेमोक्र्याटहरू नै विश्वस्त देखिएका छैनन्।








