अमेरिकी संसद्मा ट्रम्प-समर्थकको हङ्गामापछि संसदीय प्रक्रिया पुनः सञ्चालनमा

तस्बिर स्रोत, Getty Images
भिड प्रवेश गरेर अवरुद्ध भएको अमेरिकी संसद्मा बैठक पुनः सुरु भएको छ।
अमेरिकी संसद् रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो।
उक्त बैठकमा राष्ट्रपति-निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोक्नु परेको थियो।
प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड र प्रहरीसँग मुठभेड गरेका थिए।
यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।
त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपर्थ्यो भन्ने ट्विटरको स्पष्टीकरण छ।
फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ।
यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए।
के मन्त्रिपरिषद्ले ट्रम्पलाई हटाउँछ?
बीबीसीको साझेदार सीबीएस न्यूजका अनुसार ट्रम्पको मन्त्रिपरिषद्ले संविधानको २५औँ संशोधनलाई ब्युँताउन सक्ने चर्चा चलेको छ।
त्यस्तो व्यवस्था त्यतिखेर ब्युँताइन्छ जतिखेर राष्ट्रपतिले आफ्ना जिम्मेवारी वहन गर्न सक्दैनन्। र राष्ट्रपतिको जिम्मेवारी अन्यत्र सर्छ।
त्यस्तो हकमा बहुमत मन्त्रीहरू र उपराष्ट्रपति माइक पेन्सले संसद्का नेताहरूलाई पत्र लेखेर ट्रम्प अक्षम रहेको भन्दै उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपति बनाउन सक्छन्।
यस्तो व्यवस्था सन् १९६७ यता ब्युँताइएको छैन। र हालसम्म पेन्सलाई औपचारिक रूपमा त्यस्तो केही बुझाइएको छ।

तस्बिर स्रोत, Reuters
राजीनामाहरू
बढ्दो राजनीतिक विकासक्रममाझ ह्वाइटहाउसका सहायक प्रेस सेक्रेटरी सारा म्याथ्युजले पदबाट राजीनामा दिएकी छन्।
उनले विज्ञप्तिमा लेखेकी छन्: "कङ्ग्रेसका सभाकक्षमा काम गरेकी व्यक्तिका नाताले आज मैले जे देखेँ त्यसले मलाई विक्षिप्त बनाएको छ।"
घटनापछि यसअघि प्रथम महिला मिलेनिया ट्रम्पका चीफ अफ स्टाफ स्टेफनी ग्रिसमले समेत पदबाट राजीनामा दिएकी छन्।
दुई शब्दाब्दीपछि हमला
अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ।
सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो।
घटना के हो?
अमेरिकी संसद्मा गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको प्रमाणीकरण गर्न कङ्ग्रेस बैठक बसिरहेको थियो।
संसद् बैठक भइरहेकै बेला राष्ट्रपति ट्रम्पद्वारा उत्साहित सयौँ समर्थकहरूले उक्त भवनमा हमला गरेर हङ्गामा गरेका थिए।
उक्त हिंसा सुरु भएको घण्टौँपछि राष्ट्रपति ट्रम्पले भिडिओ जारी गरेर समर्थकहरूलाई घर जान भनेका थिए।
अमेरिकी राष्ट्रपति चुनिएका जो बाइडनले अमेरिकी लोकतन्त्रमाथि अभूतपूर्व हमला गरिएको बताएका छन्।
उनले अमेरिकालाई विश्वले हेरिरहेको बताउँदै त्यसले आफूलाई स्तब्ध पारेको बताए। उनले भने, "यो अराजकता हो। यो उथलपुथल हो। यो देशद्रोहको नजिकको कुरा हो।"








