नेकपा विवाद: साधारण सदस्य पनि नरहनेगरी केपी शर्मा ओलीलाई 'निष्कासन' गर्ने प्रचण्ड-माधव नेपाल पक्षको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली

तस्बिर स्रोत, PMO/RSS

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

आइतवार बसेको पार्टीको स्थायी समितको बैठकले उक्त निर्णय गरेको हो।

स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बैठकले ओलीले पार्टीले मागेको स्पष्टीकरणको जबाफ नदिएको र पार्टीविरोधी काम गरेको ठहर गर्दै त्यस्तो निर्णय गरेको हो।

पार्टीको निर्णयबिना प्रतिनिधिसभा विघटन गरेको लगायतका विषय उठाउँदै उक्त समूहले ओलीसँग स्पष्टीकरण सोधेको थियो।

प्रचण्ड-माधव

तस्बिर स्रोत, RSS

यसअघि उनलाई पार्टी अध्यक्षबाट हटाएर उनको स्थानमा माधवकुमार नेपाललाई पार्टीको अर्का अध्यक्ष बनाइएको थियो।

नेकपाको आधिकारिक समूह आफू रहेको भन्दै दुवै पक्षले दाबी गर्दै आएका छन्। उक्त विषयमा निर्वाचन आयोगले भने कुनै निर्णय गरिसकेको छैन।

पछिल्ला दिनहरूमा आयोजना गरिएका विरोधका कार्यक्रमको समीक्षा गरेको र चाडै सङ्घर्ष समितिको बैठक बसेर आन्दोलनका नयाँ कार्यक्रमहरूको घोषणा गर्ने निर्णय समितको बैठकले गरेको शर्माले बीबीसी न्यूज नेपालीलाई बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सत्ताधारी नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्