बीबीसी १०० विमिन: सङ्क्रमित जनप्रतिनिधि महिलाको अनुभव

- Author, विमला चौधरी
- Role, बीबीसी न्यूज नेपाली, नेपालगञ्ज
कोरोनाभाइरस सङ्क्रमण हुनबाट जोगिन विभिन्न मुलुकबाट स्वदेश फर्किएकाहरूको सेवा गर्दागर्दै थुप्रै जनप्रतिनिधि महिलाहरू पनि सङ्क्रमित भएको बताइन्छ।
त्यस्तै मध्येकी एक हुन्, नेपालगञ्ज उपमहानगरपालिका-५ की वडा सदस्य मञ्जु वादी।
उनी आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएकै अवस्थामा पनि सङ्क्रमितको सेवामा लागेको बताउँछिन्।
गत साउन २२ गते सङ्क्रमित भएर सामुदायिक आइसोलेशनमा दुई हप्ता बस्दा समेत अन्य सङ्क्रमितको सेवा गरेको र उनीहरूको समस्या स्वाथ्यकर्मी समक्ष पुर्याउने काम गरेको उनले बताइन्।
तीतो अनुभव
आफूसँगै आइसोलेशनमा बसेकी एक ११ वर्षीय बालिकालाई शौचालय जाँदा पानी लगिदिने, सफा गरिदिने, राति ज्वरो आउँदा स्वाथ्यकर्मीसँग औषधि मागेर खुवाउनेलगायत बालिकाको आमा जस्तै भूमिका निर्वाह गरेको उनले बताइन्।
परिवारमा उनीसँगै छोरा र बुहारी पनि सङ्क्रमित भएपछि ४ वर्षकी नातिनीलाई हेरचाह गर्ने मान्छे नपाउँदा १४ दिनसम्म आफैसँग राखेको तीतो अनुभव उनीसँग छ।
उनले भनिन्, "सङ्क्रमित नहुँदासम्म भारतलगायत विभिन्न मुलुकबाट स्वदेश फर्काइएकाहरूको उद्धार र व्यवस्थापनमा सघाउनुका साथै बिरामीकै सेवामा खटेँ, डाक्टरलाई भनेर कतिपय आर्थिक अवस्था कमजोर भएकालाई नि:शुल्क उपचार गर्ने व्यवस्था पनि मिलाएँ तर आफू सङ्क्रमित हुँदा आफन्तकै साथ र सहयोग पाउन सकिन।'
नातिनीसहित आइसोलेशनमा बस्दा धेरै सावधानी अपनाएको र सङ्क्रमण हुनबाट जोगाउन सफल भएको उनले बताइन्।

सङ्क्रमित हुँदा आफन्तसँगै स्वाथ्यकर्मीबाट पनि तिरस्कार खेपेको मञ्जु बताउँछिन्।
"एकछिन कोठा बाहिर निस्किँदा पनि स्वाथ्यकर्मीले हकारेर भित्र पठाउने गर्दथे, अहिले पनि भन्ने मात्रै हो, सङ्क्रमितलाई त कुनै अपराध गरेकै जस्तो व्यवहार गर्ने गर्छन्।"
मञ्जु जस्तै बाँकेको राप्ती सोनारी गाउँपलिकाकी उपध्यक्ष धनीकुमारी खत्री पनि लकडाउन अवधिभर पूर्व पश्चिम राजमार्गमा अलपत्र परेकाहरूको उद्धारमा निरन्तर खटेको बताउँछिन्।
कोरोनाभाइरसको महामारीका कारण रोजगारी गुमेपछि काठमाण्डू, पोखरा लगायतका शहरबाट पैदल घर फर्किने पश्चिम नेपालका मजदुरहरूलाई सङ्क्रमणको जोखिम मोलेर आफ्नै गाडी एवम् कतिपयलाई ट्रयाक्टर र ट्रकको व्यवस्था गरेर गन्तव्यसम्म पुर्याउने खत्रीको दिनचर्या थियो।
चैतदेखि करिब आठ महिनासम्म क्वारन्टीन, आइसोलेशन व्यवस्थापनसँगै राहत वितरणमा पनि सक्रिय रूपमा लागि परेको खत्रीको भनाइ छ।
यसै क्रममा उपाध्यक्ष खत्री कात्तिक अन्तिम सातातिर आफै सङ्क्रमित भइन्।
अनुशासित जीवनशैली
"सुरुवाती चरणमा सबैलाई कोरोनाभाइरसको डर त्रास थियो, त्यही समयमा जनताकै सेवामा रात दिन खटिँदा पनि सङ्क्रमित भइएन," उनले भनिन्, "अब त कोरोनाले छुन्न कि भन्ने विश्वास थियो तर कहाँबाट सङ्क्रमित भएँ थाहै भएन।"
आफूसँगै छोरी, नाति र नातिनीसहित परिवारमा एकै साथ ४ जना सङ्क्रमित हुँदा मनमा त्रास पैदा भए पनि आत्मबल बलियो बनाउनुका साथै परिवार र आफन्तको हौसलाले स्वाथ्यमा कुनै असर गरेको महसुस नभएको खत्रीको भनाइ छ।
सङ्क्रमित भए पनि कोरोनाभाइरसको कुनै लक्षण नदेखिएकाले चारै जना होम आइसोलेशनमा बसेर सङ्क्रमणमुक्त भएको खत्रीले बताइन्।
सङ्क्रमित भएपछि राज्यले लक्षण नदेखिएका सङ्क्रमितलाई पहिले देखि नै होम आइसोलेशनमा बस्ने व्यवस्था गरेको भए सरकारी बजेट खेर जाने थिएन भन्ने उनको भनाइ छ।
उनी भन्छिन्, "यस अघि क्वारन्टीनमा बस्नेहरूलाई बुरुस मन्जनदेखि लिएर छुट्टै चप्पलको समेत व्यवस्था गर्यौँ, अहिले गरिब तथा विपन्नहरूले उपचार सेवा पाउन नसक्ने अवस्था भइसक्यो।"
नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले कोरोनाभाइरस सङ्क्रमणपछि अनुशासित जीवनशैली सिकेको बताउँछिन्।
सङ्क्रमणमुक्त भइसकेपछि अहिले बिहान बेलुका समयमा खाना खाने, कार्यालयबाट आएर केहीबेर आराम गर्ने गरेको थापा बताउँछिन्।
यसअघि करिव ७ महिनासम्म भारतबाट फर्किएका नेपालीहरूको उद्धार, खाना तथा क्वारन्टीनको व्यवस्थापनमा निरन्तर खटेर समयमा खाना तथा आराम गर्न नपाएर कोरोनाभाइरसको सङ्क्रमणले छोएको हुन सक्ने उनी ठान्छिन्।
उनी भन्छिन्, "शरीर स्वस्थ र बलियो हुँदासम्म जोखिमको कुनै परवाह नगरी रात दिन क्वारन्टीनमा बसेकाहरूको सेवा मै लागेँ, समयमा खानपान र आराम नभएपछि शरीर त्यसै कमजोर हुँदै गएका कारण लक्षण सहितको कोरोनाभाइरस सङ्क्रमण देखियो, खोकी र ज्वरो त छँदै थियो शरीर दुखेर बसेरै तीन रात कटाएँ।"
घरमा दुई बहिनी सँगै सङ्क्रमित भएपछि एक अर्काको सहयोगी बनेर होम आइसोलेशन बसेको थापाले बताइन्।
हौसला र माया अवश्यक
अफू भन्दा पनि दिदीलाई उच्च ज्वरो र सास फेर्न गाह्रो भएको देखेर मन साह्रै आत्तिने गरेको तर दिदीलाई केही हुँदैन भनेर सान्त्वना दिने गरेको थापा बताउँछिन्।
यस्तो अवस्थामा सङ्क्रमितलाई तिरस्कारभन्दा पनि हौसला र मायाको अति अवश्यकता महसुस भएको उनको अनुभव छ।
थापा भन्छिन्, "सङ्क्रमित व्यक्ति होम आइसोलेशन बस्दा उसलाई कोठामा थुनेर होइन, उसलाई पटकपटक पौष्टिक आहार दिनुका साथै घर परिवारले माया मोह देखाएर हरेक कुराको ख्याल गर्नुपर्ने हुन्छ।"
नेपालगञ्ज उपमहागरपालिकामा मात्रै हालसम्म करिब आधा दर्जन महिला जनप्रतिनिधि कोरोनाभाइरसबाट सङ्क्रमित भइ निको भएर काममा फर्किसकेको बताउँदै उपमेयर थापाले कोरोनाभाइरसको सङ्क्रमणबाटै एकजना महिला वडा सदस्यको निधन भएको जानकारी दिइन्।

लुम्बिनी प्रदेश सांसद कृष्णा केसीले पनि कोरोनाभाइरसलाई सामान्य रूपमा नलिन आग्रह गर्छिन्।
लक्षणसहित गत साउन अन्तिम साता सङ्क्रमित भएर मुक्त भएकी केसीले कमजोर शारीरिक अवस्था भएका व्यक्तिले कोरोनाभाइरसलाई सजिलै पराजित गर्न गाह्रो हुँदोरहेछ भन्ने महसुस भएको बताउँछिन्।
"यो भाइरसले यति गलाउँदो रहेछ, सबै तागत हराइ सकेको जस्तो लाग्छ, यस्तो अवस्थामा कतिपयको पौष्टिक आहारकै कमीले ज्यान जान सक्छ, पौष्टिक आहारमा सबैको पहुँच नहुन पनि सक्छ," उनी भन्छिन्, "कोरोनाभाइरसलाई कसैले लापरबाही नगरौँ।"
सङ्क्रमणपछि पनि शारीरिक र मानसिक रूपमा सामान्य अवस्थामा आउन महिनौँ दिन लागेको उनको अनुभव छ।
सुरुवाती चरणमा कोरोनाभाइरसको केन्द्रविन्दु बनेको नरैनापुर गाउँपालिकामा विद्युत र स्वास्थ्य सेवा विस्तारको पहलमा जुटेकी सांसद केसी आफै सङ्क्रमित भएकी थिइन्।
कोरोनाभाइरसको महामारी फैलिएपछि जहाँ बसे पनि सङ्क्रमण हुनसक्ने अवस्था आएपछि जिल्लामै रहेर आफ्नो निर्वाचन क्षेत्रका स्थानीयवासीको सेवामा खटेको केसीको भनाइ छ।
सांसद केसी भन्छिन्, "कोरोनाभाइरस यसलाई लाग्यो भनेर अर्को ढङ्गले बुझ्नु गलत हो, यो जसलाई पनि लाग्न सक्छ तर यसको सङ्क्रमणबाट बच्न सबैले सावधानी अपनाउन जरुरी छ।"










