कोभिड खोपः भ्रम निवारण गर्ने प्रयास - माइक्रोचिप्स, डीएनए परिवर्तन र अन्य मिथ्या दाबी

तस्बिर स्रोत, Getty Images
- Author, फ्लोरा कार्माइकल र ज्याक गुडम्यान
- Role, बीबीसी रीयालिटी चेक
हामीले कोरोनाभाइरसविरुद्धका खोपबारे निकै धेरै शेअर गरिएका केही मिथ्या दाबीको परीक्षण गरेका छौँ।
तिनमा खोपको नाममा आनुवंशिक कोड परिवर्तन गर्न लागिएको कुरादेखि मानिसहरूमा माइक्रोचिप्स हाल्न लागिएको दाबीसम्म छन्।
'डीएनए परिवर्तन'का दाबी
सामाजिक सञ्जालमा बारम्बार देखिने एउटा झुट चाहिँ खोपले कुनै न कुनै रूपमा तपाईँको डीएनए परिवर्तन गरिदिन्छ भन्ने छ।
बीबीसीले तीनजना स्वतन्त्र वैज्ञानिकहरूलाई यसबारे सोधेको छ। उनीहरूले कोरोनाभाइरस खोपले मानव डीएनए परिवर्तन नगर्ने बताए।
अहिले विकास गरिएका केही नयाँ खोपमा - हालै यूकेले स्वीकृति दिएको फाइजर/बायोएनटेकको खोपसहित - भाइरसको आनुवंशिक कण वा मेसिन्जर आरएनए प्रयोग गरिएको हुन्छ।
"मानिसको शरीरमा आरएनए पठाउँदा त्यसले मानव डीएनएमा केही असर गर्दैन," अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक जेफ्रे आल्मन्डले बताए।
यसले शरीरलाई कोरोनाभाइरसको सतहमा हुने जस्तै प्रोटीन बनाउन लगाउँछ। त्यसपछि मानिसको प्रतिरोध प्रणालीले त्यस्ता प्रोटीनलाई चिन्छ र तिनलाई नाश गर्ने एन्टिबडी बनाउँछ।

कोरोनाभाइरस खोपले डीएनए परिवर्तन गर्छ भन्ने दाबीबारे हामीले गत मे महिनामै छानबिन गरेका थियौँ। त्यतिखेर एउटा भिडिओमा त्यस्तो दाबी गरिएको थियो।
एमआरएनए प्रविधिको खोप पहिले कहिल्यै परीक्षण वा स्वीकृत नगरिएका चर्चा चलेका छन्।
यो साँचो हो कि एमआरएनए खोप यसअघि स्वीकृत भएको थिएन। तर यो विधिबारेका अनुसन्धान गत केही वर्षदेखि नै हुनथालेका थिए।
अनि महामारी भएपछि त यसको परीक्षण हजारौँ मानिसमा गरिसकिएको छ।
सबै नयाँ खोपजस्तै कोभिडका खोपहरू पनि विभिन्न चरणमा परीक्षण गरिएको छ।
पहिलो र दोस्रो चरणमा थोरै सङ्ख्याका मानिसमा यो कत्तिको सुरक्षित छ अनि कति मात्रा उपयुक्त हुन्छ भनेर परीक्षण गरिन्छ।
तेस्रो चरणमा हजारौँ मानिसमा यसको प्रभावकारिता जाँचिन्छ।
बिल गेट्स र माइक्रोचिपसम्बन्धी दाबी
अर्को हल्ला वा षड्यन्त्रको दाबी संसारभरि फैलिएको छ।
यो हल्लाले के भन्छ भने कोरोनाभाइरस महामारी एउटा गोप्य योजना हो जसको नाममा मानिसहरूलाई निगरानीमा राख्न सकिने माइक्रोचिप जडान गर्न खोजिँदैछ। यो सबै योजनाका पछाडि माइक्रोसफ्टका संस्थापक बिल गेट्स रहेको दाबी गरिएको छ।
तर यथार्थ के हो भने कुनै खोपमा 'माइक्रोचिप' छैन र बिल गेट्सले यस्तो योजना बनाइरहेको कुनै प्रमाण छैन।
बिल तथा मेलिन्डा गेट्स फाउन्डेशनले बीबीसीलाई यो हल्ला एकदमै असत्य भएको प्रतिक्रिया दिएको छ।

महामारीका बेला अर्बपति बिल गेट्सलाई जोडेर धेरै हल्ला फिँजिए।
उनले जनस्वास्थ्य तथा खोप विकासमा गरिरहेको परोपकारका कारण पनि उनी निसानामा परेका छन्।
भ्रूणको तन्तु प्रयोग भएको दाबी
खोपहरूमा गर्भपात गरिएको शिशुको भ्रूणको फोक्सोको तन्तु प्रयोग भएका हुन्छन् भन्ने हल्लाहरू पनि चलेका छन्। ती असत्य हुन्।
"कुनै पनि खोप विकासको कार्यमा भ्रूणका कोष प्रयोग हुँदैनन्," साउद्याम्पटन यूनिभर्सिटीका डा. माइकल हेडले बताए।

अक्सफर्ड र एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोपबारे खोपविरोधी फेसबुक पेजमा भिडिओ राखिएर त्यस्तो दाबी गरिएको थियो।
यसबारे अन्योल उत्पन्न हुनुको एउटा कारण चाहिँ सम्भवतः प्रयोगशालामा खोप निर्माण गर्दा त्यहीँ विकास गरिएका कोषको प्रयोग हुनु हो।
तर यो अनुसन्धानमा कुनै भ्रूणको प्रयोग भएका छैन।
त्यसमाथि खोप लगाउने बेलामा त्यस्ता कोषको कुनै अंश बाँकी भएको हुँदैन। अनि यी कोष पनि गर्भपात गरिएका शिशुका हुँदै हुँदैनन्।
निको हुने दरबारे गरिएको दाबी
यदि कोरोनाभाइरसबाट ज्यान जाने सम्भावना यति थोरै छ भने किन यसविरुद्ध खोप लगाउनुपर्यो भन्ने प्रश्न हामी सामाजिक सञ्जालमा बारम्बार देख्छौँ।
खोपका विरोधीहरूले शेअर गरेको एउटा मीममा कोरोनाभाइरस सङ्क्रमितमध्ये ९९.९७% निको हुन्छन् भने खोप लगाउनुभन्दा सङ्क्रमित हुनु नै सुरक्षित विकल्प हो भन्ने सन्देश दिइएको छ।

सुरुमा उक्त मीमले 'निको हुने दर' भनेर राखेको अङ्क अर्थात् जो सङ्क्रमित भईकन पनि बाँचे त्यो सही छैन।
अक्सफर्ड विश्वविद्यालयका वरिष्ठ तथ्याङ्कविद् जेसन ओक भन्छन्ः कोभिड लागेकामध्ये ९९% मानिस बाँच्छन्।
त्यसैले १०,००० मध्ये १०० जनाको ज्यान जान्छ - त्यो मीममा भनिएको १०,००० मध्ये ३ जनाभन्दा यो निकै धेरै हो।
ओक भन्छन्, "यसको जोखिम उमेरमा भर पर्छ। अनि यसले छोटो वा दीर्घकालमा पार्ने असर पनि छ।"
केवल बाँच्नुसँग यो सम्बन्धित छैन। कैयौँ मानिसहरूलाई सघन उपचारको खाँचो पर्छ अनि कैयौँ मानिस यसको दीर्घकालीन असर बेहोर्न बाध्य हुन्छन्।
यसले स्वास्थ्य सेवा प्रणाली कोभिडकै बिरामीहरूको चापमा पर्नेछ।
लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक लियाम स्मिथ खोप लगाउने कार्यलाई अरू मानिसको जीवनरक्षा गर्ने कार्य सरह समाजले लिनुपर्ने सुझाव दिन्छन्।
"यूकेमा महामारीको सबभन्दा खराब असर, जसका कारण लकडाउन पनि गरियो, भनेको यसले स्वास्थसेवा अकस्मात् बेहोर्न नसक्ने चापमा पर्ने अवस्था हो। अनि धेरै उमेरका अनि सहारा केन्द्रहरूमा बसिरहेका बिरामी मानिसहरू धेरै जोखिममा छन्। भाइरसले उनीहरूलाई गम्भीर बिरामी बनाइदिने सम्भावना पनि धेरै छ।"
क्रिस ब्राम्वेल, ओल्गा रबिन्सन तथा मारियाना स्प्रिङको थप रिपोर्टिङसहित










