भारतमा सत्तारूढ भारतीय जनता पार्टीको सफलताको रहस्य

नरेन्द्र मोदी

तस्बिर स्रोत, AFP

    • Author, सौतिक विश्वास
    • Role, भारत सम्वाददाता

भारतमा सन् २०१४ देखि सत्तामा रहेको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी बीजेपी त्यहाँको प्रभावशाली दल बनेको विषयमा दुईमत छैन।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बीजेपीले दुई आमनिर्वाचनमा निर्णायक बहुमत प्राप्त गरेको छ र केही प्रान्तहरूमा हारे पनि देशभरि दबदबा कायम राखेको छ।

प्रमुख प्रतिपक्षी कङ्ग्रेस आई किनारामा र अपहेलित छ, कुनै बेला शक्तिशाली क्षेत्रीय दलहरूले आफ्नो क्षमता समाप्त गरिसकेको देखिएको छ र मोदीलाई चुनौती दिनसक्ने नेता देखिएका छैनन्।

राजनीतिशास्त्री सुहास पाल्शीकर बीजेपीलाई भारतको दोस्रो प्रभावशाली दल भन्छन्। पहिलो आधा शताब्दी भारतलाई शासन गरेको इन्दिरा गान्धीको कङ्ग्रेस आई हो।

सन् १९८४ को निर्वाचनमा राजीव गान्धीको नेतृत्वमा कङ्ग्रेसले स्पष्ट बहुमत ल्याएयता भारतमा त्यस्तो विजय प्राप्त गर्ने बीजेपी पहिलो दल हो।

सन् १९८४ मा हत्या गरिएकी इन्दिरा गान्धीपछि मोदी नै 'देशभरि जनसमर्थन जुटाउन सक्ने एक मात्र नेताका रूपमा' उदाएका छन्।

बीजेपीको सफलताको लागि मोदीको व्यक्तित्वको ओज एवम् धार्मिक ध्रुवीकरण र कट्टर राष्ट्रवादको राजनीतिलाई कारक मानिन्छ।

यसको अभियानलाई यसको वैचारिक मार्गदर्शक राष्ट्रिय स्वयम्‌सेवक सङ्घ आरएसएस वा राजनीतिशास्त्रीहरूले आरएसएस 'धूर्त र लडाकू बन्धु'को रूपमा व्याख्या गर्ने विश्व हिन्दू परिषद्‍का पैदल कार्यकर्ता सम्मिलित बीजेपीको कार्यकर्ताहरूको विशाल सञ्जालले शक्ति दिन्छ।

हालैका वर्षमा भने बीजेपीले उदार र अपारदर्शी दान एवम् आलोचना नगर्ने मूलधारका मिडियाको फराकिलो तहको साथ पाएको छ।

तर राजनीतिशास्त्री विनय सीतापतिले आफ्नो नयाँ पुस्तक 'जुगलबन्दी: द बीजेपी बिफोर मोदी'मा सो दल र आरएसएसको सफलताको रहस्य 'एकतामा दिइएको अटुट ध्यान'मा हुनसक्ने बताएका छन्।

उनको पुस्तकमा बीजेपीका दुई संस्थापक अटलबिहारी बाजपेजी र लालकृष्ण अडवानीको सम्बन्धसँग जोडिएको छ।

बाजपेयी र आडवानी

तस्बिर स्रोत, AFP

हिन्दू राष्ट्रवादको जगमा ९५ वर्षदेखि उभिएको आरएसएसका कार्यकर्तालाई सानो उमेरदेखि नै हिन्दू इतिहासको एउटा विशेष संस्करण पढाइन्छ।

सो शिक्षामा "हिन्दूहरू एकताबद्ध नभएर एकअर्कालाई धोका दिएका कारण हारेको पाठ छ," अशोका विश्वविद्यालयका राजनीति शास्त्र र कानुनका प्राध्यापक सीतापति भन्छन्।

यो पाठ र अन्य कुराहरू इतिहासका छानिएका कुराहरू र 'अभ्यास मात्रै नभनेर सामूहिक रूपमा गरिने अभ्यास' भनिने शारीरिक अभ्यासमार्फत् बारम्बार सम्झाइन्छ। कार्यकर्ताहरूलाई सँगै हिँड्न, एकअर्कामा उभिएर अग्लो आकृति बन्न र टोली निर्माणका खेलहरू खेल्न सिकाइन्छ।

"यी सबै कुरा एकताको महत्त्व दर्शाउन गरिएका हुन्। यो एकताको भाव संस्थागत संहिता बनेको छ। यस्तो अन्य कार्यकर्तामा आधारित दलमा हुँदैन," सीतापति भन्छन्।

बीजेपीले भारतको जनसङ्ख्याको ८० प्रतिशत हिस्सा ओगट्ने हिन्दूहरूलाई एकताबद्ध गर्ने र एक भएर मत दिने बनाउने लक्ष्य राखेको छ। त्यसलै यसले हिन्दूलाई परम्परागत रूपमा विभाजन गर्ने र कतिपय राजनीतिक आस्थाको आधार बन्ने जातलाई महत्त्व दिँदैन, 'मुस्लिमहरूसँगको डरको आवाजलाई तीखो पार्छ' र पुरातन हिन्दू ग्रन्थहरूलाई महत्त्वपूर्ण मान्छ, प्राध्यापक सीतापति भन्छन्।

अन्य दलजस्तै बीजेपीलाई पनि असहज परिस्थिति थियो। चार दशक लामो राजनीतिक इतिहासमा १२ वर्ष मात्रै यो सत्तामा रहेको छ। सत्ताबाहिर रहनुको अर्थ कार्यकर्तालाई लामो समयसम्म अभिभावकत्व दिन असहज हुनु पनि हो।

अमित शाह र नरेन्द्र मोदी

तस्बिर स्रोत, Getty Images

अटलबिहारी बाजपेजी र लालकृष्ण अडवानीबीचको सम्बन्ध पनि स्थिर थिएन। सन् २००२ को गुजरात हिंसापछि अडवानीको संरक्षकत्वमा मोदी गुजरातको मुख्यमन्त्री रहिरहको विषयमा बाजपेयी र उनका मन्त्रिमण्डलका केही सदस्यहरू खुशी नभएको कुरा जगजाहेर छ।

मुस्लिम लक्षित सो हिंसा हिन्दू तीर्थयात्री बोकेको रेलमा आगलागी भएर ६० जनाको मृत्यु भएपछि शुरू भएको थियो। तर यति हुँदाहुँदै पनि बीजेपी एक रहिरह्यो।

"कहिलेकाँही उनीहरू एउटै घरमा बसेको असन्तुष्ट परिवारजस्तो बनेका छन्। तर उनीहरूको एकता प्रतिको मोह भारतीय समाजको कमजोरीको बुझाइमा आधारित हो," सीतापतिले भने।

राजनीतिक दलहरू फरक स्वार्थ र गुटको समूह हो जसलाई प्रभावशाली नेता, सिद्धान्त, संस्थागत शक्ति र भारतको उदाहरणमा जातको कुराले एकताबद्ध राख्छ। फरक मत र आन्तरिक सङ्घर्ष सामान्य कुरा हुन्। भारतमा दलहरू नेताका स्वार्थ र गुटगत कारणले फुटेका छन्। कङ्ग्रेसबाट फुटेका नेताहरूले सफल प्रान्तीय दल बनाएका छन्।

अहिलेसम्म बीजेपीमा त्यस्तो भएको छैन।

बीजेपी

तस्बिर स्रोत, Getty Images

शुरूमा बाजपेजी र अडवानीको नेतृत्वमा एवम् अहिले मोदी र गृहमन्त्री अमित शाहको नेतृत्वमा आरएसएसको समर्थनमा एकताबद्ध रहेको छ।

"मैले धेरे बीजेपीका नेताले मोदी मन पराउँदैनन् भनेँ भने त्यो अनौठो कुरा हुँदैन। बीजेपी, आरएसएस र परिषद्‌का धेरै नेताले मलाई मोदीको सिद्धान्तप्रतिको प्रतिबद्धता र निर्वाचन जित्ने क्षमताको प्रशंसक छन्। तर धेरैले उनलाई निर्दयी, आत्ममुग्ध र पृथक व्यक्तिको रूपमा हेर्छन्," प्राध्यापक सीतापति भन्छन्।

राजनीतिशास्त्री मिलन वैष्णवको विचारमा अनौठो दल हुनुले बीजेपीलाई फाइदा गरेको छ।

आरएसएस

तस्बिर स्रोत, Getty Images

"यो हिन्दू राष्ट्रवादी सङ्गठनहरूको समूहको राजनीतिक अङ्ग हो। यो समूहबाट राजनीति अङ्गलाई र यसबाट राजनीतिक उद्देश्य कम बोकेका अङ्गलाई अलग गर्नु धेरै गार्‍हो छ। यो सञ्जालका कारण बीजेपीले साना संस्थाबाट शक्ति प्राप्त गर्छ र यसको घना सञ्जालले व्यक्तिलाई त्यहि राखिराख्न मद्दत गर्छ," प्राध्यापक वैष्णवले बता

बीजेपीबाट असन्तुष्ट नछुट्टिएका होइनन्। "अनौठो कुरा के छ भने छुट्टिएका जानेहरू राजनीतिमा बाँच्न सक्दैनन् र फर्कन्छन्। यसको कारण बीजेपी गहन रूपमा सिद्धान्तमा आधारित दल भएको र त्यही सिद्धान्तले गमले झैँ टाँस्ने भएर पनि हुनसक्छ," राजनीतिशास्ञी राहुल वर्मा भन्छन्।

बीजेपी सधैँ एकताबद्ध रहन्छ भन्नु अनुमान बाहिरको कुरा हो। त्यहाँ अन्य दलमा बदनाम भएका नेताहरूलाई पनि ढोका खुला छ। यसले सैद्धान्तिक शुद्धता विरुद्धको कुरा हो।

"यो परस्परविरोधी कुराबीच एकता कहिलेसम्म रहन्छ होला?" प्राध्यापक वर्मा सोध्छन्।

दल विजयको बाटोमा रहेसम्म त पक्कै रहन्छ।

त्यसैले निर्वाचन बीजेपीको अस्तित्वका लागि महत्त्वपूर्ण छ। वर्माको विचारमा बीजेपीको सामाजिक आधार बढिरहे पनि नेतृत्वमा उपल्लो जातकै प्रभाव छ। भविष्यमा दलले असहज परिस्थितिको सामना गर्नसक्ने कुरा यो पनि हुनसक्छ।

आलोचकहरू बीजेपीको बहुमतको राजनीतिले सहिष्णु र धर्मनिरपेक्ष 'भारतको अवधारणा' परिवर्तन गरिरहेको मान्छन्। "उनीहरूको भारतको अवधारणाले जितेको छ," प्राध्यापक सीतापति भन्छन्। "किनभने उनीहरू एकताबद्ध भएर रहे।"