दृष्टि गुमाउँदै गएकी एक महिलाको कथा: ‘मेरो दृष्टि फोकस हराएको क्यामेराको जस्तै’

तस्बिर स्रोत, Williams family
जब १२ वर्षको उमेरमा एलिन विलियम्सलाई गम्भीर दृष्टिविहीनता भएको भनेर दर्ता गरियो त्यतिखेर उनले आफूजस्तै अवस्थामा रहेका अन्य किशोरकिशोरीबारे सोधखोज गरिन्।
उनले धेरै आँकडाहरू तथा मेडिकल रिपोर्टहरू भेट्टाइन् तर आफ्नो जस्तै कथा भएको अरू भेट्टाउन गाह्रो भयो।
यी २२ वर्षीय लेखिका तथा अपाङ्गता भएकाहरूको आवाज उठाउने महिला बीबीसी १०० विमिनको सूचीमा परेकी छन्।
उनले आफूले कसरी ब्लग लेख्न थालेको भनेर बताएकी छन् जसले गर्दा अरू मानिसलाई पनि दृष्टिविहीनतासँग जुझ्न मद्दत गर्नुका साथै आफ्नै 'जीउने सहारा' समेत बन्न पुग्यो।
के भन्छिन् विलियम्स?
मेरो आँखाको दृष्टि निरन्तर फोकस हराइरहेको कुनै क्यामेराको जस्तो छ।
त्यो फोकस हरेक दिन झन् खराब हुँदै गइरहेको छ। यस्तो लाग्छ क्यामेराको सटर बिस्तारै बन्द हुँदैछ। जसले गर्दा छविको वरपर अँध्यारो छायाँले छोप्दै लान्छ।
रेटिनाइटिस पिग्मेन्टोसा आरपी भनिने बिस्तारै बिग्रँदै जाने अवस्थाका कारण म दृष्टिविहीन छु। म छ वर्षको हुँदा मलाई यो रोग लागेको थाहा भयो।
पाँच वर्ष अगाडिदेखि मैले मेरो धमिलो संसार शीर्षकमा ब्लग लेख्न थालेँ। यसबीचमा मैले दृष्टि हराउनुको भावनात्मक प्रभाव देखि लिएर आफू स्वयंको आत्मविश्वास अनि सौन्दर्य तथा फ्याशन उद्योगमा पहुँच तथा समावेशीताका विषयमा लेखिसकेको छु।
अनि मेरा रमाइला 'अन्धी केटीका क्षण' पनि मैले छुटाएको छैन जसमा विभिन्न घटनाहरू जस्तो मेरो छडीका कारण भएका घटनाहरू अनि ओठमा लिपग्लस भन्ठानेर कन्सीलर लगाएको घटना पर्छन्।
मैले यी विषयहरू रोजेँ किनकि मलाई लाग्छ म हुर्कँदै गर्दा मैले यस्तो विषयमा पढ्न पाएको भए राम्रो हुने थियो। त्यसले मलाई एक्लै छुइनँ भन्ने बोध गराउँथ्यो।
अहिले म जति खुला रूपमा आफ्ना भावनाहरू लेख्छु पहिले त्यस्तो थिएन। विगतमा म त्यति आत्मविश्वासी थिइनँ।
सुन्दा नाटकीय लाग्न सक्छ तर लेख्नु नै मेरा निम्ति 'जिउनले सहारा' बन्न पुग्यो जसले मलाई थप खुला हुन प्रेरणा दियो।
यसरी आफूलाई खुला रूपमा व्यक्त गर्न पाउनु अगाडि म एकदमै लजालु थिएँ र मेरा दैनिक क्रियाकलापमा आत्मविश्वासको एकदमै कमी थियो।

तस्बिर स्रोत, Williams family
अरूसँग 'मिल्ने' कोशिश
मेरो बाल्यकाल अनिश्चयपूर्ण थियो। आफूलाई पटक्कै थाहा नभएको अवस्थाले मलाई गाँजेको थियो।
जब मेरो रोग पहिले पत्ता लाग्यो मलाई अरू मानिसले पनि यस्तै धमिलो देख्दैनन् भन्ने बुझ्न नै कठिन भयो।
आफ्नो दैनिक जीवनमा अरूको सहारा आवश्यक पर्दा रिस उठ्थ्यो।
अरूसँग 'मिल्ने' कोशिशमा मैले सकेसम्म मेरो कमजोरी लुकाउन वा ढाकछोप गर्न खोज्थेँ। मैले विभिन्न कुरा सिकेँ। ब्रेल लिपी सिकेँ। मन नपरेपनि यस्ता कुरा सिक्न थालेँ।
किशोर उमेरमा मलाई फ्याशनमा रुचि थियो। मलाई साधारण जिन्स वा हुडी मात्र लगाउनुभन्दा अलि सिर्जनात्मक ढङ्गले पोशाक लगाएर बाहिर निस्कन मन पर्थ्यो।
म यस मामिलामा पहिलो त पक्कै होइन तर आफ्नो पोशाकमा पछिल्ला स्टाइल मिसाउन खोज्थेँ।
फ्याशन भनेको हेर्ने वा देख्ने विषयसँग जोडिन्छ तर मेरो लागि यो त अझ गहिरो थियो। मैले त कुनै चीज कस्तो देखिन्छ भनेर होइन कि त्यसको अदृश्य पाटोलाई बढी ध्यान दिन्थेँ।

तस्बिर स्रोत, Williams family
फ्रेन्चमा ब्रेल सिक्दै
मेरो जीसीएसई परीक्षाको समयमा मेरो दृष्टि निकै धेरै खराब हुन थाल्यो। अनि म एकदमै चिन्तित भएँ।
मैले ठूला अक्षर पनि देख्न सकिनँ जसको अर्थ मैले परीक्षा ब्रेल लिपीको माध्यमबाट दिनु पर्ने हुन्थ्यो।
त्यसले ममाथि झनै चाप पर्यो। अङ्ग्रेजी तथा वेल्सका ब्रेल लिपी मैले सिकिसकेको थिएँ। अब मैले फ्रेन्च ब्रेल लिपी पनि सिक्न थालेँ।
तर अन्त्य मैले राम्रो अङ्क ल्याउन सकेँ। त्यो एउटा महत्त्वपूर्ण क्षण थियो। अचानक सफलता सम्भव भयो।
सोही समयमा दृष्टि खराब हुँदै गएकोले म चिन्तित अनि क्रुद्ध थिएँ। मैले यी भावनालाई लेखनमा ढाल्न थालेँ र त्यो नै ब्लगमा परिणत भयो।

तस्बिर स्रोत, Williams family
मेरो व्यक्तित्व फराकिलो छ
मलाई थाहा थिएन मैले लेखेका कुरा कसैले पढ्ला भनेर। तर यसो सम्झन्छु विगतमा जब म यस्तै विषय इन्टरनेटमा पाइन्छ कि भनेर कति खोज्थेँ। मजस्तै अरूलाई म ढाडस दिन चाहन्थेँ।
मैले धेरै कुरा लेखेको छु। तर मैले इमानदारीपूर्ण लेखेका विषय नै मलाई मन पर्छन्। गत वर्ष मैलै यो दृष्टिपूर्ण संसारमा दृष्टिविहीनहरू कसरी हराउँछन् भन्ने बारे लेखेकी थिएँ। त्यसमा मैले आफ्ना गहिरा वेदना साटेको थिएँ।
फ्याशनबारे जानकारीहरू लेख्न पनि रमाइलो हुन्छ। यसले मलाई मेरा अरू रुचिमा पनि ध्यान दिन सघाउँछ। दृष्टिविहीनता मेरो जीवनको एउटा पाटो त हो तर मेरो व्यक्तित्व योभन्दा फराकिलो छ।
मैले ब्लग लेख्न थाल्दा यति धेरै मानिसले पढ्नेछन्, अरूलाई शेअर गर्नेछन् अनि टिप्पणी गर्नेछन् भनेर मैले कल्पना गरेको थिइनँ। तर मैले प्राप्त गरेका प्रतिक्रियाले मलाई थप प्रेरणा मिलेको छ।
मेरो बाल्यकाललाई सन्देश
मैले मेरो बाल्यकालमा फर्केर आफूलाई कुनै कुरा भन्न पाउँदो हुँ त मैले दृष्टिविहीनताले तिमीलाई रोक्न सक्दैन भन्ने थिएँ। सही छनोट र समर्थन भयो भने सफलता हात लाग्छ।
कुनै अपाङ्गताले लक्ष्य र महत्त्वाकाङ्क्षा घट्दैन। यी दुवै भिन्न हुन्। मेरो दृष्टि खराब हुँदै गएको छ होला तर मेरो दृढता र लगन घट्ने छैन।
मैले चाहेको कुरा हासिल गर्नका निम्ति मैले संसार देख्नु जरुरी छैन।
अपाङ्गता भएका मानिसहरू सबभन्दा पहिले मानिस हुन् भनेर बुझ्नुपर्छ। हाम्रा अपाङ्गता हाम्रो जीवनको केवल एउटा पाटो हो। हामीसँग पनि अरूजस्तै रुचि, लक्ष्य अनि महत्त्वाकाङ्क्षा हुन्छन्।
म मेरो काम जारी राख्ने आशा गर्दछु ताकि अरू यस्तै अवस्थामा रहेकाहरूमा जनचेतना जगाउन र मद्दत गर्न सकुँ। लेखनले मेरो जीवनको एउटा विशेष हिस्सा ओगटेको प्रस्ट छ। यसलाई पूर्ण पेशामा बदल्न चाहन्छु।
यो यात्रा निकै चुनौतीपूर्ण छ तर मेरो अनुभवमा चुनौती भनेको पार पाउनका निम्ति नै खडा भएका हुन्छन्।
बीबीसी १०० विमिनले हरेक वर्ष १०० जना प्रभावशाली तथा प्रेरक महिला चयन गर्छ र उनीहरूको कथा सुनाउँछ। हामीलाई फेसबुक, इन्स्टाग्राम वा ट्वीटरमा पनि #BBC100Women प्रयोग गरेर फेला पार्न सक्नुहुन्छ।










