अमेरिकी निर्वाचन २०२०: ट्रम्पद्वारा 'ह्वाइट हाउस छाड्ने जनाउ'

ट्रम्प

तस्बिर स्रोत, Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा आफूले ह्वाइट हाउस छाड्ने घोषणा गरेका छन्।

तर उनले आफ्नो पराजय अझै स्वीकार गरिसकेका छैनन्। यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा सहमति जनाएका थिए।

राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगे जस्तो देखिन्छ।

उनले भनेका छन्, यदि बाइडनले जितेको कुरा इलेक्टरल कलेजले पुष्टि गरेमा उनी ह्वाइट हाउसबाट बाहिरिने छन्।

इलेक्टरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ।

तर ट्र्म्पले सिधै पराजय स्वीकार गरिसकेका छैनन्। उनले प्रमाण प्रस्तुत नगरेरै मतदानमा धाँधली भएको दाबी दोहर्‍याइरहेका छन्।

यसअघि उनले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुने कुरामा सहमति जनाएका थिए।

बाइडन

तस्बिर स्रोत, Getty Images

त्यस कामको जिम्मेवारी रहने सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) ले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु पनि गरिसकेको छ।

बाइडनले त्यसको स्वागत गरेका छन्।

उनलाई राष्ट्रिय सुरक्षाका दैनिक जानकारी दिन थालिएको छ भने राष्ट्रपति निर्वाचित र उनको समूहले पाउने बजेट र साधन स्रोतहरू उपलब्ध गराइएको छ।

बाइडनले आफ्नो नेतृत्वको सरकार र प्रमुख निकायहरूमा मुख्य जिम्मेवारी दिइने केही व्यक्तिहरूको नाम पनि सार्वजनिक गरिसकेका छन्।

ट्रम्पले सिनेटको दोस्रो चरणको प्रतिस्पर्धामा रहेका दुईजना रिपब्लिकनको पक्षमा जोर्जिया राज्यमा शनिवार र्‍याली आयोजना गर्ने जनाए।

उनीहरूको जीतले माथिल्लो सदनमा रिपब्लिकनको पकड सुदृढ गर्नेछ जसले तल्लो सदनमा जो बाइडनको प्रभावमाथि दबाव सिर्जना गर्न सक्छ।