फुटबल: बाङ्ग्लादेशसँग मैत्रीपूर्ण खेलमा किन हार्‍यो नेपाल?

फुटबल

तस्बिर स्रोत, ANFA

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

नेपाली फुटबल टोलीको बाङ्ग्लादेश यात्रा सुख र दुखको संयोग बन्न पुगेको छ।

यो यात्राले एकातिर कोरोनाभाइरस सङ्क्रमणले रोकिएको नेपाली खेलकुद क्षेत्रको गियर परिवर्तन गर्ने काम गर्‍यो, जुन खेल क्षेत्रको लागि आशाको ठूलो कारण बनेको छ।

अर्कोतर्फ यसले फुटबलको कमजोरीका थुप्रै पाटाहरू पनि देखाएको छ।

खेलाडीको गोल क्षमताको अभाव फेरि पनि दोहोरिएको देखियो भने टिम संरचनाबारे पनि कतिपयले प्रश्न गरे।

समग्रमा यसले विश्वकप छनोट अगाडि राष्ट्रिय टोलीको कमजोरी केलाउने मौका दिएको बताइएको छ।

सन्देश

दुई खेलको यो मैत्रीपूर्ण श्रृङ्खला यस्तो खेल थियो, जुन खेल्नु अगाडि नै दुवै देशले जितिसकेका थिए। बाँकी थियो त केवल नतिजाको प्राविधिक परीक्षा मात्रै।

कोरोनाभाइरस सङ्क्रमणका कारण आठ महिनादेखि बन्द रहेको नेपाली खेलकुद क्षेत्रमा सरकारले फुटबललाई अन्तर्राष्ट्रिय भ्रमण गर्न स्विकृती दिनु खेल क्षेत्र खुल्ने 'ब्रेक थ्रु' जस्तै मानियो। कोरोना कहरमा बाङ्ग्लादेश पनि मैत्री फुटबलमार्फत् सक्रिय हुने मौका पायो।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, "यो फुटबल मात्र होइन, समग्र मै नेपाली खेलकुद क्षेत्र खोल्दै लानुको सङ्केत थियो ।"

अन्तत: भयो पनि उस्तै। फुटबल टोली बाङ्लादेशको यात्रा पूरा गरेर फर्किनु अगाडि नै सरकारले खेलकुद क्षेत्र निश्चित मापदण्डका माझ खोल्न सकिने गरी फुकुवा गरिदिएको छ।

नेपाल

तस्बिर स्रोत, ANFA

प्रदर्शन

अब प्रदर्शनको कुरा गरौँ। दुई खेलको श्रृङ्खलामा नेपालले एक हार र एक बराबरी गर्‍यो।

सात महिना प्रशिक्षण लिन नपाउँदा टोलीमा फिटनेशको समस्या थियो नै, त्यसैमा सातजना खेलाडीमा कोरोनाभाइरस सङ्क्रमण देखिनु र केही खेलाडीले चोट बोक्दा टोली शुरू मै कमजोर बन्न पुगेको थियो।

त्यस विपरीत नियमित प्रशिक्षण पाएको अनि कुनैपनि खेलाडीमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएकोले बाङ्लादेशको टोली नेपालको दाँजोमा बलियो मानिएको थियो। त्यसमाथि उनीहरूलाई घरेलु मैदान र घरेलु दर्शकको साथ त थियो नै।

यस्तोमा ढाकामा नेपालको नतिजा चाहेजस्तो हुन सकेन। पहिलो खेल ० का विरुद्ध २ गोलले नेपाल हार्‍यो। दोस्रो खेल भने गोलरहित बराबरीमा टुङ्गियो।

पहिलो खेलको हारमा 'प्लेइङ ११' छान्न केही कमजोरी भएको विश्लेषकहरूको भनाइ छ। कतिपयले पहिलो रोजाइका मुख्य खेलाडीको अनुपस्थितिमा पनि प्रशिक्षक बालगोपाल महर्जनले बनाएको टिम संरचनालाई राम्रो मानेका छन्।

विश्लेषक सञ्जिव मिश्र भन्छन्, "हरेक क्षेत्रमा नेपालले बाङ्लादेशसँग बराबरीकै टक्कर दिएको देखिन्छ। दोस्रो खेलमा त प्रशिक्षकले राम्रो विकल्प सहितको सेट बनाएका थिए। यद्यपि गोल गर्ने क्षमतामा भने विश्लेषणको आवश्यकता देखिएको छ।"

डेब्यु

दुई खेलमा छ जना नयाँ खेलाडीहरूले राष्ट्रिय टोलीमा 'डेब्यु' गर्न पाउनु अर्थात राष्ट्रिय टोलीमा पहिलो पटक खेल्न पाउनुलाई बाङ्लादेश भ्रमणको सफल पक्ष मानिएको छ।

डेब्यु गर्ने खेलाडीहरू एरिक विष्ट, विकास खवास, छिरिङ गुरुङ , पुजन उपरकोटी, दर्शन गुरुङ र सेसेहाङ आङदेम्बे हुन्।

मैत्रीपूर्ण फुटबललाई अधिकांश प्रशिक्षकले नयाँ खेलाडी परीक्षणको अवसरको रूपमा प्रयोग गर्ने हुनाले त्यो अवसरको सही सदुपयोग भएको मानिएको छ।

तर त्यसमा महत्वपूर्ण पक्ष के मानिएको छ भने घरेलु फुटबल नभएको अवस्थामा पनि यति धेरै उदियमान खेलाडीहरू पाइनुले खेलाडीहरूको राम्रो विकल्प तयार भएको देखिएको छ।

अध्यक्ष शेर्पा भन्छन्, "कोविड - १९ का कारण अहिले ४० खेलाडी क्याम्पमा बोलाउँदा १० जनालाई सङ्क्रमण हुन सक्छ भन्ने हिसाबमा हामीले तयारी गर्नुपर्छ। यस्तोमा युवा खेलाडीहरूको आगमनले बल दिएको छ। "

भिडिओ क्याप्शन सुरु हुँदैछ, फ्रिस्टाइल फुटबल विश्व च्याम्पियनशीपमा देखाइएका कौशल

सुधार

नेपाली टोली बिहिवार नेपाल फर्किँदैछ।

खेलाडीहरूले फर्केर नियमित अभ्यास गर्ने चाहना व्यक्त गरिसकेका छन्।

एन्फाले पनि अभ्यास निरन्तरता दिँदै यसलाई नेपालमा हुने विश्वकप छनोट दोस्रो चरणको 'होम म्याच' को तयारीको रूप दिने बताएको छ।

एन्फा महासचिव इन्द्रमान तुलाधर भन्छन्, "हामी यो अभ्यासलाई विश्वकप छनोटसम्मलाई नियमित गर्नेछौँ। अनि दुई चारवटा अरू मैत्रीपूर्ण भ्रमण दशरथ रङ्गशालामा नै वा विदेशमा खेल्ने तयारी गरिरहेका छौँ। "

विश्वकप छनोटको खेल आगामी वर्ष मार्च र जुन अगाडि खेलाइने फिफाको योजना छ। यस्तोमा बाङ्लादेश भ्रमणले दिएको फुटबलको निरन्तरता कायम हुन सके यसले नेपाली टोली सशक्त बन्न मद्दत पुग्नेछ।

त्यो सही मानेमा कोरोनाभाइरस सङ्क्रमणबीच नेपाली खेलक्षेत्रलाई निरन्तरता दिन सकिने सन्देश समेत बन्न सक्ने देखिन्छ।