विश्वकै एक मात्र सेतो जिराफ जोगाउने प्रयास

सन् २०१६ को मार्चमा केन्यामा सेता जिराफहरू देखिएका थिए

तस्बिर स्रोत, ISHAQBINI HIROLA COMMUNITY CONSERVANCY

तस्बिरको क्याप्शन, सन् २०१६ को मार्चमा केन्यामा सेता जिराफहरू देखिएका थिए

संसारमा एउटा मात्रै बाँकी रहेको सेतो जिराफलाई सिकारीबाट जोगाउन केन्यामा जीपीएस ट्र्याकिङ उपकरण लगाइएको संरक्षणकर्ताले जनाएका छन्।

वन्यजन्तु संरक्षण समूहले त्यो एक्लो भाले जिराफको गतिविधि तत्कालै थाहा पाउन सक्ने बताएको छ।

ल्युसिजम भनिने दुर्लभ आनुवांशिक अवस्था रहेका कारण त्यसको छालामा रङ्ग बन्न सक्दैन।

गत मार्चमा उक्त जिराफको परिवारका दुई सदस्यलाई सिकारीले मारेपछि यो एक्लो सेतो जिराफ बाँकी भएको हो।

सिकारीको निसाना

उक्त जिराफलाई पनि उस्तै छाला भएको एउटा पोथी र सात महिनाको बच्चालाई जस्तै मारिने हो कि भन्ने डर रहेको रेन्जरले बताएका छन्।

ती जिराफको मृत शरीर केन्याको पूर्वोत्तर गरिसा काउन्टीस्थित एउटा संरक्षण केन्द्रमा पाइएको थियो।

अहिले उक्त सेतो भाले जिराफ एक्लै बस्छ।

उक्त क्षेत्रमा वन्यजन्तुको रेखदेख गर्ने इशाकबिनी हिरोला कम्युनिटी कन्जरभेन्सीले नोभेम्बर ८ मा जीपीएस उपकरण जिराफको एउटा सिङमा जडान गरिएको बताएको छ।

एउटा सेतो माउ र उसको बच्चा देखिएपछि त्यसको निकै चर्चा भएको थियो तर अहिले यी दुवैलाई सिकारीले मारिसकेका छन्

तस्बिर स्रोत, ISHAQBINI HIROLA COMMUNITY CONSERVANCY

तस्बिरको क्याप्शन, एउटा सेतो पोथी र बच्चा देखिएपछि त्यसको निकै चर्चा भएको थियो तर अहिले यी दुवैलाई सिकारीले मारिसकेका छन्

संरक्षण पहल

मङ्गलवार जारी गरेको एउटा वक्तव्यमा उक्त गैरनाफामूलक समूहले उक्त उपकरणले हरेक घण्टा जिराफको गतिविधिको जानकारी दिने उल्लेख छ।

त्यसले रेन्जरहरूलाई सिकारीबाट उक्त फरक खालको जनावरलाई जोगाउन सहयोग पुग्नेछ।

उक्त समूहका प्रबन्धक मोहम्मद अहमदूरले जिराफ र अन्य वन्यजन्तुको सुरक्षाका लागि मद्दत गरेकोमा संरक्षणवादीहरूलाई धन्यवाद दिए।

त्यस क्षेत्रको मुख्य संरक्षण निकाय केन्या वाइल्डलाइफ सोसाइटीले सेतो जिराफजस्ता अनौठा वन्यजन्तु संरक्षणका लागि सहयोग गर्ने जनाएको छ।

सेता जिराफ

सन् २०१६ को मार्चमा केन्यामा सेता जिराफहरू देखिएका थिए। त्यसको करिब दुई महिनापछि छिमेकी तान्जनियामा पनि सेता जिराफहरू देखिए।

केन्यामा एक वर्षपछि एउटा सेतो पोथी र उसको बच्चा देखिएपछि त्यसको चर्चा भएको थियो।

अफ्रिकाका १५ भन्दा बढी देशहरूमा पाइने जिराफ विश्वकै सबैभन्दा अग्लो स्तनधारी जनावर हो।

यी जनावरको छाला, मासु र शरीरका अङ्गका लागि सिकारीहरूले मार्ने गरेका छन्। विगत ३० वर्षमा करिब ४० प्रतिशत जिराफ हराइसकेका छन्।

त्यसको मुख्य कारणमा चोरी सिकारी र वन्यजन्तु तस्करी भएको अफ्रिका वाइल्डलाइफ फाउन्डेसनले जनाएको छ।

आईयूसीएनको रातो सूचीमा रहेको जिराफ खतरामा परेको प्रजाति हो। विश्वभरि यसको सङ्ख्या करिब ६८ हजार रहेको बताइन्छ।