कोरोना भाइरस भारत: चिसो र प्रदूषण बढ्दै गर्दा दिल्लीमा कोभिड-१९ का बिरामी बढ्न थाले

तस्बिर स्रोत, Getty Images
- Author, कृतिका पाथी
- Role, बीबीसी न्यूज, दिल्ली
भारतको राजधानी दिल्लीमा चिसो र वायु प्रदूषण बढेसँगै कोभिड-१९ का बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ।
बुधवार एकैदिन त्यहाँ थप ८,५०० सङ्क्रमित फेला परे जुन अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
साथै त्यहाँ एकैदिन ८५ जनाको ज्यान गएको छ। दिल्लीमा अहिलेसम्म कोरोनाभाइरसका कारण ७,००० मानिसको ज्यान गइसकेको छ।
केही महिना मत्थर देखिएको सङ्क्रमण बिस्तारै चुलिन थालेपछि अस्पतालहरूमा चाप बढेको छ र तिनमा आधाभन्दा धेरै शय्या भरिएका छन्।
जनदबाव बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्घीय सरकारलाई सरकारी अस्पतालमा थप शय्याको निम्ति अनुरोध गर्दै पत्र लेखेका छन्।
कुल ८६ लाख सङ्क्रमितका साथ भारत विश्वमै दोस्रो धेरै सङ्क्रमित भएको मुलुक हो। तर सेप्टेम्बरको मध्यदेखि त्यहाँ दैनिक वृद्धि हुने सङ्क्रमितको सङ्ख्यामा कमी आउन थालेको छ।
सङ्क्रमण दर उच्च हुँदा एकैदिन एक लाखको हाराहारीमा सङ्क्रमित फेला पर्ने गरेकोमा केही सातापश्चात् त्यो घटेर दैनिक ३७ हजारमा झरेको थियो।
अहिले औसतमा दिनको ४० देखि ५० हजार थप सङ्क्रमित फेला परिरहेका छन्। बुधवार भारतभरि थप ४८,२०० सङ्क्रमित फेला परेका थिए।

दिल्लीमा चर्को सङ्क्रमण
तर दिल्लीमा भने अन्य राज्यका तुलनामा पछिल्ला साताहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँ कुल ४५०,००० सङ्क्रमित पुष्टि भइसकेका छन् जसमध्ये ४२,००० सक्रिय सङ्क्रमित छन्।
यो वृद्धि त्यतिखेर भइरहेको छ जतिखेर उत्तरी भारत जाडो यामको सँघारमा पुगेको छ अनि वायु प्रदूषण खतरनाक स्तरमा बढेको छ।
यी दुई कारणले कोरोनाभाइरस नियन्त्रणका प्रयासमा धक्का लाग्ने विज्ञहरूको धारणा छ।
साथै यो सप्ताहान्तमा त्यहाँ हिन्दूहरूको दीपावली पर्व पनि आइरहेको छ।
दिल्लीले पर्वको बेला आतसबाजी प्रयोगमा प्रतिबन्ध लगाएको छ र अधिकारीहरूले सामाजिक दूरीको आवश्यकतामा जोड दिइरहेका छन्। तर बजारमा भिडभाड देखिने तस्बिरहरूले त्रसित बनाइरहेको छ।
"मेरा दुई वृद्ध बिरामीलाई शय्या भेट्टाउन २० घण्टा कुर्नुपर्यो," दिल्लीस्थित एक चिकित्सक डा. जोयिता बसुले भनिन्।
बुधवारसम्म दिल्लीको सार्वजनिक र निजी अस्पतालहरूमा गरि उपलब्ध कुल १६,५७३ शय्यामध्ये ८,६०० शय्या भरिइसकेको सरकारी कोरोना एपले जानकारी दिएको छ।
अझ चिन्ताको विषय के हो भने सघन उपचार कक्षमा शय्याको उपलब्धता झनै कम छ। भेन्टिलेटरसहितको १७६ र भेन्टिलेटर विनाका ३३८ शय्यामात्र उपलब्ध छन्।

तस्बिर स्रोत, Getty Images
सहरका अस्पतालमा महामारी सल्किरहेको चिकित्सकहरूले बताएका छन्। त्यहाँ प्रत्येक मिनेट खाली शय्याहरू भरिन थालेको बताइन्छ।
सरकारी अस्पतालमा हजारौँ शय्या खाली रहेको एपमा उल्लेख छ। तर कम्तीमा २४ निजी अस्पतालमा कुनै खाली शय्या छैन अनि एपमा सूचीकृत ८० निजी अस्पतालमा ५० प्रतिशतभन्दा कम शय्या खाली छन्।
भारतमा खर्च गर्नसक्ने अधिकांश मानिस सरकारी अस्पताल जान रुचाउँदैनन्। त्यहाँको पूर्वाधारको गुणस्तर कमसल भएको ठानिन्छ। भारतले जनस्वास्थ्यमा कुल गार्हस्थ्य उत्पादनको केवल एक प्रतिशत मात्र खर्च गर्ने गर्छ।
"मेरा सबै बिरामीहरू निजी अस्पतालमा जान खोज्छन्। तर अवस्था यस्तो छ कि आउने दिनमा जहाँ शय्या भेटिन्छ त्यहीँ जानुपर्ने हुन्छ," डा. बसुले भनिन्।
भारतको सबभन्दा ठूलोमध्येको सरकारी अस्पताल अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज एम्सका निर्देशक डा. रन्दीप गुलेरियाले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै सङ्क्रमण विस्तार हुनुको अर्थ अस्पतालमा भर्ना हुनेहरूको सङ्ख्या पनि बढ्नु भएको बताए।
"थप के हो भने वायु प्रदूषण र श्वासनलीमा भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या लिएर इमर्जेन्सीमा आइपुग्नेको सङ्ख्या बढेको छ," उनले एनडीटीभीलाई बताए।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा


प्रदूषणको घातक स्तर
दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित भनेको स्तरभन्दा १४ गुना धेरै वायु प्रदूषण रहेको वायु गुणस्तर अनुगमनहरूले देखाएका छन्।
प्राध्यापक श्रीनाथ रेड्डीका अनुसार अर्को चिन्तापूर्ण विषय के हो भने चिसो मौसममा सामान्य मानिसकै पनि रोगप्रतिरोधी क्षमतामा केही कमी आउँछ।
दिल्लीस्थित पब्लिक हेल्थ फाउन्डेसन अफ इन्डियाका अध्यक्ष उनले चिसो मौसम र सुक्खा हावा भाइरसको लागि अनुकूल हुने गरेको पनि बताए।
"चिसो हावा अलि गह्रुङ्गो हुन्छ अनि यताउता कम गर्छ। जसले गर्दा भाइरससहितका हावाका कण जमिनमाथि नै तैरिरहन्छन् र मानिसको फोक्सोमा पुग्ने सम्भावना बढ्छ।"
त्यसमाथि प्रदूषणलाई पनि जोड्ने हो भने स्थिति झनै खतरनाक हुने उनले बताए।
संसारभरि गरिएका अध्ययनहरूमा वायु प्रदूषण र कोरोनाभाइरस सङ्क्रमण एवम् मृत्युको सङ्ख्याबीच सोझो सम्बन्ध देखिएका छन्।
हार्भर्ड विश्वविद्यालको अध्ययनले खतरनाक मानिने पीएम २.५ प्रदूषक तत्त्व प्रतिघन मिटरमा एक माइक्रोग्रामले मात्रै बढ्दा पनि कोभिड-१९ मृत्यु आठ प्रतिशतले बढ्ने देखाएको छ।
क्याम्ब्रिज विश्वविद्यालयले गरेको अर्को अध्ययनमा कोरोनाभाइरस सङ्क्रमणको गाम्भीर्य र लामो समय प्रदूषणमा रहनुबीच सम्बन्ध रहेको देखियो।
प्राध्यापक रेड्डी भन्छन्, "दिल्लीले यसअघि एप्रिल महिनामा धेरै सङ्क्रमण बेहोरेको थियो। जुन महिनामा मौसम तातो भएपछि र प्रदूषण कम भएपछि सङ्क्रमण घट्दै गएका थिए।"
फ्रान्स तथा इटलीजस्ता युरोपेली मुलुकलाई पनि ज्यानुअरी र फेब्रुअरीजस्ता चिसो मौसममा महामारीले गम्भीर प्रभाव पारेको थियो।
"हामीले चाहिँ जाडो मौसममा पहिलोपटक भाइरससँग जुझ्नुपर्नेछ। त्यसैले गर्मीमा के भएको थियो भनेर हुँदैन। निश्चित रूपमा हामी थप जोखिममा छौँ।"









