बिहार चुनाव परिणाम: मुख्यमन्त्री नितिशकुमारलाई धक्का

तस्बिर स्रोत, Getty Images
भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनमा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ।
दोस्रोमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ।
वर्तमान सत्ता गठबन्धनकै बहुमत
तर बीजेपी र जेडियुसहितको वर्तमान सत्ताधारी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडिएले १२५ सिट सहित सामान्य बहुमत भने पाएको छ।
कङ्ग्रेसको प्रदर्शन पहिलेभन्दा पनि खस्किएको देखिएको छ।
२४३ सदस्यीय बिहार विधानसभामा तेजस्वी यादव नेतृत्वको कङ्ग्रेससहितको महागठबन्धनलाई ११० सिट प्राप्त भएको छ।
नितिशकुमारलाई ठूलो धक्का
बिहारको वर्तमान सत्ता गठबन्धनमा यतिञ्जेल मुख्य भूमिकामा रहेका मुख्यमन्त्री नितिशकुमारलाई भने यो परिणाम सुखद रहेन।
हुन त अझै पनि गठबन्धनको नेतृत्व गर्दै उनले नै मुख्यमन्त्रीको पद सम्हाल्ने बीजेपीले बताइरहेको छ तर बीजेपीको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नितिशकुमारको सामु अवस्था असहज देखिन्छ।

तस्बिर स्रोत, Getty Images
तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नितिशकुमार चौथोपटक पनि मुख्यमन्त्री हुने ढोका अझै खुला नै देखिन्छ।
तेजस्वीको 'उदय'
यसपटकको चुनावमा पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवले आफ्नो दल, राष्ट्रिय जनता दललाई अग्रस्थानमा पुर्याउन सफल भए।
तर उनको दल र कङ्ग्रेससहितको महागठबन्धनले बहुमत भने जुटाउन सकेन।
यो परिणामलाई तेजस्वीको उदाउँदो राजनीतिक हैसियतको प्रदर्शनको रूपमा कतिपयले मानेका छन्।
यसपटक कोभिड-१९ महामारीकै बीचमा तीन चरणमा बिहारमा मतदान सम्पन्न भएको थियो।
करिब ५७ प्रतिशत मतदाता सहभागी भएको चुनाव आयोगले बताएको छ।








