अमेरिका निर्वाचन मतगणना परिणाम: जितका लागि ट्रम्प र बाइडनलाई अझै के चाहिन्छ

बाइडन र ट्रम्प

तस्बिर स्रोत, Getty Images

    • Author, एन्थनी जर्कर,
    • Role, उत्तर अमेरिका संवाददाता

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा परम्परागत रूपमा नै मतपरिणामको रात भनिने गरिएको समयावधि अब लम्बिएर मतपरिणामको सप्ताह होला जस्तो देखिएको छ।

चुनावमा निर्णायक विजय हासिल गर्नका लागि उम्मेदवारहरूको हकमा के के हुनुपर्छ त अब?

मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आकलन देखि लिएर झिनो मतान्तरले डोनल्ड ट्रम्पको विजय हुनेसम्मका प्रक्षेपणहरू थिए।

तिनमा डोनल्ड ट्रम्पले कुल राष्ट्रव्यापी बहुमत हासिल गर्नुको साटो इलेक्टरल कलेजको ठूलो मतसङ्ख्याका कारण विशेष महत्त्व पाएका सङ्ग्रामस्थल निर्वाचन क्षेत्र भनिएका राज्यहरूमा जित हासिल गरेर आफ्नो पुन:नियुक्ति गर्न सक्ने कुराहरू पनि थिए।

रातभरिमा पनि नसकिएर लम्बिन पुगेको मतगणनाको समयावधिपछि जो बाइडनले ल्यान्डस्लाइड अर्थात् अत्यधिक बहुमतले जित हासिल गर्न सक्ने भन्ने अनुमानको ठाउँ अब बाँकी रहेन।

अब जसले जिते पनि त्यो झिनो मतान्तरले अन्तिम निर्णय हुने अवस्था देखिएको छ।

अनि त्यो अब कससको पक्षमा कसरी र कति समयपछि हुन्छ भन्ने कुरा महत्वपूर्ण बनेर आएको छ।

अमेरिका निर्वाचन

डोनल्ड ट्रम्पले आफ्नो जित भएको भनेर पहिले नै दाबी गरिसकेका छन् र उनले विपक्षीहरूलाई निर्वाचनमा धाँधली गरेको आरोप पनि लगाइसकेका छन्।

तर अहिलेसम्मको अवस्था हेर्दा निर्वाचनमा धाँधली भएको भनेर पुष्टि भएको अवस्था देखिएको छैन। अझै पनि विधिसम्मत तरिकाले मतदान गरिएका मतपत्रहरूको गणना हुने क्रम जारी नै रहेको छ।

अब मतपरिणामको प्रतिस्पर्धा केही थोरै राज्यको हकमा मात्रै बाँकी छ।

'ब्याटलग्राउन्ड स्टेट्स' भनिने राज्यमा कसको जित होला?

एरिजोना बाइडनको पक्षतर्फ अघि बढ्दै गरेको हो की जस्तो देखिएको छ। त्यसको अर्थ डेमोक्र्याटहरूले विस्कन्सिन,मिशिगन र पेन्सिल्भेनिया जस्ता राज्यमा जिते मात्रै उनीहरूको विजय सुनिश्चित हुनसक्छ।

ती तीनै राज्यमा बाइडनले ट्रम्पलाई पछ्याइरहेका छन्। तर अब गन्न बाँकी रहेका मतहरू डेमोक्र्याटहरूको पक्षमा हुनसक्छन् जुन उनलाई अगाडि पुर्‍याउन पर्याप्त हुन पनि सक्छ।

अमेरिका निर्वाचन

पेन्सिल्भेनियामा मात्रै हुलाकबाट मतदान गरिएका झन्डै १४ लाख मत गन्न बाँकी रहेको छ। ती सबैलाई सूचीकृत गर्न नै कैयौँ दिनको समय लाग्न सक्छ।

मिशिगनमा डेट्रोइट र विस्कन्सिनमा मिल्वाकीजस्ता ठूला सहरको पनि पूर्ण मतगणना परिणाम आउन बाँकी छ जुन डेमोक्र्याटहरूको पक्षमा ढल्किन सक्छन्।

जोर्जियाको परिणाम जता पनि जान सक्ने खालको देखिएको छ। मङ्गलवार पहिले त्यहाँ ट्रम्पको जित हुने जस्तो देखिएको थियो जुन अवस्थामा एकाएक परिवर्तन भएको छ।

जोर्जियामा बाइडनले जिते भने उनले मिडवेस्ट भनिएका एउटा मात्र राज्यमा जिते पुग्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकी चुनावको मत सर्वक्षण कति यथार्थपरक

कानुनी चुनौतीको सम्भावना कति?

बाइडनले आफू जितको बाटोमा रहेको दाबी गर्ने र ट्रम्प पक्षकाहरूले अपुष्ट नै भएपनि निर्वाचनमा धाँधली भएको र 'विपक्षीले निर्वाचन चोरेको' भनेर आरोप लगाउन सुरु गरेकाले यो निर्वाचनमा पहिले दु:स्वप्नको अवस्था भनेर अनुमान गरिएको परिदृश्यले अब साकार रूपमा लेला जस्तो देखिएको छ।

त्यस्तो दाबी र आरोपप्रत्यारोप हुनु भनेको तिक्ततापूर्ण अवस्थाको सिर्जना हुन गई लामो अदालती चुनौतीको परिदृश्य तयार हुनु हो।

जुन प्रक्रियाको अन्त्य हार्ने पक्षका समर्थकहरूले आक्रोश र ठगिएको अनुभव गरेर हुन्छ।

अमेरिका निर्वाचन

अन्तिम मतगणना परिणाम अहिले थाहा नभएको भएतापनि मतपरिणामको रात देखिएका गतिविधिले संयुक्त राज्य अमेरिका स्पष्ट रूपमा विभाजित देशका रूपमा कायम नै रहेको देखिएको छ।

अमेरिकी मतदाताले डोनल्ड ट्रम्पलाई कुनै अर्थपूर्ण ढङ्गले स्पष्ट रूपमा अस्वीकृत गरेनन्। न त तिनीहरूले उनलाई उनले चाहे जस्तो सहज र सोझो समर्थन नै दिएका छन्।

बरु अब त्यहाँ युद्धका रेखाहरू कोरिन पुगेका छन्। अनि यो निर्वाचनमा जो सफल भएपनि राजनीतिक सङ्ग्राम भने जारी नै रहने देखिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकाको चुनावमा कति खर्च हुन्छ?