चम्ल्याहा छोरीका बाबु भन्छन्, "छोराको गर्भमै मृत्यु भए पनि चार छोरीहरू भएर मलाई एकदम खुसी लागेको छ"

पांच बच्चाको जन्म

तस्बिर स्रोत, Hari Kumar/ Santa Kumar Tamang

    • Author, शक्तिमाया तामाङ
    • Role, बीबीसी न्यूज नेपाली, नुवाकोट

सोमबार काठमाण्डूको प्रसूति गृह अस्पतालमा एकैपटक पाँच बच्चा जन्माएका दम्पतिले यो दुर्लभ घटनाबाट आफूहरूलाई भाग्यमानी ठानेको र निकै खुसी लागेको बताएका छन्।

नुवाकोटकी स्थायी बासिन्दा सोमिका तामाङ्ले शल्यक्रियामार्फत चार छोरी र एक छोरालाई जन्म दिएकी थिइन्। तर छोराको भने गर्भमा नै मृत्यु भैसकेको चिकित्सकहरूले बताएका थिए।

छोरीभन्दा छोरा रोज्ने चलन नेपालमा अझै बाँकी रहेपनि ती बच्चाहरूका बाबु हरिकुमार तामाङले बीबीसीसँग भने, "एक छोराको गर्भमै मृत्यु भए पनि मेरा ४ छोरीहरू भएर मलार्इ एकदम खुसी लागेको छ। म आफूलार्इ भाग्यमानी सम्झिन्छु।"

बच्चाहरूकी आमा सोमिका तामाङ्ले आफूसँग कुरा गर्दै 'शल्यक्रियाभन्दा अगाडि आफू बाँच्दैन होला भनेर रूने गरेको तर सफल शल्यक्रियापछि भने भाग्यले बाँचेको र एकैपटक यत्ति धेरै छोरीको आमा बन्न पाउँदा अति खुसी लागेको' बताएको हरिकुमार तामाङ्ले जानकारी दिएका छन्। "उनी उज्यालो अनुहार लगाएर मुस्काइरहेकी छन्," हरिकुमार भन्छन्। उनले बच्चाहरूकी आमाको स्वास्थ्य राम्रो रहेको बताए। आमा सोमिका तामाङ् चिकित्सकको सल्लाहमा पूर्ण आराम गरिरहेको र अरूको सहारा लिएर हिंडडुल गर्न सक्ने अवस्थामा रहेको उनले बताए।

पांच बच्चाको जन्म

तस्बिर स्रोत, Hari Kumar/Santa Kumar Tamang

'दुर्लभ'

एकैपटक पाँचवटा बच्चाको जन्म भएको घटना सम्भवत: नेपालमा पछिल्लो केही दशकमा पहिलोपटक हुनसक्ने बच्चा जन्माउन शल्यक्रियामा संलग्न प्रसूति गृहका डा. कीर्तिपाल सुवेदीले बताए।

उनी भन्छन्, "मेरो अहिलेसम्मको अनुभवमा पाँचवटा शिशुको जन्म पहिलो पटक देखेको हुँ। यस्तो विदेशतिर पनि एकदम दुर्लभ मानिन्छ ।"

शल्यक्रियामार्फत् जन्मेका ५ मध्ये एक जनाको आमाको गर्भमा नै मृत्यु भएको र चार जना जीवित रहेको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले बताए।

नवजात शिशुहरूको तौल १९ सय ग्राम, १८ सय ग्राम, १६ सय ग्राम र ८ सय ग्राम रहेको अस्पतालले जनाएको छ भने आमा र शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

जिवित जन्मिएका चार शिशुहरूमध्ये तीन जना शिशु परिवार सँगै छन् भने १ जनलाई एनआईसीयूमा राखिएको तर अवस्था सामान्य नै रहेको जनाइएको छ।

पांच बच्चाको जन्म

तस्बिर स्रोत, Hari Kumar/Santa Kumar Tamang

परिवारमा खुसी

हरिकुमार भन्छन् सोमिका गर्भवती भएको ५ महिना देखि ३२ हप्तामा शल्यक्रियाको अवधिसम्म आइपुग्दा सोमिका र उनको परिवारलार्इ के हुने होला भनेर चिन्ताले सताउने गरेको थियो ।

शल्यक्रिया सफल भएपछि अहिले परिवारमा खुसी छाएको छ । उनले सोमिकाको शल्यक्रियामा संलग्न डाक्टरहरूलाई धन्यवाद दिएका छन्।

हरिकुमारले भने, "सोमिकाको लागि पहिला जति पीडा र दु:ख भएको थियो त्यो सबै अहिले बिर्से जस्तो भयो।"

सोमिकाकी आमाको पनि पहिले जुम्ल्याहा बच्चा भएको थियो।

त्यसैले उनको यसरी एकैपटक धेरै बच्चा जन्मनुमा पारिवारीक पृष्ठभूमिको पनि भूमिका हुन सक्ने डा कीर्तिपाल सुवेदी बताउँछन्।

तर गर्भवती हुनुअघि सोमिका विभिन्न प्रजनन् उपचारमा सहभागी भएकीले पनि उनमा एकैपटक बच्चा रहेको हुनसक्ने सम्भावना देखिएको डा. सुवेदीले बताए।

सुवेदीको नेतृत्वमा भएको शल्यक्रियामा डा. दिप्ती श्रेष्ठ, डा. नमिता सिङदेन लगायत संलग्न रहेको अस्पतालले जनाएको छ।