कोरोना भाइरस नेपालः २२ सय सङ्क्रमित थपिए, पाँचदिने बालिकासहित सात जनाको मृत्यु

तस्बिर स्रोत, Reuters
नेपालमा थप २,२५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार दिएको छ।
तीमध्ये १,५९९ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ८६,००० नाघेको छ।
विगत २४ घण्टामा सात जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
योसहित नेपालमा अहिलेसम्म ५३५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।
निको हुने सङ्क्रमितको सङ्ख्या ६४,००० नाघेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,३२९ जना रोगमुक्त भएका छन्।
गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। शुक्रवारदेखि सङ्क्रमितको सङ्ख्या २,००० नाघिरहेको छ।
शुक्रवार मन्त्रालयले २,७०० जना भन्दा बढीमा सङ्क्रमण भेटिएको जनाएको थियो।
त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
नेपालको स्थिति कस्तो छ?
सङ्क्रमितको सङ्ख्याका आधारमा नेपाल विश्वभरि ४५ औँ स्थानमा छ।
नेपाल चीनभन्दा एक स्थान तल मात्र छ।
गत वर्ष डिसेम्बरमा कोरोनाभाइरस सुरु भएको चीनमा अहिलेसम्म ९०,६०९ जनामा कोभिड-१९ पुष्टि भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ।
दक्षिण एशियामा भने नेपाल भारत, पाकिस्तान र बाङ्ग्लादेशपछि चौथो स्थानमा छ।
कति छन् सङ्क्रमित?
अहिले देशभरि २२,२१९ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये ११,८९३ जना घरमा र १०,३२६ संस्थागत आइसोलेशनमा छन्।
मन्त्रालयले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० नाघे फेरि लकडाउन लगाउन सकिने सङ्केत यसअघि दिइसकेको छ।
वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या अहिले अन्यत्रको भन्दा बढी छ।
काठमाण्डू उपत्यकामा अहिले १३,००० भन्दा केही बढी सक्रिय सङ्क्रमित छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा


विगत २४ घण्टामा १२,७८४ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
अहिलेसम्म नेपालमा ६४,०६९ जना सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ७३.७ प्रतिशत हो।
गम्भीर लक्षण भएका २२६ सङ्क्रमित सघन उपचारमा र ३४ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।
को हुन् सङ्क्रमित?
काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ।
अहिले काठमाण्डू जिल्लामा थप १,३७३ अनि भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनामा कोभिड-१९ पुष्टि भएको हो।
त्यसैगरी मोरङमा ८१, चितवनमा ५२, नवलपरासी पूर्वमा ४०, बाँकेमा ५०, रूपन्देहीमा ५२, सुर्खेतमा ५४ र कैलालीमा ५५ जना पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
मन्त्रालयका अनुसार अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ८३० जना महिला र १,४२३ जना पुरुष छन्।
को हुन् मृतक?
विगत २४ घण्टामा एक नवजात शिशुसहित चार महिला र तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पाँचदिने बालिकादेखि ७७ वर्षसम्मका व्यक्तिको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु उसको भनाइ छ।
ती बालिका मकवानपुरकी हुन् भने अन्य मृतक चितवन, काठमाण्डू, ललिपुरर, बाँके र कञ्चनपुर जिल्लाका हुन्।
नेपालमा ०.६५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

यो पनि हेर्नुहोस्










