कोरोना भाइरस नेपाल: थपिए २,१२० सङ्क्रमित, ८ को मृत्यु, आधाभन्दा धेरै सङ्क्रमित काठमाण्डू उपत्यकामा

नेपाली काङ्ग्रेसका नेताहरूले पार्टी कार्यालयमा कोभिड-१९ परीक्षणको लागि स्वाब दिएका थिए।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपाली काङ्ग्रेसका नेताहरूले पार्टी कार्यालयमा कोभिड-१९ परीक्षणको लागि स्वाब दिएका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा नेपालमा २,१२० जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिवारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्।

पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएसँगै भाइरस सङ्क्रमित मृतकको सङ्ख्या ५२८ पुगेको छ।

शुक्रवार एकैदिन २,७२२ नयाँ सङ्क्रमित थपिएका थिए जुन विवरण अहिलेसम्मकै सर्वाधिक वृद्धि थियो।

कोरोनाभाइरस

शनिवार पनि सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको हो।

यससँगै देशभर अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २१,३०२ पुगेको छ।

काठमाण्डू उपत्यकामा बढ्दो

काठमाण्डू उपत्यकामा मात्र १,१८७ जना सङ्क्रमित थपिएका छन्।

उक्त सङ्ख्या एक दिनमा थपिएको देशको कुल सङ्क्रमित सङ्ख्याको ५५ प्रतिसत हो।

जसमध्ये काठमाण्डू जिल्लामा १,०११, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना छन्।

विगत चौबिस घण्टामा देशभर १२,९७८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको जनाइएको छ।

सङ्क्रमितहरूको मृत्युदर ०.६२ प्रतिसत रहेको छ।

तर जेष्ठ उमेर समूहमा नेपालको मृत्युदर उच्च रहेको विवरणहरूको विश्लेषण गर्दा देखिने गरेको छ।

दुई हजार भन्दा धेरै निको

यस अवधिमा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २,०४४ रहेको प्रवक्ता गौतमले जनाए।

जससँगै अहिलेसम्म निको हुने कुल सङ्ख्या देशभर ६२,७४० रहेको मन्त्रालयको विवरण छ। भाइरसमुक्त हुने दर ७४.१ प्रतिसत रहेको छ।

यतिखेर देशभर क्वारन्टिनमा रहनेको सङ्ख्या ४,२७३ छ।

सक्रिय सङ्क्रमितहरूमध्ये ९,७७३ संस्थागत आइसोलेसनमा छन् भने बाँकी घरमै आइसोलेसनमा छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space