एसिड आक्रमण: एसिड छ्याप्नेलाई कडा सजाय सहितको कानुन प्रमाणीकरण - के भन्छन् पीडित

एसिड
तस्बिरको क्याप्शन, प्रतीकात्मक तस्बिर

एसिड आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्था गरिएको कानुन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन्।

गत बिहीवार बसेको मन्त्रिपरिषद्ले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको थियो।

राष्ट्रपतिबाट उक्त अध्यादेश प्रमाणीकरण भएको विज्ञप्ति राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेका छन्।

उक्त कानुनमा एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेलसजाय र १० लाख जरिवाना हुने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका प्रावधानहरू राखिएको छ।

सरकारले एसिडको खुला विक्री वितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिने र पीडितलाई निशुल्क शिक्षा र रोजगारी उपलब्ध गराउने गरी नयाँ कानुन ल्याएपछि त्यसले पीडामा मलमको काम गर्ने पीडितहरूले बताएका छन्।

नयाँ व्यवस्था अनुसार एसिड आक्रमणसम्बन्धी मुद्दा जहिले दर्ता भएको भए पनि पहिलो प्राथमिकता दिनुपर्नेछ।

यो कानुनले पीडितहरूको निःशुल्क उपचार सुनिश्चित गरेको छ भने पीडितका नाममा कुनै पनि माध्यमबाट चन्दा सहयोग उठाउन पाइने छैन। त्यसरी चन्दा उठाउने व्यक्तिलाई पनि तीन महिनासम्म कैद वा पाँचहजारसम्म जरीवाना हुने उल्लेख छ।

"अरू पीडित नबनुन्"

एसिड पीडित मुस्कान खातुनले आफूमाथि एसिड आक्रमण भएर अस्पतालमा उपचार गराइरहँदा पीडितलाई कडासजाय भन्दा पनि एसिडको विक्री वितरणमा कडाइ होस् भन्ने लागेको बताइन्।

“एसिड सजिलै पाइने भएकोले नै हामीमाथि छ्यापिएको हो। मैले प्रधानमन्त्रीसँग भेट्दा पनि यही कुरा भनेको थिएँ,” खातुनले बीबीसीसँग भनिन्, “मेरो कुरा सुनेर प्रधानमन्त्री भावुक हुनुभएको थियो। यदि छिट्टै कानुनी व्यवस्था पनि भयो। प्रधानमन्त्री र महान्यायाधिवक्ता अग्नी खरेललाई म एकदमै धन्यवाद दिन चाहन्छु।”

जेनी खड्का

तस्बिर स्रोत, Courtesy: Arjun Shah

तस्बिरको क्याप्शन, जेनी खड्कालाई पूर्वश्रीमानले एसिड आक्रमण गरेका थिए

खातुन गत वर्षको भदौ महिनामा वीरगन्जमा विद्यालय जाँदै गर्दा एसिड आक्रमणमा परेकी थिइन्। उनलाई आक्रमण गर्ने मध्ये अहिले एकजना युवक थुनामा छन् भने एसिड बेच्ने व्यवसायी फरार रहेको बताइन्छ।

“मलाई जे भए पनि अरु दिदीबहिनीले मेरो जस्तो पीडा भोग्नु नपरोस् भन्ने लागेको थियो अब सजिलै किन्न नपाउने भएपछि यस्ता आपराधिक घटना पनि कम हुन्छन् भन्ने विश्वास लागेको छ,” खातुनले भनिन्।

एसिड आक्रमणबाट पीडित बनेका व्यक्तिको हकअधिकार र सहयोगमा क्रियाशील रहेका अभियानकर्मी उज्ज्वलविक्रम थापाले एसिड आक्रमणलाई निरुत्साहित गर्ने गरी आएको कानुन निकै स्वागतयोग्य भएको बताए।

यो कानुन अनुसार पीडकलाई कडासजायको व्यवस्था मात्रै नभइ, एसिडको खुला विक्री वितरणमाथिको पूर्ण रुपमा प्रतिबन्ध र पीडितका लागि पुनर्स्थापनाको व्याकेज आउन लागेको र अन्य देशको कानुनी प्रावधानभन्दा यो निकै प्रगतिशील भएको उनले बताए।

“मेरो मुख्य चासो भनेकै तेजाबको सहज विक्री वितरणमाथि नियन्त्रण हुनुपर्छ भन्ने थियो। अब खरिदकर्ताले तेजाब किन्नुको उद्देश्य खुलाउनुपर्नेछ, सम्पर्क फोन नम्बर बिक्रेतालाई बुझाउनुपर्नेछ, सरकारले जारी गरेको परिचयपत्र देखाउनुपर्नेछ, १८ वर्षमुनिका बालबालिकाले किन्न पाउने छैनन्, अहिलेजस्तो जुन पायो त्यही बोतलमा तेजाबको विक्री वितरण हुनेछैन, सिल गरिएको र लेबल भएको बोतलमात्रै बिक्री हुनेछ,” थापाले भने।

तेजाब किन्नका लागि मात्रै नभइ बेच्ने अनुमति पनि ब्रिक्रेताले जिल्ला प्रशासन कार्यालयबाट लिनुपर्ने व्यवस्था भएकोले अब सहजै बजारमा जोकसैले तेजाब किन्न नसक्ने थापाले बताए।

एसिड आक्रमण जघन्य अपराध

भिडिओ क्याप्शन सुरु हुँदैछ, मुस्कान खातुन: ‘अब मैलेजस्तो कसैले भोग्न नपरोस्’

नयाँ कानुनी व्यवस्था अनुसार पीडितको पुनर्स्थापना प्याकेजले पनि पीडितलाई राहत दिएको पीडितहरू बताउँछन्।

थापाका अनुसार आइतवार मात्रै एसिडबाट पीडित तीनजना महिलाले कुमारी बैंकमा बजार अधिकृतको जागिर पाएका छन् भने एकजना पुरुषले महान्यायाधिवक्ताको कार्यालयमा चालकको काम पाएका छन्।

ती पीडित पुरुष नुवाकोटका २६ वर्षीय रामराजा थापा हुन् जसका अनुसार गत वर्ष फागुनमा श्रीमतीले राति सुतेको अवस्थामा तेजाब छ्यापेकी थिइन्।

एसिड पीडित भन्ने बितिक्कै महिलामात्रै हुन्छन् भन्ने आमधारणाले आफूहरू जस्तो पुरुष बेवास्तामा पर्ने गरेको गुनासो उनले पोखे।

“एसिडले मेरो अनुहार, आँखा, कान, हात, खुट्टा र छातीमा जलेको छ। ५/६ महिना अस्पतालमै उपचार गरेँ तर मअघि र मपछि एसिडबाट पीडित बनेका मुस्कान र पूर्णिमा बहिनीलाई जस्तो मलाई कसैले वास्ता गर्नुभएन,” उनले भने, “तर पछि म पीडितहरूसँग सम्पर्कमा आएँ र अहिले त रोजगारी पाउनु नै जीवनको सहारा भयो भन्ने लागेको छ।”

नयाँ कानुनले पीडकलाई निरुत्साहित गर्ने र पीडितलाई सहारा दिने देखिएकोले आफूलाई निकै खुसी लागेको थापाले बताए।

सरकारले साजयमात्रै कडा नबनाइ एसिड आक्रमणलाई जघन्य अपराध पनि मानेकोले यसमा सजाय छुट हुने सुविधा अब पीडकले पाउने छैनन्।

कानुनी व्यवस्था अनुसार लागूऔषध, बलात्कार, मानव बेचबिखन, भ्रष्टाचारलगायत एक दर्जन कसुरमा सजाय मिनाहा गर्न मिल्दैन।

कानुनमा के के छन् सजायका व्यवस्था?

  • कसैलाई एसिड फ्याकेर, छर्किएर, खन्याएर वा सेवन गराएर अङ्गभङ्ग भएको अवस्थामा दुवै आँखा जलेर दृष्टि पूर्ण रुपमा नष्ट भएमा, दुवै कानको सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जलेर कुरुप भएमा, महिला भए दुवै स्तन काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग नासिएमा पीडकलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुनेछ।
  • एउटा आँखा, एउटा कान जलेर काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भइ कुरुप भएमा, महिला भए एउटा स्तन जलेर काम नलाग्ने भएमा, दुवै हात वा दुवै खुट्टा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भागमा क्षति भएमा वा मेरुदण्ड काम नलाग्ने भए १० देखि २० वर्षसम्म कैद र ७ देखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
  • एसिड आक्रमणका कारण कसैको शरीरको अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम पाँच वर्षदेखि १० वर्ष कैद र एकलाखदेखि पाँचलाख रुपैयाँसम्म जरिवाना हुनेछ।
  • आक्रमण गर्दा एसिड शरीरमा नपरे वा उम्किएमा पनि त्यस्तो काम गर्न खोज्ने व्यक्तिलाई मुद्दा हेरी १० वर्षसम्म कैद र पाँचलाख रुपैयाँसम्म जरिवाना हुनेछ।
  • पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अङ्गभङ्गको गम्भिरता तथा जरिवाना रकमसमेत विचार गरी सजाय निर्धारण गर्दा मनासिव क्षतिपूर्ति भराउनुपर्नेछ।

कानुनबारे अमिताभ बच्चन र भारतीय अभियानकर्मीको चासो

गत वर्ष भदौमा मुस्कान खातुन एसिड आक्रमणमा परेपछि यसबारे जनचेतना फैलाउन भन्दै अभियानकर्मी थापाले खातुनलाई भिडिओ सन्देश पठाउन एउटै स्कुल पढेका भारतीय चर्चित अभिनेता अमिताभ बच्चनलाई भनेका थिए।

सामाजिक सञ्जालमा धेरैले शेअर गरेको उक्त भिडिओ सन्देशमा बच्चनले मुस्कानको आत्मबल बढोस् भनेर कामना गरेका थिए।

“त्यसयता उहाँसँग मेरो निरन्तर कुरा भइरहन्छ। अब यो कानुन बनेपछि म अङ्ग्रेजी अनुवाद गरेर पठाउँछु,” थापाले भने।

उनका अनुसार भारतकी एक एसिड पीडित तथा चर्चित अभियानकर्मी लक्ष्मी अग्रवालले पनि नयाँ कानुनको अङ्ग्रेजी कपी मगाएकी छन् ताकि त्यहाँको सरकारलाई पनि नेपालको नयाँ व्यवस्था देखेर झक्झकाउन सकियोस्।

उनै लक्ष्मीको जीवनमा आधारित चलचित्र ‘छपाक’ गत वर्ष भारतमा बनाइएको थियो।

तेजाबविरुद्ध जागरण दिवस

गएको सेप्टेम्बर १० तारिखमा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितलगायत यसविरुद्ध आवाज उठाइरहेका अभियानकर्मीलगायत सरोकारवालाहरूलाई भेटेर उनीहरूको गुनासो सुनेका थिए।

उक्त दिनलाई तेजाबविरुद्ध जागरण दिवस मनाउने आफूहरूको प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए।

छोटो समयमै कानुन बन्न लागेको भन्दै थापाले यसमा सरकारको अग्रसरताको तारिफ गर्दै ट्वीट पनि गरेका थिए।

थापाले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उल्लेख गरेर लेखेका छन्, “नेपालमा केही हुँदैन भन्ने हरूलाई एउटा सफल सन्देश तेजाब आक्रमणविरुद्धको अध्यादेशले दिएको छ। १५ दिनको अवधि थियो १५ दिन मै आयो अध्यादेश। गरे हुन्छ।”

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त