कोरोना भाइरस: के कोभिड-१९ विरुद्ध निर्मित खोपको परीक्षण रोकिनु सामान्य कुरा हो?

तस्बिर स्रोत, Oxford University / John Cairns
यूकेमा एक सहभागी बिरामी परेपछि अन्तिम चरणमा पुगेको कोरोनाभाइरसविरुद्ध बनाइएको खोपको क्लिनिकल परीक्षण अहिलेका लागि रोकिएको छ।
झट्ट सुन्दा यो समाचारले अलकति झस्काउन सक्छ।
तर खोप विकासमा अक्सफर्ड यूनिभर्सिटीसँग साझेदारीमा रहेको औषधि कम्पनी एस्ट्राजेनेकाले यसलाई "नियमित" स्थगन भनी व्याख्या गरेको छ। उसले ती व्यक्तिमा प्रतिकूल असर देखिनुको कारण थाहा नभएको जनाएको छ।
त्यसो भए यसरी परीक्षण रोकिनु कति सामान्य हो त? अनि एकदमै अपेक्षा गरिएको कोभिड-१९ खोप उपलब्ध हुने कुरामा यसले के अर्थ राख्छ?
यो खोप परीक्षणबारे हामीलाई के थाहा छ?

तस्बिर स्रोत, Getty Images
कोभिड-१९ विरुद्ध उपचार खोज्ने विश्वव्यापी प्रतिस्पर्धामा एस्ट्राजेनेका-अक्सफर्डले विकास गरिरहेको खोप पनि अग्रपङ्क्तिमा छ।
त्यसैले यसमा हुने कुनै पनि विलम्ब अलि निराशाजनक हुनेछ।
स्ट्याट न्यूजमा मङ्गलवार छापिएको समाचारअनुसार यूकेमा खोप परीक्षणका क्रममा सहभागी एक व्यक्तिमा "गम्भीर असर परेको आशङ्का" र त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएपछि परीक्षण रोकिएको हो।
उक्त विषयमा थप विवरण अझै थाहा हुनसकेको छैन तर स्ट्याट न्यूजले एउटा स्रोतलाई उद्धृत गर्दै ती बिरामी निको हुने ठानिएको जनाएको छ।
एउटा विज्ञप्तिमा एस्ट्राजेनेकाले भनेको छ: "समीक्षा प्रक्रियाको हाम्रो मापदण्डले सुरक्षासम्बन्धी तथ्याङ्कको समीक्षाका लागि अनुमति दिन खोपको परीक्षण रोकेको छ।"
बीबीसीका मेडिकल सम्पादक फेर्गुस वाल्शले यो प्रक्रियाका लागि "केही दिनहरू" लाग्न सक्ने बताएका छन्।
खोपको परीक्षण रोकिनु कति सामान्य हो?

तस्बिर स्रोत, EPA
वाल्शका अनुसार खोप परीक्षणको प्रक्रिया स्थगित गरिक पहिला नसुनिएको भने होइन।
"कुनै पनि समयमा जब स्वयंसेवी अस्पतालमा भर्ना हुन्छ र उसको स्वास्थ्य समस्याको कारण तत्काल स्पष्ट हुँदैन तब अध्ययनलाई रोकिन्छ," उनले भने।
अक्सफर्ड यूनिभर्सिटीका प्रवक्ता भन्छन्: "ठूला परीक्षणहरूमा कुनै कारणले यदि बिमारी देखियो भने यसबारे राम्ररी जाँच्नका लागि एउटा स्वतन्त्र समीक्षा गरिनैपर्छ।"
कोरोनाभाइरस खोपको परीक्षणमा यस्तो पहिलो पटक नभएको वाल्श बताउँछन्।
गत एप्रिलमा सहभागीहरूलाई कोरोनाभाइरसविरुद्ध लड्ने क्षमता विकास गर्न पहिलो पटक खोप दिइएपछि कुनै सहभागीमा समस्या देखिएको यो दोस्रो अवसर हो।
कोभिड-१९ को खोप विकास छिट्टै गर्नका लागि बनाइएको कार्यक्रमको जिम्मेवारीमा रहेका एक अमेरिकी अधिकारी मन्सेफ स्लावोईले अमेरिका र यूकेमा रहेका बाहिरका विज्ञहरूको टोलीले "कम्पनीको खोप परीक्षणमा सहभागीको विस्तृत समीक्षा गरिरहेको र कुनै पनि प्रतिकूल घटना देखाप र्दा यो नै मानक प्रक्रिया रहेको" बताए।
कोभिड-१९ विरुद्धको खोप सुरक्षित हुन्छ?

तस्बिर स्रोत, Reuters
समाचार आएलगत्तै अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बजारमा जाने खोप सर्वसाधारणका लागि सुरक्षित होस् भन्ने प्रत्याभूत गर्न परीक्षण रोक्ने निर्णयमा पुगिएको प्रतिक्रिया जनाए।
मङ्गलवार एस्ट्राजेनेकासहित कोभिड-१९ को खोप बनाइरहेका नौवटा औषधि उत्पादक ठूला कम्पनीहरूले खोप विकास गर्दा सुरक्षालाई "उच्च प्राथमिकता" मा राख्ने भन्दै एउटा "ऐतिहासिक प्रतिबद्धता"मा हस्ताक्षर गरेका छन्।
जोनसन एन्ड जोनसन, बायोएनटेक, ग्ल्याक्सोस्मिथक्लाईन, फाईजर, मर्क, मोडर्ना, सानोफी र नोभाभ्याक्सजस्ता कम्पनीहरू रहेको समूहले खोपको खोजीमा "विज्ञानसँग एक भएर उभिने" वाचा गरेको छ।
कोभिड-१९ विरुद्धको खोप विकासमा हामी कति नजिक?

तस्बिर स्रोत, EPA
विश्व स्वास्थ्य सङ्गठनले विश्वभरि झन्डै १८० वटा खोपको परीक्षण भइरहेको तर तीमध्ये कुनैले पनि क्लिनिकल परीक्षण पूरा नगरेको जनाएको छ।
सङ्गठनले सुरक्षित तरिकाले परीक्षण गर्न समय लाग्ने भएकोले यो वर्ष नै कुनै पनि खोपले अनुमति पाउने अपेक्षा आफूले नराखेको बताएको छ।
प्रभावकारिता र सुरक्षा निर्देशिका पूरा गरेर अनुमति पाउन कुनै पनि खोपलाई समय लाग्ने उसले बताएको हो।
परीक्षणको पहिलो र दोस्रो चरण सफलतापूर्वक पार गरिसकेकोले एस्ट्राजेनेका-अक्सफर्ड विश्वविद्यालयले बनाइरहेको खोपलाई अग्रपङ्क्तिमा रहेको प्रतिस्पर्धीको रूपमा हेरिएको छ।
तेस्रो चरणको परीक्षणका लागि अमेरिका, यूके, ब्रजिल र दक्षिण अफ्रिकाका करिब ३०,००० मानिसहरू हालैका साता यसमा सहभागी भएका छन्।
तर यी सबै परीक्षणहरू अहिलेका लागि रोकिएको छ।
खोपको तेस्रो चरणको परीक्षणमा हजारौँ सहभागी हुन्छन् र यो वर्षौंसम्म लम्बिन सक्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो नोभेम्बर महिनाको ३ तारिखमा हुने राष्ट्रपतीय चुनावअघि नै अमेरिकामा उपलब्ध होस् भन्रे आफूले चाहेको बताएका छन् ।
तर उनका टिप्पणीहरूले खोप निर्माणमा हतारिँदा सुरक्षाभन्दा राजनीति प्राथमिकतामा पर्ने चिन्ता केहीमा बढेको छ।
रुसमा छिट्टै बनेको खोपप्रति पनि केही वैज्ञानिकहरूले अविश्वास व्यक्त गरेका छन् र रुसी अध्ययनको केही परिणामहरूलाई चुनौती दिएका छन्।








