वाईल्डलाईफ फोटोग्राफी प्रतियोगिताः यो तस्बिरमा तपाईँ कतिवटा गोही देख्नुहुन्छ?

घडियाल

तस्बिर स्रोत, Dhritiman Mukherjee/WPY/NHM

तस्बिरको क्याप्शन, पितृवात्सल्यः एउटा भाले गोहीको ढाड चढेर घाम ताप्दै भुराभुरीहरू
    • Author, जोनाथन एमस
    • Role, बीबीसी विज्ञान संवाददाता

यो तस्बिरमा तपाईँ कतिवटा गोही देख्नुहुन्छ? सयवटा?

गन्न अलमल भयो भने दोहोर्‍याउन पनि पाउनुहुन्छ। किनभने यो भाले घडियाल गोहीको जीउमा बच्चाहरू चढेका छन् र ती खप्टिएका पनि छन्।

यो तस्बिर धृतीमान मुखर्जीले भारतको चम्बल अभयारण्यमा खिचेका हुन्। यस वर्ष आयोजित वाईल्डलाईफ फोटोग्राफर अफ त यिअर (वाईपीवाई) प्रतियोगितामा समाविष्ट यो तस्बिरलाई धेरैले मन पराएका छन्।

घडियाल गोही गम्भीर सङ्कटमा परेको जीव हो। दक्षिण एशियामा कुनै बेला यसको सङ्ख्या २०,००० भन्दा बढी थियो। तर अहिले वयस्क गोहीको सङ्ख्या १,००० भन्दा कम भएको अनुमान गरिएको छ। घडियाल संरक्षणका लागि स्थापित उक्त अभयारण्यमा तीमध्ये तीनचौथाइ भएको बताइन्छ।

"यो भालेले सात-आठवटा पोथीसँग समागम गरेको थियो," मुखर्जीले भने।

"अरू गोहीभन्दा घडियाल प्रायः लज्जालु हुन्छ। तर यो गोही चाहिँ निकै सुरक्षात्मक थियो। नजिक पुग्दा त्यसले मलाई झम्टिन्थ्यो," उनले बीबीसी न्यूजलाई भने।

वाईपीवाईको आयोजक लन्डनस्थित न्याचरल हिस्ट्री म्यूजीअम (एनएचएम) का वरिष्ठ अधिकारी प्याट्रिक क्याम्पबेल भन्छन्, "अरू गोहीले आफ्नो मुखमा भुराभुरी बोक्छन्। तर थुतुनोको असामान्य आकारले गर्दा घडियाललाई त्यसो गर्न सम्भव छैन। त्यसैले तिनका बच्चा सम्बन्ध र संरक्षणका लागि टाउको र ढाडमा चढ्छन्।"

धृतीमान मुखर्जीले अर्को कोणबाट खिचेको तस्बिर

तस्बिर स्रोत, Dhritiman Mukherjee

तस्बिरको क्याप्शन, धृतीमान मुखर्जीले अर्को कोणबाट खिचेको तस्बिर

वासस्थान विनाशका कारण घडियाल सङ्कट परेको हो।

बाँध र बराज बनाइएकाले नदीको प्रवाह रोकिँदा घडियाल मासिन थाल्यो। नदीबाट बालुवा र गिटी निकाल्दा तिनलाई गुँड बनाउन पनि गाह्रो भएको छ। अनि माछा मार्न थापिएको जालो र पासोमा पनि ती फस्छन्।

माथिको तस्बिर "बिहेभीअरः एम्फिबीअन एन्ड रेप्टाईल्स" वर्गमा प्रतियोगितामा समाविष्ट छ।

लन्डनस्थित सङ्ग्रहालयमा घडियालका पुराना नमुनाहरू छन्

तस्बिर स्रोत, Patrick Campbell

तस्बिरको क्याप्शन, लन्डनस्थित सङ्ग्रहालयमा घडियालका पुराना नमुनाहरू छन्
Presentational grey line

यो प्रतियोगितामा विभिन्न वर्गका विजेताको नाम अक्टोबर १३ मा घोषणा गरिनेछ।

तर कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको पुरस्कार वितरण कार्यक्रम अनलाइन हुनेछ।

विगत ५६ वर्षदेखि यो प्रतियोगिता हुँदै आएको छ।

बीबीसी वाईल्डलाईफ म्यागजीन (तात्कालिक नाम 'एनमल्स') ले सन् १९६५ मा यो प्रतियोगिता सुरु गराएको थियो। अहिले एनएचएमले पूर्ण रूपमा आयोजना गर्छ।

चराको तस्बिर

तस्बिर स्रोत, Alessandra Meniconzi/WPY/NHM

युरोपको पर्वतीय शृङ्खला आल्प्स्टाईन मासिफमाथि तीव्र वेगमा चलिरहेको वायुसँग जुध्दै उडिरहेका चराहरूको तस्बिर (बिहेभीअरः बर्ड्स) पनि धेरैले मन पराएका छन्।

यो तस्बिर आलेस्सान्द्रा मेनिकोन्जीले खिचेकी हुन्।

आल्प पर्वतीय क्षेत्रमा ती पक्षीहरू मानिसले फालेको खानेकुरा खान आउँछन्।

Spider image by Jaime Culebras

तस्बिर स्रोत, Jaime Culebras/WPY/NHM

अनि यो चाहिँ पोथी माकुराले भ्यागुताका फुलहरू खाइरहेको तस्बिर हो।

यो तस्बिर स्पेनका फोटोग्राफर हाइमे कोलेब्रासले एक्वडोरस्थित एउटा वन्यजन्तु आरक्षभित्र एउटा सानो खोलामा खिचेका हुन्।

माकुराले आफ्नो मुखबाट पाचनरस फुलमाथि ओकल्छ र पग्लिएपछि खान्छ।

कोलेब्रसले माकुराले एक घण्टा लगाएर फुल खाएको तस्बिर खिचे। बिहेभीअरः इन्भर्टिब्रेट्स वर्गमा समाविष्ट यो तस्बिर पनि धेरैले मन पराएका छन्।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरेअनुसार सुरक्षित