घडियाल: विश्वमै अतिसङ्कटापन्न एउटा जीवको संरक्षणमा नेपालबाट नयाँ आशा

तस्बिर स्रोत, Ashish Bashyal_ZSL
- Author, हेलन ब्रिग्स
- Role, बीबीसी न्यूज
नेपालको दुर्गम क्षेत्रमा केही बच्चाहरू भेटिएपछि दुर्लभ र अनौठो मानिने घडियाल प्रजातिको गोहीको संरक्षणमा आशा जागेको छ।
विशेष प्रकारको लामो पातलो चोचो हुने उक्त सरीसृप अर्थात् घिस्रिने जीव अनौठो खालको तर गम्भीर खतरामा छ। प्राकृतिक वासस्थानमा वयस्क घडियालको सङ्ख्या एक हजारभन्दा कम छ।
वैज्ञानिकहरूका अनुसार १०० वटा घडियालका बच्चा भेटिनु भनेको त्यो प्रजातिको सम्भावित पुनरुत्थानका लागि प्रोत्साहन हो।
नेपाल, भारत र बाङ्ग्लादेशमा घडियाल आफ्नो अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको छ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र बलौटे बगरमा घाम तापेर बसेका गोहीका बच्चा भेटिनु अद्भुत कुरा भएको जूअलजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) का अनुसन्धानकर्ता रिकि गम्ब्स बताउँछन्।
उनी भन्छन्, "त्यस क्षेत्रमा उक्त प्रजातिको सङ्ख्या पाँचवटामा सीमित छ भनिएका बेला त्यो वास्तवतमै सकारात्मक खोज हो।"
उनका अनुसार नेपालमा घडियाल प्रजातिको गोहीलाई दीर्घकालीन रूप जोगाइराख्न यो महत्त्वपूर्ण कदम हो।

तस्बिर स्रोत, Rikki Gumbs_ZSL
नेपालमा घडियाल संरक्षण परियोजनाको नेतृत्व गरिरहेका आशिष बस्याल पनि यसलाई महत्त्वपूर्ण उपलब्धि मान्छन्।
"जङ्गलमा घण्टौँ हिँडेपछि एउटा थुम्कोमा बसेर तल कोरलिएका बच्चाहरू देखेको क्षण अविश्वसनीय थियो," उनी भन्छन्।
उनका अनुसार झन्डै ३० सेन्टिमिटर ती बच्चा "ठ्याक्कै वयस्क घडियालका साना स्वरूप जस्ता, गज्जबका प्यारा" देखिएका थिए।
तीनवटा भाले र एउटा पोथी घडियालसँगै एक सयवटा बच्चा गत जुन महिनामा फेला परेका हुन्।
तर अहिले संरक्षणको प्रयासलाई सघाउन त्यससम्बन्धी विस्तृत विवरण बाहिर ल्याइएको हो। उक्त क्षेत्रमा ३० वर्षदेखि घडियाल देखिएको थिएन।
घडियालका बच्चाहरू गत वर्षायामपछि पुन: फेला परेको उत्साहजनक समाचार पनि छ।
"विशेषत: त्यो प्रजातिलाई प्रभावित तुल्याइरहेको खतरासँगै उनीहरूले पहिलो ठूलो अवरोध पार गरेका छन्," रिकी गम्ब्सले बीबीसी न्यूलसँग भने, "ती बच्चाहरूले आफूलाई वयस्क बनाउन सक्नु निकै महत्त्वपूर्ण छ।"
कुनै बेला भारतीय उपमहाद्वीपभरि पाइने घडियाल पहिले पाइने क्षेत्रमा अहिले दुर्लभ भएका छन्।
नेपालमा एक सयभन्दा कम वयस्क घडियाल बाँकी छन् भने भारतमा उक्त प्रजाति विभिन्न स्थानमा छरिएर अतिसङ्कटापन्न स्थितिमा रहेको छ।
घडियालको अर्को एउटा मात्र प्रजनन नेपालको चितवन राष्ट्रिय निकुञ्जमा हुन्छ।

तस्बिर स्रोत, Ashish Bashyal _ZSL
घडियालबाट मान्छेलाई खासै खतरा हुँदैन।
त्यो प्रजातिको सिकार र अण्डा सङ्कलन गर्न प्रतिबन्धत लगाइएको छ।
तर नेपालमा घडियाल संरक्षणको निम्ति बाँधहरूको निर्माणका कारण वासस्थानको अभाव, प्रदूषण, माछा मार्ने काम, कृषि र अन्य प्रजातिबाट हुने घडियालको सिकार आदि गम्भीर समस्या बाँकी छन्।
वयस्क घडियाल लामा हुन्छन्। भालेको लम्बाइ पाँच मिटरभन्दा बढी र तौल २५० किलोजति हुन्छ।
भालेको थुतुनोको माथिल्लो भागमा एउटा गाँठो विकसित हुन्छ।
घडियाल जेडएसएलको एडीजीई (ईभलूशनरी डिस्टिङ्क्ट एन्ड ग्लोबली एन्डेन्जर्ड) अफ एग्जिस्टन्ट्स कार्यक्रमको सरीसृपको सूचीमा १७ औँ स्थानमा छ।

यो पनि हेर्नुहोस्









