एलेक्सी नभाल्नी: 'विष खुवाइएका' रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचकलाई उपचारका लागि जर्मनी पुर्‍याइयो

बिरामी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शनिवार बिहान नभाल्नीलाई एम्बुलेन्सबाट विमानस्थल पुर्‍याइएको थियो

गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी पुर्‍याइएको छ।

हाल अचेत अवस्था (कोमा)मा रहेका उनलाई चियामा विष हालेर दिइएको उनका समर्थकहरूको आशङ्का छ।

लगत्तै जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी थिइन्।

ओम्स्कमा एलेक्सीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले अन्यत्र लानका लागि उनी निकै बिरामी रहेको बताएका थिए।

तर पछि उडानका लागि उनको अवस्था स्थिर रहेको उनीहरूले बताए। पत्नी युलीया उनीसँगै जर्मनी गएकी छन्।

जर्मनीको गैर सरकारी संस्था सिनेमा फर पीसले उनको उडानको खर्च बेहोर्दे छ। उनलाई बर्लिन लगिएको छ।

एलेक्सी नभाल्नी

तस्बिर स्रोत, Reuters

"एलेक्सी सवार विमान उडिसकेको छ," उनकी प्रवक्ताले शनिवार बिहान ट्विट गरिन्। "समर्थनका लागि सबैलाई हार्दिक धन्यवाद। एलेक्सीको जीवन र स्वास्थ्यका लागि सङ्घर्ष सुरु हुँदै छ।"

मस्को जाँदै गर्दा बिहीवार उनी बिरामी परेका थिए। लगत्तै उनी सवार विमानले आपत्‌कालीन अवतरण गरेको थियो।

सामाजिक सञ्जालमा देखा परेका तस्बिरहरूमा उडान अघि विमानस्थलमा उनले एउटा कप मा केही पिउँदै गरेको देखिन्छ। उनको टोलीले त्यो चियामा विष हालिएको हुन सक्ने आशङ्का गरेका छन्।

शुक्रवार चिकित्सकहरूले के भने

विमान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शनिवार बिहान नभाल्नी सवार विमान बर्लिनका लागि उडेको थियो

नभाल्नीको उपचारमा संलग्न प्रमुख चिकित्सकले उनलाई आफूहरूले हवाई यात्राका लागि सिफारिस नगर्ने बताएका थिए "तर उनकी पत्नीले भने जर्मनीस्थित अस्पतालमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिएकी थिइन्"।

कोमामा रहेका उनको स्थिति स्थिर रहेको बताइएको छ।

नभाल्नी लिएर आएको विमान टेगल विमानस्थल बर्लिनमा शनिवार विहान अवतरण गरेको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नभाल्नी लिएर आएको विमान टेगल विमानस्थल बर्लिनमा शनिवार विहान अवतरण गरेको छ

चिकित्सकहरूले उनको शरीरमा विष नपाइएको बताउँदै उनको त्यो अवस्था रगतमा चिनीको मात्रामा कमीका कारण भएको "मेटाबोलिक डिसअर्डरले" निम्ताएको हुन सक्ने सङ्केत गरे।

त्यसपछि उनको छाला र कपालमा औद्योगिक रसायनको अंश पाइएको चिकित्सकहरूले सङ्केत गरे।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नीले सरकारी भ्रष्टाचारको भण्डाफोर गर्दै आएका थिए। ४४ वर्षीय नभाल्नी कैयौँ पटक जेल पनि परिसकेका छन्।

उनले गत जुन महिनामा संविधान सुधारको निम्ति गरिएको मतदानलाई 'कु' र संविधानको उल्लङ्घनको सङ्ज्ञा दिएका थिए।