अमेरिकी चुनाव २०२०: डोनल्ड ट्रम्पले अमेरिकालाई 'जीर्ण बनाएको' विपक्षी उम्मेदवारको आरोप

तस्बिर स्रोत, Reuters
अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अक्षम नेता भनेका छन्।
उनीहरूले ट्रम्पले अमेरिकालाई "जीर्ण बनाएको" पनि दाबी गरे।
बाइडेनले उपराष्ट्रपतिमा ह्यारिसलाई चयन गरेको भोलिपल्ट उनीहरू चुनावी अभियानमा सँगै देखिएका हुन्।
राष्ट्रपति ट्रम्पले त्यसको प्रतिउत्तर दिँदै ह्यारिस आफ्नो राष्ट्रपति अभियानमा 'चट्टानजस्तै खसेको' बताए।
नोभेम्बरमा हुने चुनावमा बाइडेन र ट्रम्प राष्ट्रपतिका उम्मेदवार छन्।
बुधवार विल्मिङ्टनमा भएको बाइडेनको चुनावी कार्यक्रम सर्वसाधारणका लागि खुला थिएन।
बाइडेनले के भने?
बाइडेनले कोरोनाभाइरसबाट बच्नका लागि कार्यक्रम खुला नगरिएको बताए।
दुवै उम्मेदवारले मास्क लगाएर मञ्चमा सामाजिक दूरी कायम गर्दै सम्बोधन गरे।
हल्का वर्षा भइरहेका बेला करिब ७५ जना मानिसहरू कार्यक्रमस्थल बाहिर भेला भएका थिए। रोयटर्स समाचारसंस्थाका अनुसार तीमध्ये केही बाइडेनका आलोचक पनि थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै बाइडेनले भने, "आगामी नोभेम्बरमा हामीले गर्ने चयनले धेरै लामो समयका लागि अमेरिकाको भविष्यको निर्णय गर्नेछ।"

तस्बिर स्रोत, Getty Images
उनले ट्रम्पले पहिले नै ह्यारिसबारे नकारात्मक टिप्पणी गर्न थालिसकेको भन्दै उनको आलोचना गरे।
उनले ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नसकेकोमा पनि आलोचना गरे।
ह्यारिसले के भनिन्?
ह्यारिसले आफू काम गर्न तयार रहेको बताइन्।
उनले भनिन्, "अमेरिका नेतृत्वका लागि रोइरहेको छ। अहिलेसम्म हामीसँग त्यस्ता राष्ट्रपति छन् जो उनलाई चुन्ने जनताभन्दा आफ्नो बारेमा बढी सोच्छन्।"
उनले ट्रम्पको कडा आलोचना गरेकी थिइन्।
उनले भनिन्, "हामीले काम गर्न नसक्ने व्यक्तिलाई चयन गर्यौँ भने के हुन्छ भन्ने देखिएको छ।"
"हाम्रो देश जीर्ण बनेको छ र विश्वभरि नै हाम्रो प्रतिष्ठा गुमेको छ।"








