चीन-अमेरिका तनाव: टेक्ससस्थित वाणिज्य दूतावास बन्द गर्न अमेरिकाद्वारा निर्देशन

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित आफ्नो वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न चीनलाई भनेको छ।
बेइजिङले त्यसलाई "राजनीतिक रूपले उक्साहटपूर्ण" कदमको सङ्ज्ञा दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले "बौद्धिक सम्पत्तिको रक्षाका निम्ति" उक्त कदम चालिएको जनाएको छ।
तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले त्यसलाई "आक्रामक तथा अनुचित" भनेका छन्।
वाणिज्य दूतावासको हाताभित्र अपरिचित व्यक्तिहरूले फोहोर फाल्ने भाँडामा कागजहरू जलाउँदै गरेको भिडिओ सार्वजनिक भएपछि पछिल्ला वक्तव्यहरू आएका हुन्।
अमेरिका र चीनबीच पछिल्लो समय तनाव बढ्दो छ।
बेइजिङसँगको व्यापार, कोरोनाभाइरस महामारी तथा हङ्कङमा चीनले लागु गरेको नयाँ सुरक्षा कानुनको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको निरन्तर आलोचना गरिरहेका छन्।
पछिल्लो सन्दर्भको कुरा गर्दा मङ्गलवार अमेरिकी न्याय मन्त्रालयले चीनमाथि ह्याकरहरूलाई प्रायोजन गरेको आरोप लगायो। ती ह्याकरहरूले कोरोनाभाइरसविरुद्धको खोपको विकासमा जुटिरहेका प्रयोगशालाहरूलाई निसाना बनाएको बताइन्छ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छन्, "अमेरिकी बौद्धिक सम्पत्ति तथा अमेरिकी व्यक्तिगत सूचनाहरूको रक्षार्थ हामीले मङ्गलवार चिनियाँ जनगणतन्त्रको वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएका छौँ।"
आफ्नो निर्णय तत्काल फिर्ता नगरे जबाफी कदम चाल्ने चेतावनी चिनियाँ विदेश मन्त्रालयले दिएको छ।
उसले अमेरिकामा रहेका चिनियाँ विद्यार्थीप्रति दुर्व्यवहार हुन सक्ने र उनीहरू पक्राउ पर्न सक्ने भन्दै सजग रहन भनेको छ।








