अमेरिकी थप सहरमा सङ्घीय सुरक्षा अधिकारी पठाउने ट्रम्पको चेतावनी

सुरक्षा अधिकारी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी प्रदर्शनहरूलाई नियन्त्रण गर्नका लागि कानुन कार्यान्वयन गराउने सङ्घीय अधिकारीहरूलाई अमेरिकाका प्रमुख सहरहरूमा पठाउने चेतावनी दिएका छन्।

ट्रम्पले सोमवार उनकै शब्दमा उदारवादी डेमोक्र्याहरूले न्यूयोर्क र सिकागोजस्ता सहरहरूमा कदम चाल्न डराएको भन्दै आलोचना गरेका थिए।

उनले ओरेगन पठाइएका सङ्घीय सुरक्षा अधिकारीहरूले प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा 'उत्कृष्ट काम गरेको' बताएका छन्।

स्थानीय अधिकारीहरूले भने सङ्घीय अधिकारीहरूले अवस्था झन् खराब बनाएको बताएका छन्।

हटाउन माग

राज्यस्तरका नेताहरूले पोर्टल्याण्डबाट सङ्घीय सुरक्षा अधिकारीलाई हटाउन ट्रम्पसमक्ष माग गरेका छन्।

ती सुरक्षा अधिकारीले चुनाव हुने वर्ष राजनीतिक तमाशा देखाएर अवस्था थप खराब बनाएको आरोप ती नेताहरूले लगाएका छन्।

सडकमा प्रदर्शनकारी

तस्बिर स्रोत, Reuters

सोमवार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सञ्चारकर्मीसँग भने, "हामीले कानुन कार्यान्वयन गराउने सुरक्षा अधिकारीहरूलाई पठाउँदैछौं। हामीले सहरहरूमा यस्तो हुन दिँदैनौं।"

उनले खासगरी न्यूयोर्क, सिकागो, फिलडेलफिया, डेट्रोइट, बल्टिमोर र ओकल्याण्डको नामै लिएर त्यहाँ समस्या भएको बताए।

"हामी हाम्रो देशमा यो हुन दिँदैनौं। यी सबै उदारवादी डेमोक्र्याटहरूले चलाएका राज्य हुन्।"

उनले पोर्टल्याण्टमा पठाइएका कानुन कार्यान्वयन गराउने सङ्घीय सुरक्षा अधिकारीको प्रयासको पनि प्रशंसा गरे जुन कुरा आफैँमा विवादास्पद बनेको छ।

उक्त सहरमा गत मे महिनामा एकजना अश्वेत नागरिक जोर्ज फ्लोइडको प्रहरीको बर्बर्ताका कारण मृत्यु भएदेखि नै प्रदर्शनहरू जारी छ।

ट्रम्पले उक्त सहरमा अशान्त रहेका नागरिकमाथि बलप्रयोग गर्न सुरक्षाकर्मीलाई परिचालन गरेका थिए।

गएको साता उक्त सहरमा प्रदर्शनकारीहरू र सुरक्षा अधिकारीबीच तनाव चुलिएको थियो।

ट्रम्पले के भने?

स्थानीय नेताहरूले सङ्घीय सुरक्षा अधिकारीलाई सहर छोडेर जान भनेका छन्।

ट्रम्पले भने ओरेगनका गभर्नर, पोर्टल्याण्डका मेयर र राज्यका अन्य सुरक्षा अधिकारीहरू 'अराजकतावादी'हरूबाट डराएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

"उनीहरू यी मानिसहरूबाट डराएका छन्," उनले भने।

"त्यही कारण उनीहरू हाम्रो मद्दत गर्न चाहँदैनन्।"

उनले सङ्घीय अधिकारीहरू तीन दिनदेखि त्यहाँ रहेको र उनीहरूले थोरै समयमा उत्कृष्ट काम गरिरहेको बताए।

गत महिना ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेश अन्तर्गत सङ्घीय अधिकारीहरूलाई परिचालन गरिएको हो।

उक्त आदेश अनुसार अमेरिकी राज्यहरूको अनुमतिबिना नै ती राज्यहरूमा सङ्घीय अधिकारीहरू पठाउन पाइन्छ।

सोमवार सिकागो ट्रिब्युन पत्रिकाले यो साता सिकागोमा पनि १५० त्यस्ता सुरक्षा अधिकारीलाई परिचालन गर्ने योजना रहेको समाचार लेखेको थियो।

आइतवार पोर्टल्याण्डका मेयर टेड ह्वीलरले सीएनएनसँग बोल्दै सहरमा सयौं सङ्घीय सुरक्षा अधिकारी रहेको बताउँदै उनीहरूको उपस्थितिले थप हिंसाको अवस्था निम्त्याएको बताए।

"उनीहरू यहाँ चाहिएको छैन। हामीले उनीहरूलाई बोलाएका पनि होइनौं। खासमा, हामी उनीहरू यहाँबाट जाउन् भन्ने चाहन्छौं," उनले भने।