बाल यौन शोषणमा दोषी ठहर अमेरिकी व्यापारी जेफ्री एप्स्टीनकी पूर्वप्रेमिका तथा प्रभावशाली ब्रिटिश महिलाविरुद्ध मुद्दा

सन् २००५ मा न्यूयोर्कमा एप्स्टीनसँग म्याक्स्वेल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००५ मा न्यूयोर्कमा एप्स्टीनसँग म्याक्स्वेल

बाल यौन शोषणको अभियोगमा दोषी ठहरिएका अमेरिकी धनाढ्य जेफ्री एप्स्टीनकी पूर्वप्रेमिका तथा प्रभावशाली ब्रिटिश महिला गिलेन म्याक्स्वेलविरुद्ध अमेरिकामा मुद्दा दर्ता भएको छ।

सङ्घीय जाँच ब्यूरो (एफबीआई) पक्राउ गरेपछि उनलाई अदालतमा उपस्थित गराइएको छ।

उनीमाथि दिवङ्गत पूर्वप्रेमी जेफ्री एप्स्टीनलाई कम उमेरका बालिकाहरूबाट यौनकार्य गराउन सहयोग गरेको आरोप लगाइएको छ।

अभियोजनकर्ताहरूका अनुसार म्याक्स्वेलले एप्स्टीनलाई ती बालिका पहिचान गर्न र रेखदेख गर्ने कार्यका लागि महत्त्वपूर्ण सहयोग पुर्‍याएकी थिइन्।

कुनै पीडितहरू १४ वर्षका कलिला किशोरीहरू पनि थिए र उनीहरूसँग दुर्व्यवहार हुँदा म्याक्स्वेल पनि संलग्न भएको आरोप अभियोजनकर्ताहरूको छ।

उनलाई भिडिओ कलमार्फत् न्यायाधीशसमक्ष उपस्थित गराइएको थियो। उनलाई न्यूयोर्कमा हिरासतमा राख्न पठाइएको छ।

अन्ठाउन्न वर्षीया उनले यसअघि नै कुनै गलत काम नगरेको भन्दै एप्स्टीनको अपराधबारे जानकारी नभएकी बताएकी थिइन्।

अमेरिकी व्यापारी एप्स्टीनले गत वर्षको अगस्ट १० तारिखमा जेलभित्र आत्महत्या गरेका थिए। उनी गत वर्ष न्यूयोर्कमा पक्राउ परेका थिए।

अभियोजनकर्ताहरूले सन् १९९४ देखि १९९७ सम्म एप्स्टीनलाई यौन दुर्व्यवहारका काममा सहयोग गरेको आरोप म्याक्स्वेलमाथि लगाइएका छन्।

अभियोजनकर्ता ओड्रे स्ट्राउसले भनिन्, "एप्स्टीनका लागि नाबालिग पीडितको पहिचान, साथी बनाउने र दुर्व्यवहार गर्ने काममा म्याक्स्वेलको महत्त्वपूर्ण भूमिका रहेको अभियोग लगाइएको छ।"

उनीविरुद्ध छवटा अभियोग छन्। तीमध्ये पाँचवटामा प्रत्येक अभियोगमा पाँच-पाँच वर्षको जेल सजाय हुने प्रवाधान छ। अनि अपराधजन्य यौन क्रियाकलापमा लगाउन कम उमेरका किशोरीलाई ओसारेको छैटौँ आरोपमा १० वर्षसम्म जेल सजाय हुनसक्छ।

गिलेन म्याक्स्वेल ब्रिटिश सञ्चारमाध्यमका प्रभावशाली व्यक्तित्व रोबर्ट म्याक्सवेलकी छोरी हुन्।

एप्स्टीनको पृष्ठभूमि

छैसट्ठी वर्षीय धनी र शक्तिशाली व्यापारी एप्स्टीनले एकताका राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्वराष्ट्रपति बिल क्लिन्टन र राजकुमार एन्ड्रू आफ्नो साथी भएको बताएका थिए।

न्यूयोर्कमा जन्मेका एप्स्टीनले म्यान्ह्याटनको डाल्टन स्कूलमा गणित र भौतिक शास्त्र पढाए।

सन् १९७६ मा उनी वित्तीय क्षेत्रमा लागे र ब्याङ्किङ कम्पनी बीयर स्टिअर्न्समा उनले काम गरे। त्यसको चार वर्षभित्र उनलाई साझेदार बनाइयो।

त्यसपछि उनले आफ्नै वित्तीय व्यवस्थापन कम्पनी जे एप्स्टीन खोले।

सन् १९९६ मा कम्पनीको नाम परिवर्तन गरी उनले द फाइन्यान्शल ट्रस्ट को राखे।

विलासी जीवनशैली, आफ्ना सेवाग्राही र अन्य कारोबारसम्बन्धी गोपनीयताका कारण उनको छवि एक रहस्यमय धनाढ्यका रूपमा बन्यो।