कोरोना भाइरस नेपाल: विश्वभरि मेडिकल अक्सिजनको अभाव हुनसक्ने चेतावनी, नेपालको अवस्था के छ?

अक्सिजन

तस्बिर स्रोत, Getty Images

आगामी केही सातामा विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पुग्ने बताउँदै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले धेरै देशमा मेडिकल अक्सिजन अभाव हुनसक्ने भन्दै सचेत गराएको छ।

नेपालका स्वास्थ्य अधिकारीहरूले पनि विश्व बजारमा त्यस्ता सामग्री अभाव भए नेपालमा पनि असर पुग्ने बताएका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, "हामीकहाँ अहिलेसम्म देखिएको घटनाको आधारमा धेरथोर व्यवस्थापन गर्न सकिन्छ भन्ने हो, पुग्छ भन्ने चाहिँ छैन।"

उक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले मानिसको उपचारमा प्रयोग हुने अक्सिजनको ८० प्रतिशत बजार सीमित कम्पनीहरूको हातमा रहेको र यतिखेर तिनले माग पुग्नेगरी आपूर्ति गर्न नसकेको जनाएको छ।

अवस्था

नेपालमा कोभिड-१९ का बिरामी राखिने एउटा प्रमुख स्वास्थ्यसंस्था शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नेपालमा सुरुसुरुमा सङ्क्रमित फेला पर्नेबित्तिकै अक्सिजनको आवश्यकता बढ्ने आकलन गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बीबीसीलाई बताए।

लकडाउनका बेला अक्सिजन प्लान्ट राख्न नसकिए पनि त्यसको विकल्पको रूपमा ठूलो 'लिक्विड सिलिन्डर' किनेर अस्पताललाई आवश्यक पर्ने कृत्रिम अक्सिजनको जोहो गरिएको उनले बताए।

"ठूलो लिक्विड सिलिन्डर राखेका छौँ। त्यसको भरमा सबै बेडलाई यतिखेर आवश्यक पर्ने जति अक्सिजन पुग्ने प्रबन्ध गरिएको छ। त्यसअघि हामी निजी आपूर्तिकर्ताको भरमा चल्थ्यौँ।"

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

अन्यथा कन्सन्ट्रेटर नामक उपकरण प्रयोग गरेर हावाबाट अक्सिजन सङ्कलन गर्दै तिनलाई प्रशोधन गरेर चिकित्सकीय प्रयोजनको अक्सिजन तयार हुन्छ।

तर काठमाण्डूभित्रै र उपत्यका बाहिरका साना अस्पतालमा भने अक्सिजनको ठूलो अभाव हुनसक्ने चिकित्सक एवं अधिकारीहरूको चिन्ता छ।

सबैतिर कन्सन्ट्रेटर वा लिक्विड अक्सिजन भण्डारण सुविधा नहुने हुँदा त्यस्ता साना अस्पतालका लागि सिलिन्डरकै आवश्यकता पनि बढ्ने अधिकारीहरू बताउँछन्।

नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार अहिले देशका ४५ वटा अस्पतालमा अक्सिजन प्लान्ट र ४६ वटामा अक्सिजन कन्सन्ट्रेटर छन्।

डब्ल्यूएचओले यससँग जुझ्ने कदमहरू नचालिए कोभिड-१९ रोगका कारण कोष र अङ्गलाई आवश्यक पर्ने अक्सिजनको कमी सिर्जना गर्ने र अन्तत: अङ्गहरूले काम नगर्ने एवम् मृत्युसम्म हुनसक्ने जनाएको छ।

नेपालमा 'अभाव हुनसक्ने अवस्था आउनै बाँकी'

केही जनस्वास्थ्यविज्ञहरूले तराईका जिल्लामा सङ्क्रमण समुदायमै फैलिएको हुनसक्ने आशङ्का गरेका छन्।

त्यस्तो भएको अवस्थामा अबको चरणमा वृद्धवृद्धा एवम् दीर्घरोग भएका मानिसहरू सङ्क्रमित हुनसक्ने विज्ञहरूको चिन्ता छ।

नेपालमा पुष्टि भएका १० हजार सङ्क्रमितको तथ्याङ्कको विश्लेषण गर्न अहिले नेपालमा २१ देखि ३० वर्ष उमेर समूहमा सबैभन्दा बढी देखिएको छ।

अझैसम्म ६० वर्षभन्दा माथिको उमेर समूह कम सङ्क्रमण पुष्टि हुनेमध्ये छ। समग्रमा ११ देखि ४० उमेर समूहमा सबैभन्दा बढ्ता सङ्क्रमण देखिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: महामारीसँग सङ्घर्ष गर्ने स्वास्थ्यकर्मीको उपचारमा कुकुर

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, "अक्सिजन उपकरणको खरिद र प्लान्टहरू थप्ने भन्ने योजना छ। त्यसका लागि बजेट पनि छुट्याइएको छ। तर त्यस्ता सामग्रीको अभाव अहिले विश्वभरि नै छ।"

खासगरी दम, मुटुले काम नगरेर फोक्सोमा पानी जम्दा, श्वासनली साँघुरिँदै गएर सास फेर्न गाह्रो बनाउने रोगका अवस्थामा कृत्रिम अक्सिजन आवश्यक पर्छ।

डब्ल्यूएचओले आपूर्तिकर्तासँग त्यस्ता १४,००० अक्सिजन कन्सन्ट्रेटरहरूको उपलब्धता सूनिश्चित गरेको जनाउँदै त्यो आउँदा सातामा १२० देशमा पठाइने जनाएको छ।

डब्ल्यूएचओको आकलन के छ?

डब्ल्यूएचओले गम्भीर रोगका बिरामीलाई अक्सिजनको मात्रा धेरै चाहिने भनेको छ।

तसर्थ व्यावसायिक कन्सन्ट्रेटरहरूको उत्पादन क्षमताले मात्र अक्सिजनको माग थेग्न नसकिने उसले जनाएको छ।

"जुन अवस्थासँग जुझ्नकै लागि उसले थुप्रै देशहरूलाई कन्सन्ट्रेटरहरू उपलब्ध गराएर दिगो समाधान दिन खोजिएको छ," डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन्।

तर त्यसको लागि आवश्यक पर्ने प्राविधिक जटिलतालाई भने चुनौतीपूर्ण मानिएको छ।

डब्ल्यूएचओले आउँदो छ महिनाभित्र थप एक लाख ७० हजार कन्सन्ट्रेटर उपलब्ध हुने जनाएको छ।

उसको अनुमानमा विश्वमा एक सातामा १० लाखका दरले बढिरहेको सङ्क्रमितको सङ्ख्यालाई विचार गर्दा दैनिक ८८ हजार ठूला सिलिन्डर खपत हुनेछन्।