कोरोना भाइरस: बुधवारदेखि हुने प्रीमीअर लीग फुटबलमा कस्तो परिवर्तन हुँदैछ?

प्रिमियर लिग फुटबल

तस्बिर स्रोत, Getty Images

प्रीमीअर लीग प्रतियोगिताका बाँकी खेलहरू बुधवारदेखि हुँदैछन्।

तर हामीले पहिलेदेखि देखेको जस्तो शैलीमा भने होइन।

कोरोनाभाइरस महामारीका कारण रोकिएको १०० दिनपछि बुधवार एस्टन भिला र शेफील्ड यूनाईटिडबीचको खेलसँगै प्रीमीअर लीग मैदानमा फर्कनेछ।

भाइरसपछिको अवस्था

जुलाई २६सम्मको ४० दिनभित्र लीगका ९२ खेल हुनेछन्।

भाइरस सङ्क्रमण फैलिनबाट रोक्ने उपायअन्तर्गत यी खेलहरू दर्शकविहीन मैदानमा खेलाइनेछ।

पहिलो खेलअघि कोरोनाभाइरसले ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिनेछ। ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सम्मानमा ब्याज लगाइनेछ।

सुरुका १२ वटा खेलमा सबै खेलाडीको जर्सीमा तिनको नामको साटो 'ब्ल्याक लाइभ्स म्याटर' लेखिएको हुनेछ। अमेरिकामा मारिएका जोर्ज फ्लोइडको सम्झनामा यसो गरिनेछ।

Presentational white space
कोरोनाभाइरस ब्यानर

खेलाडीहरूको भाइरस परीक्षण

बिततेका साताहरूमा हरेक साता दुई पटक गरी आठ चरणमा प्रीमीअर लीगका खेलाडी तथा कर्मचारीहरूको कोरोनाभाइरस परीक्षण गरिएको थियो।

करिब ८६८७ परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पाइएको थियो।

हालसम्म अङ्कतालिकामा लिभरपुल अगाडि छ भने बोर्नमथ, एस्टन भिला र नर्विच सिटी लीगबाट खस्किने जोखिममा देखिन्छन्।

यदि बुधवार नै हुने अर्को खेलमा तालिकामा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी आर्सनलसँग पराजित भएको खण्डमा लिभरपुलले एउटा खेलमात्रै जिते पनि उसले ३० वर्ष यता पहिलो पटक लीगको उपाधि जित्नेछ।

के परिवर्तन हुँदैछ?

कोरोनाभाइरस महामारीका कारण प्रभावित भएको लीग प्रतियोगिता मैदानमा फर्किँदा थुप्रै परिवर्तनको सामना गर्दैछ।

ती हुन्:

  • सबै खेल दर्शकविहीन रङ्गशालामा खेलाइनेछ। अधिकतम ३०० मानिस उपस्थित हुनेछन्
  • रङ्गशालालाई रातो, सुन्तला र हरियो गरी तीन क्षेत्रमा विभाजन गरिनेछ। हरेक क्षेत्रमा को जान पाउने भनेर नियन्त्रण गरिनेछ
  • प्रत्येक टोलीले एक खेलमा तीनको साटो पाँच खेलाडी परिवर्तन गर्न पाउनेछन्।
  • खेलाडी तथा कर्मचारी मैदानमा पटकपटक गरी प्रवेश गर्नेछन्। सुरु हुनुभन्दा अगाडि हात मिलाइनेछैन। गोलपोस्ट, कर्नर झन्डा, तथा खेलाडी परिवर्तनका बोर्ड हरेक खेलअघि र पछि सफा गरिनेछ
  • खेलस्थलमा आवतजावत गर्दा टोली तथा कोचिङ स्टाफले सामाजिक दूरी कायम गर्नुपर्नेछ
  • म्याचपछिको अन्तर्वार्ता मैदानको छेउमा गरिनेछ भने प्रेस सम्मेलन भर्चूअल रूपमा हुनेछ
  • भिडिओ असिस्टेन्ट रेफरीको उपयोग गरिनेछ