कोरोना भाइरस नेपाल: कोरोनाभाइरसको सङ्क्रमणले मृत्यु हुने थपिए, थप २०१ सङ्क्रमणपछि कुल सङ्क्रमित सङ्ख्या २,३००

तस्बिर स्रोत, RSS
नेपालमा बुधवार थप एक जना कोरोनाभाइरसका कारण मृत्यु भएको र थप २०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २,३०० पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
सङ्क्रमितमध्ये नौ जनाको मृत्यु भइसकेको छ। नयाँ सङ्क्रमितमध्ये २२ जना महिला र १७९ जना पुरुष रहेका छन्।
दोलखाका ७६ वर्षीय पुरुषको त्रिविवि शिक्षण अस्पतालमा बुधवार मृत्यु भएको डा. देवकोटाले बताएका छन्।
कर्णालीमा चार महिने बालकलाई सङ्क्रमण
कर्णाली प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन्।
प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
थप सङ्क्रमितमध्ये कालीकोटका महावै गाउँपालकिा वडा नम्बर ४ का चार महिने बालक पनि रहेको बताइएको छ।

पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा ४१ जना पुरुष र तीन जना महिला गरी कुल ४४ जना व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
तीमध्ये सप्तरीमा १ जना, धनुषामा १ जना, महोत्तरीमा ९ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना र पर्सामा ७ रहेको बताइएको छ। पुष्टि भएका सबै सङ्क्रमितहरू भारतबाट आएको बताइएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ










