दरबार हत्याकाण्डले बिथोलिएको त्यो बृहत् पाँचौ राष्ट्रिय खेलकुद

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
उन्नाइस वर्षअघि विसं २०५८ जेठ १९ गते राजदरबार हत्याकाण्डका कारण देश स्तब्ध बनेको थियो।
जनताहरु अविश्वास र अन्योलमा देखिन्थे, कतिपय आक्रोशित थिए।
एकाएक देश ठप्प हुन पुगेको थियो। सम्पूर्णको ध्यान राजदरबारमा केन्द्रित थियो, हत्याकाण्डको वास्तविक उत्तर सबैको चासोको मुख्य विषय थियो।
तर दरबारमार्गभन्दा झन्डै एक हजार मिटर टाढा रहेको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको दृश्य भने पृथक र थप पीडादायी बनिरहेको थियो।
त्यहाँ जेठ २१ गते बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौ संस्करणको भव्य उद्घाटनका लागि रङ्गशाला सजिएको थियो।
विभिन्न १४ खेल र त्यसमा सहभागी हुन जिल्ला र क्षेत्रीय प्रतियोगिताबाट छनोट भएर आएका १,५०० भन्दा बढी खेलाडीहरू काठमान्डू आउने क्रममा थिए।
खेलाडीहरू प्रशिक्षणमा अन्तिम बल लगाउँदै थिए।
उद्घाटनमा पड्काउने पटाका विमानस्थल आइपुगिसकेको थियो।
पाँच विकास क्षेत्र, नेपाली सेना र नेपाल प्रहरीको टोली विजेता बन्ने दाउमा सम्भावित पदकको लेखाजोखा गर्दै थिए।

तर क्षणभरमै दृश्य पूरै बदलियो। प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भयो।
खेलाडीलाई काठमाण्डूमा स्वागत गर्न तयारी गरिरहेका पदाधिकारीहरू उनीहरूलाई फिर्ता पठाउनमा व्यस्त भए।
तत्कालीन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव विनोद शङ्कर पालिखे सम्झिन्छन्, "कुनै क्षेत्रको टोली थानकोट आइसकेका थिए, कोही मुग्लिङमा त कोही दाङबाट आउँदै गरेका थिए।"
"हामीले सबैलाई जहाँबाट आएको हो, त्यही फर्काउन थाल्यौँ।"
देशमा कर्फ्यु लागेको थियो। उनी भन्छन्, "भद्रगोलको स्थिति बन्यो। आत्तिनु भएन। खेलाडीलाई सुरक्षित घर पुर्याउने, तयारीका बाँकी प्रक्रिया रोक्ने काममा हामी लाग्यौँ।"
पाँचौ बृहत् राष्ट्रिय खेलकुदको स्थगनलाई सदस्यसचिव पालिखे खेलकुदको ठूलो क्षति मान्छन्।
उनी भन्छन्,"तर दरबार हत्याकाण्डको अगाडि त अरु क्षति ठूलो हुन सक्दैन।"
अहिले राष्ट्रिय टोलीबाट सन्न्यास लिइसकेका टेबल टेनिस खेलाडी पुरुषोत्तम बज्राचार्य पाँचौ राष्ट्रिय खेलकुदमा पहिलो पटक राष्ट्रिय टिमबाट करिअर थाल्दै थिए।
उनी सम्झिन्छन्, "हाम्रो मध्यमाञ्चलको टोलीको बन्द प्रशिक्षण ठमेलको होटलमा थियो। पहिलो राष्ट्रिय खेल भएकोले उत्साहित थिएँ। जिल्ला र क्षेत्रीय छनोटमा पहिलो भएकोले ममा बेग्लै जोश थियो।"
"तर बिहान ४ बजे दरबार हत्याकाण्डको खबर थाहा पाएपछि निराश भएँ।"
त्यसपछि ठमेलबाट दरबारमार्ग हेर्न गएको उनी सम्झिन्छन्।
उनी भन्छन्, "त्यसपछि राष्ट्रिय टोलीमा पुग्न मलाई दुई वर्ष लाग्यो।"
खेलकुदमा राजपरिवार
तत्कालीन युवराज दीपेन्द्रलाई खेलकुदमा ज्यादै चासो थियो।
पाँचौ राष्ट्रिय खेलकुदभन्दा अगाडि मात्र नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा राजपरिवारको सक्रियता निकै देखिएको थियो।
पाँचौ राष्ट्रिय खेलकुदमा पनि त्यो चासोले निरन्तरता पाएको थियो।
युवराज दीपेन्द्र पाँचौ राष्ट्रियको खेलस्थलको निरीक्षणमा आउने जाने गर्थे।

दरबार हत्याकाण्ड हुनु छ घण्टा अगाडि मात्र उनी सातदोबाटोको पौडी पोखरी, सुटिङ रेञ्ज र लनटेनिस मैदानको निरिक्षणमा पुगेका थिए।
त्यो नै उनको जीवनको अन्तिम भ्रमण समेत हुनपुग्यो।
भोलिपल्ट अर्थात् जेठ २० गते साँझ ४ बजे रङ्गशालामा पाँचौ राष्ट्रिय खेलको उद्घाटन समारोहको ग्रान्ड रिहर्सल हुँदै थियो र त्यसमा तत्कालीन युवराज दीपेन्द्रले अवलोकन गर्ने कार्यक्रम थियो।
जेठ २१ गते आइतवार साँझ ५ बजे राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका तत्कालिन राजा वीरेन्द्रबाट प्रतियोगिताको उद्घाटन हुने तय भइसकेको थियो।
तत्कालीन राखेप सदस्य सचिव पालिखे सम्झिन्छन्, "खेलकुदमा चासो राख्ने भएर होला, राजपरिवारका सदस्यहरुलाई खेलकुदमा निम्तो गर्न गाह्रो हुदैनथ्यो। झन्झटिलो प्रकृया केही हुन्नथ्यो। तर सबै खत्तम भयो। "
पाँचौ खेलकुद स्थगनको मार
चौथो राष्ट्रिय खेलकुद विसं २०५५ सालमा मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा भएपछि पाँचौ राष्ट्रिय खेलकुद २०५७ सालको फागुन महिनामा सुदूरपश्चिमाञ्चलका तीनवटा शहर धनगढी, महेन्द्रनगर र टिकापुरमा हुने घोषणा गरिएको थियो।
तर भौतिक पूर्वाधार बन्न नसकेकोले एक वर्षपछि काठमाण्डूमा सारियो।
काठमाण्डूमा पनि प्रतियोगिता पटकपटक सारियो।
सबैभन्दा पहिले २०५८ वैशाख २४ गतेबाट प्रतियोगिता सुरु हुने तय गरिएको थियो।
तर त्यतिबेला राजनीतिक हडताल र बन्दका कारण जिल्ला र क्षेत्रीय छनोट प्रभावित हुन पुगेपछि एक महिनापछि अर्थात् जेठ १४ देखि १९ गतेका लागि खेल सारियो।
तर तत्कालीन एमालेलगायत ६ वाम पार्टीले जेठ १४,१५ र १६ गते तीन दिन लगातार नेपाल बन्दको घोषणा गरेपछि तथा जेठ १८ गते नेकपा माओवादी समर्थित जनजाति समूहले अर्को नेपाल बन्दको घोषणा गरेपछि राष्ट्रिय खेलकुदमा प्रश्न चिह्न लाग्यो।
तत्कालीन राखेप सदस्यसचिव पालिखे भन्छन्, "हामीले दलहरूलाई लिखित पत्र नै लेखेर राष्ट्रिय खेलकुदलाई प्रभाव नपर्ने मितिमा आन्दोलन सार्न अनुरोध गर्यो। तर कसैले मानेन।"

खेलकुद परिषद्सँग अर्को विकल्प थिएन। पुन: तेस्रो पटक जेठ २१ गतेदेखि २९ गतेसम्मका लागि मिति तय गरियो।
तर दुई दिन अगाडि दरबार हत्याकाण्ड भयो। त्यसपछि अनिश्चित कालका लागि खेल स्थगित भयो।
पर्खाइ
देशको राजनीतिक परिस्थिति नै बदलिएको दरबार हत्याकाण्डपछि पाँचौ राष्ट्रिय खेलकुदको विषय नै हरायो।
राजनीतिक बदलावसँगै लोकतन्त्रको उदय भयो।
छुट्टै मन्त्रालयको रूपमा युवा तथा खेलकुद मन्त्रालयको गठन भयो।
गोपालमान शाक्य खेलकुदमन्त्री हुँदा पाँचौ राष्ट्रिय खेलकुदको विषय ब्युँतियो।
सरकारले २५ करोड बजेट निकासा गरेपछि २०६५ चैत्र २४ गते लामो उतारचढाव खेपेको यो प्रतियोगिता सुरु भयो।
अर्थात् दरबार हत्याकाण्डको ७ वर्षपछि बल्ल बृहत पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना सम्भव भयो।
त्यसै पनि विसं २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद हरेक दुई वर्षमा आयोजना गर्ने उदेश्य राखिए पनि हालसम्म आठ संस्करण पूरा हुन ३९ वर्ष लागिसकेको छ।























