जब टिकट्कका कारण हराएका पिता भेटिए

गरिबलाई मद्दत गर्न प्रोत्साहन गर्ने उद्देश्य लिएको एउटा टिकट्क भिडिओले अनपेक्षित रूपमा एक जना पुरुषलाई आफ्नो परिवारसँग पुनर्मिलन गराइदिएको छ।
आर वेन्कटेश्वरलु दुई वर्ष यता हराइरहेका थिए र उनी तेलङ्गनास्थित उनको घरबाट दुई हजार किलोमिटर पर एउटा सडकको फ्लाइओभरमा खिचिएको भिडिओमा देखा परेका थिए।
एकजना मित्रले उनको परिवारलाई उक्त भिडिओकोबारेमा खबर गरिदिएका थिए र उनीहरूले पन्जाबका प्रहरीहरूसँग सम्पर्क गरेपछि पारिवारिक मिलन सम्भव भएको थियो।
“मैले पहिलो पटक उनलाई देख्दा म भक्कानिएर रोएँ,” उनका छोराले बीबीसी तेलुगुलाई भनेका छन्।
उनी कसरी हराए?
आर वेन्कटेश्वरलुलाई बोल्न र देख्न समस्या रहँदै आएको थियो। तेलङ्गनाको एउटा गाउँमा आफ्नो परिवारसँग उनले आफ्नो सम्पूर्ण जीवन विताएका थिए। श्रमिकका रूपमा काम गर्ने उनका श्रीमती र पाँच सन्तान छन्।
सन् २०१८ को एप्रिलमा उनी ट्रक चढेर अर्को गाउँमा काम गर्न गएका थिए।
“मेरा बुबा निदाएकाले ट्रक चालकलाई उहाँ त्यहाँ रहेको थहा नै भएन। कैयौँ किलोमिटर यात्रा गरेपछि चालकले मेरा बुबा ट्रकमा रहेको सम्झिए र सडकको बीचमा नै छाडिदिए,” उनका छोरा आर पेड्डीराजुले भने।

उनी कसरी पत्ता लागे?
भाग्यले वेन्कटेश्वरलुलाई आफ्नो परिवारसँग भेट गराएको हो।
कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भारत सरकारले लकडाउनको घोषणा गरेयता पन्जाब प्रहरीका कन्स्टेबल अजाइब सिंह लुधियाना क्षेत्रमा रहेका आप्रवासी र गरिबहरूलाई खाना बाँड्न नियमित रूपमा जाने गरेका थिए।
आफ्नो टिकट्क च्यानलमा ८ लाख भन्दा बढी फ्लोअर्स रहेका उनले लकडाउनको समयमा गरिएका परोपकारी कामहरूको भिडिओ राखेका छन्।
मार्चमा अपलोड गरिएको एउटा भिडिओमा सिंहले लुधियानाको फ्लाइओभरमा बसिरहेका मानिसहरूलाई खाना बाँडीरहेको देख्न सकिन्छ।
तेलङ्गनामा पेड्डीराजुका एक जना साथीले उक्त भिडिओ हेरे र उनलाई त्यसम वेन्कटेश्वरलुलाई देखेको जस्तो लाग्यो। त्यसपछि उनले उनको परिवारलाई जानकारी दिए।
यसबारे लुधियानाको प्रहरीलाई जानकारी गराइयो। प्रहरीले वेन्कटेश्वरलुलाई फेला परेपछि छोरासँग टेलिफोन सम्पर्क गराएको थियो।
पेड्डीराजु भन्छन्, “पहिलो पटक हामी दुवै जना भक्कानिएका थियौँ। बुबाले मलाई उनकै तरिकाले सङ्केत गर्दै त्यहाँ आएर घर लैजान भन्नुभयो।”
प्रहरीले उनलाई लकडाउन सकिएपछि मात्र आफ्नो बुबालाई भेट्न सुझाव दिएका थिए।
तर उक्त परिवारले त्यत्रो लामो समय कुर्न ठीक ठानेन र उनीहरूले एउटा राज्यबाट अर्को राज्यमा यात्रा गर्ने अनुमतिपत्र बनाए।
एक हप्ता भित्रै लुधियाना पुगेर उनले आफ्ना बुबालाई भेटिसकेका थिए। त्यसपछि गएको मङ्गलबार साँझ उनीहरू आफ्नो गाउँ फर्किए।
“यति लामो समयसम्म हाम्रो बुबा हामीबाट अलग भएको यो पहिलो पटक हो। उहाँले पछिल्लो दुई वर्ष आफूले खासै खाने बानी नभएको खानेकुरा रोटीमात्रै खाएर बिताउनुभयो।”
“सबैभन्दा पहिला अब हामी उहाँलाई घरमा पकाएको तातो तातो भात खुवाउँछौँ।”











