कोरोना भाइरस दोस्रो लहर: लकडाउन खुकुलो पार्दै गर्दा पूर्वी एशियाका देशहरूबाट सिक्नुपर्ने पाठ यस्ता छन्

तस्बिर स्रोत, Getty Images
- Author, ईभा अन्टेभेरोस
- Role, बीबीसी विश्व सेवा
कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर हुन्छ कि हुँदैन भनेर अब प्रश्न गर्नुपर्ने अवस्था रहेन। बरु त्यो कहिले र कति भयानक हुन्छ भन्ने प्रश्न प्रमुख मानिएको छ।
जीवशास्त्री डा. जेनिफर रोनले एशिया महादेशमा कोभिड-१९ महामारीको विकासक्रम र त्यसको विश्वव्यापी विस्तारको शैलीलाई नियालिरहेकी छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरस मानिसहरूसँगै रहने बताउँदै यसलाई नियन्त्रणमा राख्न 'ठूला प्रयास' आवश्यक हुने जनाएको छ।
यस महामारीसँग सङ्घर्ष गर्न प्रभावकारी रणनीति लिएका एशियाका दक्षिण कोरिया, जापान हुन् वा युरोपका जर्मनीमा प्रतिबन्धहरू हटाइएपछि सङ्क्रमण फेरि बढेको देखिएको छ।
ती देशमा परीक्षण, सङ्क्रमितको पहिचान र लकडाउन व्यवस्थापनमा गरिएको कामलाई थुप्रैले अनुकरणीय मानेका थिए।
संसारभरि सरकारहरूले भाइरसको सम्भावित दोस्रो लहरसँग सङ्घर्ष गर्ने तयारी गरिरहेका छन्। धेरैको ध्यान यतिखेर पूर्वी एशियामा छ।
सुरुमा कोभिड-१९ खेपेका र सङ्क्रमितहरू पनि धेरै भएका यी देशहरूबाट सिक्नुपर्ने पाठ के हो?
प्रत्येक सङ्क्रण, प्रत्येक सङ्क्रमित व्यक्तिको खोजी
पूर्वी एसियाको अवस्था अनुगमन गरिरहेका डब्ल्यूएचओका विज्ञहरूका अनुसार त्यस क्षेत्रले बाँकी विश्वलाई दिने सन्देश 'प्रत्येक सङ्क्रमित व्यक्ति खोज्नुपर्ने, उनीहरूलाई अलग्गै राख्ने, परीक्षण र स्याहार गर्नुपर्ने हो।'
प्रत्येक सङ्क्रमितसँग सम्पर्कमा आएका सबै व्यक्ति पहिचान गर्दै उनीहरूलाई क्वारन्टीनमा राख्नुपर्ने कामलाई त्यसैगरी महत्त्वपूर्ण मानिएको छ।

तस्बिर स्रोत, Getty Images
डा. रोन यूनिभर्सिटी कलेज लन्डनका भाइरस र कोशिकाविज्ञ हुन्।
एशियाबाट सङ्कलित विवरणको अध्ययन गरेकी उनी भन्छिन्: "दोस्रो लहरसँग सङ्घर्ष गर्ने एक मात्र उपाय भनेको व्यापक परीक्षण, पहिचान र क्वारन्टीन गर्नु हो।"
उदाहरणका लागि दक्षिण कोरिया कुनै बेला कोभिड-१९ को केन्द्रबिन्दु थियो। तर सुरुमै सरकारले धेरै परीक्षण गर्यो।
एप र जीपीएस प्रविधिको सहायताले सङ्क्रमणका घटना पहिचान गर्यो।
यस रणनीतिले स्थानीय रूपमा चेतावनी दिन सकिने र आवश्यक पर्दा निश्चित क्षेत्र मात्र लकडाउन गर्न सकिने प्रणालीको विकास गर्न सम्भव भएको डा. रोन ठान्छिन्।

तस्बिर स्रोत, Getty Images
यसको प्रभावकारिता हालै अचानक एकै ठाउँका धेरैमा सङ्क्रमण देखिएपछि पुष्टि भयो।
लामो समय देशभित्रै उत्पन्न भएका सङ्क्रमण नदेखिए पनि मे महिनाको सुरुमा सङ्क्रमण पाइएपछि यसै प्रणालीका कारण त्यसको सम्बन्ध सोलको एउटा चर्चित रात्रिक्लबसँग जोडिन पुग्यो।
त्यस क्रममा ११,००० जनाभन्दा धेरैको पहिचान गरिएको थियो।
तथ्याङ्क विश्लेषण
दोस्रो पाठ भनेको चीन, जापान र दक्षिण कोरियाजस्ता देशबाट तथ्याङ्क लिएर तिनको विश्लेषण गर्नु हो।
तथ्याङ्कका विश्लेषण र अध्ययनहरूले भाइरसको व्यवहार बुझ्न सकिने विज्ञहरूले बताएका छन्।
लन्डन स्कूल अफ इकनमिक्सका स्वास्थ्य अर्थतन्त्रसम्बन्धी विषय प्राध्यापन गर्ने अलिस्टर म्याक्गुरी भन्छन्, "हामीलाई सङ्क्रमणदेखि सन्चो हुँदासम्म लाग्ने समयबारे केही कुरा थाहा छ। तर सम्पर्कमा आएका कति जनामा सर्छ भन्नेबारे अझै धेरै जान्न बाँकी छ।"

तस्बिर स्रोत, Getty Images
त्यसपछिको पाठ भनेको राम्रो भएको लकडाउन हटेपछिको अवस्थामा 'धेरै आशावादी' नहुनु हो।
लकडाउन सफल हुनको कुनै क्षेत्र कोरोनाभाइरसमुक्त भयो भन्ने हुँदैन।
परीक्षण- एकपटक होइन, दुईपटक
स्वास्थ्यविज्ञहरूले दोहोर्याइरहेको एउटा साधारण सन्देश यस्तो छ: डा. रोनकै भनाइमा "परीक्षणको काम निकै महत्त्वपूर्ण छ भन्ने एशियाबाट थाहा पाइएको छ।"
उनले भनिन्, "दक्षिण कोरियाको काम प्रभावकारी हुनु भनेको उसको तीव्र गतिको परीक्षण, पहिचान र क्वारन्टीन नीति हो।"
सुरुमा दक्षिण कोरियामा सङ्क्रमणको सङ्ख्या एक्कासि उकालो लाग्यो।
तर त्यहाँ एक दिनमै १०,००० जनाको परीक्षण गर्ने प्रणाली फेब्रुअरी महिनामै तयार गरियो।
सन् २०१५ मा मर्स प्रकोप देखिँदाको अनुभव यतिखेर दक्षिण कोरियालाई उपयोगी बनेको थियो।
धेरै जनामा जाँच गर्ने नीति जर्मनीले पनि लियो। त्यसैले उसले त्यसो नगरेका ब्रिटेन वा स्पेनमा भन्दा कम मृत्युदर कायम राख्न सक्यो।

तस्बिर स्रोत, Getty Images
तर त्यतिमात्र होइन: एसियाबाट लिइएका तथ्याङ्कमा दोहोरो परीक्षणको महत्त्व समेत देखिन्छ।
अब आउने भाइरस सङ्क्रमणका लहरमा धेरै परीक्षण र सङ्क्रमितको संसर्गमा आएका अन्य व्यक्तिको पहिचान नगरेका देशहरूसँग तथ्याङ्कका अभावमा महामारीसँग सङ्घर्ष गर्ने वास्तविक उपायको कमी देखिन सक्छ।

तस्बिर स्रोत, Getty Images
जनस्वास्थ्य क्षेत्र सुधार
जनस्वास्थ्य सेवाले आफ्नै अनुभवबाट समेत धेरै कुराहरू सिक्न सक्ने प्राध्यापक जुडिट भल बताउँछन्।
युनिभर्सिटाट डि बार्सिलोनामा अर्थशास्त्र प्राध्यापन गर्ने भलले यस भाइरससँग स्वास्थ्य प्रणालीहरू कसरी सङ्घर्ष गर्दैछन् भन्ने अध्ययन गरिरहेका छन्।

तस्बिर स्रोत, Getty Images
चीनले भाइरस सुरुमा देखा परेको वुहान सहरमा एक हजार शय्याको अस्पताल आठ दिनभित्रै बनायो।
त्यसले आपत्कालीन अस्पतालका लागि कसरी योजना बनाउँदै काम गर्ने भन्ने बाटो देखायो।
"विश्वभरिका अस्पतालहरूले यतिखेर धेरैकुरा अरूबाट मात्र होइन, आफैँबाट पि सिकेका छन्," प्राध्यापक भलले भने।
"जसले गर्दा आउँदा लहरमा उनीहरू त्यससँग सङ्घर्ष गर्न अझ बलियो अवस्थामा हुनेछन्।"
आउँदा महिनामा...थुप्रै लहर
धेरै सङ्क्रामक रोगहरूको विस्तार र नियन्त्रणबारे अध्ययन तथा अनुसन्धान गरेका विज्ञहरू कोरोनाभाइरस 'लहर'का रूपमा फैलिने कुरा थाहा पाइसकेका छन्।
डा. रोन भन्छिन्, "तर हामी त त्यस्ता लहरलाई रोक्दै संसर्ग हुन नदिने उपाय खोजिरहेका छौँ। नत्र त हामीले एउटा निकै विध्वंशको अवस्था खेप्नुपर्छ।"
"हामीले प्रतिबन्धहरू हटाएपछि [सङ्क्रमणको] पुनरुदय हुन्छ। नयाँ भाइरस देखिएर जनसङ्ख्यामा त्यसको लागि प्रतिरोधात्मक क्षमता विकास नहुँदासम्म यस्तै हुन्छ," उनले भनिन्।
यो पनि हेर्नुहोस्











