कोरोना भाइरस भारत: सबै ठूला सहर कोभिड-१९ महामारीको 'रेड जोन' मा

दिल्ली

तस्बिर स्रोत, Getty Images

राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतका छवटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको 'रेड जोन' अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ।

बुधवार प्रकाशित एउटा निर्देशिकामा सरकारले देशलाई सङ्क्रमणको सङ्ख्याका आधारमा विभिन्न रङ्गबाट सङ्केत गर्दै विभिन्न वर्गमा छुट्याएको छ।

रातो रङ्गले धेरै सङ्क्रमण फैलिएको, सुन्तला रङ्गले केही सङ्क्रमण भएको तथा हरियो रङ्गले सङ्क्रमण नभएको क्षेत्र सङ्केत गर्छन्।

कुनै पनि स्थान हरियो अर्थात् सुरक्षित क्षेत्रमा परेका छैनन्।

रेड जोनमा अरू कुन-कुन स्थान परे?

भारतका कुल १७० वटा जिल्ला रेड जोन मा परेका छन्।

भारत

तस्बिर स्रोत, Getty Images

दिल्ली र मुम्बईबाहेक चेन्नई, बैङ्ग्लोर, कोलकाता र हैदराबाद पनि खतरनाक क्षेत्रमा परेका छन्।

उद्योगधन्दाका लागि चिनिएका विभिन्न राज्यहरू यो वर्गमा परेका छन्।

ती क्षेत्रहरूमा केन्द्रीय सरकारले राज्यहरूलाई परीक्षण र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको अर्को सातासम्म पहिचान गर्न भनेको छ।

रेड जोनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या घटाएर क्रमश: ग्रीन जोन अर्थात् शून्य सङ्क्रमण भएको क्षेत्र बनाउने उसको उद्देश्य छ।

अट्ठाइस दिनसम्म नयाँ सङ्क्रमण नभेटिएका स्थानलाई ग्रीन जोनको मान्यता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी १४ दिनमा सङ्क्रमण नभेटिएका स्थान अरिन्ज जोनमा पर्नेछन्।

रेड जोनमा के हुन्छ?

ती क्षेत्रमा व्यापक रूपमा परीक्षण गरेर प्रत्येक ठाउँ कति प्रभावित छ भनेर निर्क्योल गरिनेछ। राज्य सरकारहरूले 'पूल टेस्टिङ' अर्थात् 'सामूहिक परीक्षन' गर्ने घोषण गरिसकेका छन्।

भारत

तस्बिर स्रोत, Getty Images

त्यसका लागि धेरै नमुनाहरू सङ्कलन गरेर एउटा ट्यूबमा हालेर एकैचोटि परीक्षण गरिनेछ।

विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको यो परीक्षणविधिमा कोरोनाभाइरस भएको देखिए प्रत्येक व्यक्तिको छुट्टछुट्टै परीक्षण गरिनेछ।

यो विधिबाट ठूलो जनसङ्ख्याको परीक्षण गर्दा समय बचत हुनेछ।

एप्रिल २० सम्म रातो वर्गमा परेका क्षेत्र र जिल्लाले लकडाउन फुक्का गराउन आवेदन दिन पाउनेछैनन्।

भारतले बुधवार कृषि उद्योगलाई लक्षित गर्दै प्रतिबन्धहरू केही खुकुलो बनाइने घोषणा गरेको थियो। त्यसबाट ई-कमर्स र सेवा उद्योगमा कार्यरत मानिसहरले पनि हिँडडुल गर्न छुट पाएका छन्।