कोरोनाभाइरसः नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि

कोरोनाभाइरस

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा चौथो व्यक्तिमा सङ्क्रमण भएको पाइएको हो

नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका छन्।

काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा सङ्क्रमण भएको पाइएको देवकोटाले बीबीसी नेपालीलाई बताए।

उनले भने, "उपत्यकाबाहिर देखिएको सङ्क्रमणको यो पहिलो घटना हो। बिरामीको अवस्था सामान्य छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले उहाँको उपचार भइरहेको छ।"

देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए।

सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहेको देवकोटाले बताए।

प्रतिबन्ध

योसँगै गत एक हप्तामै तीनजना नेपालीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

दुई दिनअघि नेपालका तेस्रो व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको थियो। धादिङका ती व्यक्ति कतारबाट फर्केका थिए।

त्यसअघि फ्रान्सबाट फर्केकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको अधिकारीहरूले पुष्टि गरेका थिए।

दोस्रो र तेस्रो सङ्क्रमित नेपालीसँगै विमानमा आएका मानिसहरूलाई सम्पर्कमा आइदिन सरकारले सार्वजनिक अपील गरिसकेको छ।

कोरोनाभाइरस सङ्क्रमित भएका पहिलो नेपाली चीनको वुहान शहरबाट फर्केका थिए।

कोरोनाभाइरस
BBC
नेपालमा कोरोनाभाइरस

  • ८०३वटा नमुना परीक्षण

  • ७९९वटामा सङ्क्रमण देखिएन

  • वटामा सङ्क्रमण देखियो

स्रोतः MoHP/NPHL, मार्च २७ साँझ ८ः१५ बजेसम्म प्राप्त तथ्याङ्कमा आधारित

उनी निको भई घर फर्किसकेको अधिकारीहरूले बताएका छन्।

उनी पछिका बाँकी तीनैजना कोभिड- १९ रोगका बिरामीको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

दोस्रो नेपाली सङ्क्रमित भएको पाइएपछि नेपालले गत मङ्गलवारदेखि एक साताका लागि देशभरि हिँडडुलमा प्रतिबन्ध लगाएको छ।

के छ विश्वको स्थिति?

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वका १७६ देशमा कोरोभाइरस सङ्क्रमण फैलिसकेको छ।

उसका अनुसार कोरोनाभाइरसका कारण अहिलेसम्म २४,९०६ जना व्यक्तिको ज्यान गइसकेको छ।

कोरोनाभाइरस सङ्क्रमण

विश्वभरि हालसम्म ५,५१,३३७ जना व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भएको उक्त विश्वविद्यालयले जनाएको छ।

उक्त विश्वविद्यालयका अनुसार तीमध्ये १,२७,५६४ व्यक्ति पूर्ण रूपमा निको भइसकेका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर