कोरोनाभाइरस: महामारी नियन्त्रण गर्न जर्मनीमा नयाँ नियम, चान्सलर एङ्गेला मेर्कल पनि क्वारन्टीनमा

जर्मनी

तस्बिर स्रोत, EPA

कोरोनाभाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु गरेको छ।

त्यहाँ चान्सलर एङ्गेला मेर्कलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उनी पनि क्वारन्टीन अर्थात् एकान्तवासमा गएको उनका प्रवक्ताले बताएका छन्।

जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ।

टेलिभिजनमा प्रसारित सम्बोधनमा चान्सलर मेर्कलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन्।

उनले घोषणा गरेका नियमानुसार केशशृङ्गार गृह एवम् ब्यूटी तथा मसाज पार्लर पनि बन्द हुनेछन्।

अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए।

मर्कल

तस्बिर स्रोत, Getty Images

"नयाँ नियमहरू निकै नै कडा छन्। सार्वजनिक स्थानमा एक अर्काभन्दा डेढ मिटर, अझ दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ। तपाइँ कार्यालय वा चिकित्सककहाँ जान सक्नुहुन्छ र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सक्नुहुन्छ। अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको छ," संवाददाता डेमियन मक्गिनेजले बताए।

एंगेला मेर्कलले सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टीनमा बस्ने बताएको छ।

शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस सङ्क्रमण पाइएपछि उनी क्वारन्टीनमा बस्नुपरेको हो।

उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने मर्कलका प्रवक्ताले बताए। उनी ६५ वर्षकी छन्।

युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणका १८,६१० घटना पाइएका छन्। उक्त भाइरसको सङ्क्रमणबाट लाग्ने रोग कोभिड-१९ ले त्यहाँ ५५ जनाको ज्यान गइसकेको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

के छ इटलीको अवस्था?

महामारी फैलिएयता पहिलो पटक इटलीमा नयाँ सङ्क्रमणको वृद्धि दरमा केही कमी देखिएको छ।

आइतवार उक्त वृद्धि दर नौ प्रतिशत रह्यो।

बितेका २४ घण्टामा त्यहाँ ६५१ जनाको ज्यान गएको छ। यो सङ्ख्या शनिवारको भन्दा कम हो।

कोरोनाभाइरस ब्यानर

बीबीसीका रोमस्थित संवाददाताका अनुसार इटलीका लागि यो साता सामु महत्त्वपूर्ण छ र यही बेला सङ्क्रमणको दर घट्दै जाला कि नजाला भन्ने प्रस्ट हुनेछ।

के छ न्यूयोर्कको स्थिति?

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणले निकै प्रभावित भएको न्यूयोर्कका नगरप्रमुख बिल डे ब्ल्याजियोले सङ्घीय सरकारले जनस्वास्थ्य सङ्कटसँग सङ्घर्ष गर्न तदारुकता नदेखाए त्यहाँका अस्पतालमा चाँडै नै अत्यावश्यक सामग्री अभाव हुने चेतावनी दिएका छन्।

उक्त सहरमा हाल ८,००० जनाभन्दा धेरैलाई सो सङ्क्रमण देखिएको छ।

ब्लाजियोका अनुसार अबको १० दिनमा त्यहाँ सर्जिकल मास्क, भेन्टिलेटर तथा अन्य महत्त्वपूर्ण सामग्रीको अभाव हुनेछ।

उनले ट्रम्प प्रशासनले सेना परिचालन गर्नुपर्ने बताए।

अमेरिकामा ३१,००० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३९० जनाको ज्यान गएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: सेल्फ आइसोलेशन कसरी गर्ने?